सबै प्रकारका सेवा दिँदै लुम्बिनी अस्पताल



श्यामलाल पोखरेल । बुटवल ।

लुम्बिनी प्रादेशिक अस्पतालले स्वास्थ्य सेवामा सुधार गर्दै गएको छ । उपचारका लागि लामो समयसम्म लाइन लाग्नु पर्ने बाध्यताको अन्त्य गरेको छ । अस्पतालले अनलाइन टिकटको व्यवस्था र डिजिटल भुक्तानी गर्ने व्यवस्था मिलाएर स्वास्थ्य सेवालाई सहज बनाउँदै गएको छ । पछिल्लो एक वर्ष यतादेखि सबैजसो सेवा सञ्चालन गर्न थालेको लुम्बिनी प्रादेशिक अस्पातलले लामो समयदेखि उपकरणको अभावमा बन्द रहेको ल्याप्रोसकोपी पित्तथैलीको अपरेसन, युरोलोजी अन्तर्गतका अपरेसनहरू गर्न थालेको छ ।

बीमाका बिरामीहरको सुविधालाई मध्यनजर गरी एकैपटक १० वटा काउन्टरबाट टिकट र विलिङको सेवा सञ्चालन गरेसँगै सर्वसाधारण नागरिकले लामो समयसम्म लाइन लाग्नु पर्ने बाध्यताको अन्त्य भएको अस्पतालका प्रशासकीय प्रमुख पे्रम गौतमले मिसन टुडेलाई जानकारी गराए । लुम्बिनी प्रादेशिक अस्पतालमा ५ सय एमएको डिजिडल एक्सरे मेशिन समेत जडान गरिएको छ ।

त्यस्तै एमआरआई मेशिन खरिद प्रक्रिया सम्झौता गरी एलसी खोल्ने काम सम्पन्न भएको अस्पतालले बताएको छ । प्रशासकीय प्रमुख गौतमका अनुसार न्यूरो माइक्रोस्कपको व्यवस्था गरी जटिल प्ररकारका अप्रेसनहरू सुरुवात गरी बिरामीको प्रयोगात्मक जाँचका रिर्पोटहरू एसएमएसद्वारा सम्बन्धित व्यक्तिको मोबाइलमा म्यासेज पठाउन थालिएको छ ।

अस्पतालमा आएका बिरामीहरूलाई थप उपचारका लागि काठमाडौँ वा अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य गर्ने गरी हरेक प्रकारका उपकरणहरू व्यवस्था गरेर उपचार सेवा सञ्चालन गरिएको र केही उपकरणहरू ल्यान बाँकी रहेको अस्पतालका मेडिकल सुपरिडेन्डन डा. इन्द्र ढकालले बताए ।

जोर्नीका नसाहरूको पुननिर्माण र जोर्नी प्रत्यारोपण गर्नका लागि अर्थोस्कोपी मेशिन र मूत्र प्रणालीमा भएका पत्थरीको जटिल अप्रेसनका लागि लेजर मेशिन जडान गरिएको जानकारी गराउँदै मेसु ढकालले भने, ‘मुटुको उपचारका लागि क्याथल्याब सञ्चालन गरिएको छ । सबै प्रकारका क्यान्सर उपचारका लागि छुट्टै भवन बनाउने तयारी भैरहेको छ । त्यस्तै स्तन क्यान्सरको उपचारका लागि ओपेडी सञ्चालनमा छ ।’

सर्वसाधारण नागरिकको पहुँचमा स्वास्थ्य सेवा पु¥याउनका लागि सबै प्रकारका स्वास्थ्य उपचार गर्ने गरी अत्याधुनिक मेशिनहरू जडान गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार सेवा प्रदान गरिएको अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले बताए । अध्यक्ष श्रेष्ठका अनुसार अस्पतालमै इमरजेन्सी ब्लड बैंक सञ्चालन गरिएको छ भने गुणस्तरीय औषधिका साथै उपचार गर्ने गरिएको छ ।

इमरजेन्सीमा बिरामीको चाप बढेपछि ४५ बेडेको मेडिकल वार्डलाई ९० बेडमा सञ्चालन गरिएको समेत उनले बताए । अस्पतालले ५ सय १५ बेडबाट स्वास्थ्य उपचार गर्दै आएको छ । अस्पतालमा दैनिक रूपमा १५ सय देखि २ हजार जना मानिस उपचार गराउन आउने मेडिकल रेकर्डर निरीक्षक पंकज पटेलले जानकारी गराए ।

अस्पतालले आफ्नो ११६औँ स्थापना दिवसको अवसरमा सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८१–०८२ मा ४ लाख ६८ हजार ८५ जनाले उपचार गरेका छन् । त्यस्तै २०८२ असारदेखि पुससम्म २ लाख ४५ हजार २ सय ३३ जनाले उपचार गरेको अस्पतालको तथ्यांकले देखाएको छ ।

अस्पताले मातृ मृत्युदर घटाउने उद्देश्यले भौतिक संरचना निर्माणको निम्ति यस आर्थिक वर्षमा ३ करोड बजेट विनियोजन गरेको छ । प्रदेश सरकारको मातहतमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालमा भारतीय नागरिक समेत उपचार गराउन आउने गर्दछन् ।

१२ सय बेड सञ्चालन गर्ने गरी ६ अर्ब १८ करोड रूपैयाँको लागतमा लुम्बिनी प्रादेशिक अस्पतालको १२ तले नयाँ अत्याधुनिक भवनको निर्माणको काम भैरहेको छ । निर्माणधीन अस्पतालको भवनमा हेलिप्याडसहित अत्याधुनिक आपत्कालीन सेवा, कार्डियोलोजी, न्युरोलोजी र ग्यास्ट्रोएन्टेरोलोजी जस्ता विशेषज्ञ सेवाहरू सञ्चालन गरिने अस्पतालले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ चैत ७ गते शनिबार