हुरीका कारण केरामा क्षति



चितवन ।

हुरीका कारण केराखेतीमा क्षति पुगेको छ । यही चैत २ गतेको हुरीले रु चार करोडभन्दा बढीको केरामा क्षति भएको प्रारम्भिक तथ्याङ्क आएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ चितवनका प्रमुख महेश रेग्मीका अनुसार बुधबार र बिहीबार दुई दिनसम्म केराखेतीमा क्षति पुगेका क्षेत्रहरुको अनुगमन गरिएको छ । सो क्रममा २० वटा फार्ममा अनुगमन गरिएको उनले बताए ।

हुरीले भरतपुर महानगरपालिकाको वडा नं ७ र २३, रत्ननगर नगरपालिका ५, १२ र १४, खैरहनी नगरपालिकाको वडा नं १३, कालिकाको वडा नं २ देखि ५ सम्मका क्षेत्रमा बढी क्षति पुर्याएको छ । रेग्मीका अनुसार बगानमा एक प्रतिशतदेखि ८८ प्रतिशतसम्म क्षति भएको देखिएको छ ।उनले भने, “एउटा फार्ममा ८८ प्रतिशत क्षति भएको पायौँ । सबैको अवस्था त्यस्तो छैन ।”

हुरीले मालभोग केरामा ठूलो क्षति पुगेको छ । मालभोग केरामा ७८ प्रतिशत र जीनाइन केरामा २२ प्रतिशत क्षति भएको उनले जानकारी दिए । समग्रमा ४३ दशमलव ३५ प्रतिशत केरामा क्षति भएको उनले बताए । कार्यालयमा एक हजार ८०० हेक्टरमा लगाइएको केरा सूचीकृत गरिएको छ ।केरा सुपरजोन चितवनका संयोजक विष्णुहरिले भने, “केराखेतीको बिमा सुरु हुने समय ढिलो हुने भएकाले पनि किसान मर्कामा परेका छन्।” किसानले क्षतिपूर्तिसमेत पाउन कठिन हुँदा अझै समस्या हुने गरेको उनले बताए ।

उनका अनुसार गत वर्षको क्षतिपूर्ति रकम अहिलेसम्म किसानले पाउन सकेका छैनन् । अहिलेको क्षतिपूर्ति त कहिले पाउने हो थाहा नभएको उनले बताए । अहिलेसम्म जिल्लामा केराखेती गरेका किसानले रु चार करोडको क्षतिपूर्ति माग गर्दै बिमा कम्पनीमा निवेदन बुझाएको उनले बताए । थप निवेदन आउने क्रममा रहेको र कतिपयले बिमा नगरेकाले यकीन तथ्याङ्क आउन समय लाग्ने बताए ।

चितवन केरा उत्पादक सङ्घका अध्यक्ष घननाथ महतो यही चैत २ गते आएको हुरीका कारण जिल्लामा लगाइएको मालभोग केरामा ठूलो क्षति पुगेको छ । अहिले जिल्लामा दुई हजार हेक्टर क्षेत्रफलमा व्यावसायिक केराखेती हुँदै आएको छ । केरा सुपरजोनका रुपमा जिल्लामा काम हुँदै आएको बताउँदै उनले हुरीका कारण कति क्षत्रफलमा लगाइएको केरामा क्षति भयो भन्ने विषयमा सङ्घले तथ्याङ्क सङ्कलन गरिरहेको बताए ।

केरामा हावाका कारण भएको क्षतिले केरा उत्पादक किसान चिन्तित भएको उनको भनाइ छ । गत वर्षमा वैशाखको अन्तिमतिर आउने हुरी यस वर्ष चाँडो आउँदा किसानले ठूलो क्षति बेहोर्नु परेको उनले जानकारी दिए । उनले भने, “केरा उत्पादन गर्ने किसानले बिमा गरेका छन् । तर बिमाबाट पाउने रकम ढिलो हुँदा अझै किसान निरास बन्दै गएका छन् ।”

रत्ननगर नगरपालिका–११ निवासी कृषक बाबुराम भट्टले लगाएको छ बिघा केरामा क्षति पुगेको छ । जग्गा भाडामा लिएर केराखेती गर्दै आएका भट्टले चैत सुरु भएसँगै हुरीका कारण क्षति बेहोर्नु परेको बताए । आफूले लगाएको केरा उत्पादन लिने समयमा हुरीले ढलाए पछि अहिले केरा बगान सरसफाइका लागि मजदुर लगाएर काम गर्नुपर्ने अवस्थामा पुगेको उनको भनाइ छ ।

उनले लगाएको केरा अधिकांश ढलेको अवस्थामा पुगेको छ । प्रतिहेक्टर मालभोग २४ टन र जी नाइन ५५ टन उत्पादन हुँदै आएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । जिल्लामा व्यावसायिक रुपमा ७०० किसानले केराखेती गर्दै आएका छन् । रासस

  • No tags available
प्रकाशित मिति : २०८२ चैत ६ गते शुक्रबार