कोहलपुर (बाँके) ।
बाँके र बर्दियाबाट प्रत्यक्षमा चार क्षेत्रमा जित हासिल गरेको रास्वपाले दुईजना समानुपातिक सांसद पाएको छ । बाँके र बर्दियाबाट रास्वपाका दुईजना दलित महिला सांसद भएका छन् । बर्दियाबाट दलित महिलाको पहिलो नम्बरमा रहेकी रिमा विश्वकर्मा सांसद बनेकी छन् । बर्दियामा जन्मिएकी रिमा काठमाडौँमा हुर्किइन् पढिन् ।
विश्वकर्माले पत्रकारिता तथा मिडिया क्षेत्रबाट आफ्नो करियर सुरु गरेकी हुन् । रास्वपाले उनलाई दलित महिला क्लस्टरबाट समानुपातिक प्रणालीअन्तर्गत मनोनयन गरेको हो । उनी मिडिया पेशेवर मात्र नभई अभिनेत्री, मोडल र टेलिभिजन प्रस्तोता समेत हुन् । राजनीतिमा आउनुअघि उनले ‘नेपाल आइडल’ गायन रियालिटी शो सञ्चालन गरेकी थिइन् ।
यस्तै रास्वपाबाट समानुपातिकतर्फ सांसद बनेकी बाँकेको नेपालगन्ज १२ की सुस्मा स्वर्णकार ‐डिम्पल) बाँकेकै खजुरामा जन्मिएकी हुन् । उनको जन्म विसं २०३७ सालमा खजुरामा एक विपन्न दलित परिवारमा भएको थियो । उनी सानैदेखि सामाजिक अभियानमा सक्रिय हुँदै आएकी थिइन् । लायन्स क्लबमार्फत सामाजिक कर्म सुरु गरेकी उनी लामो समय व्यवसायमा संलग्न रहेकी थिइन् ।
स्वर्णकार पछिल्ला केही वर्षयता दलित अभियानमा सक्रिय थिइन् । खगेन्द्र सुनारले सुरु गरेको दलितका लागि दलित अभियान र दलितलाई खै? अभियानमा सुरुदेखि नै जोडिएकी थिइन् । पछि खगेन्द्रले सुरु गरेको हाम्रो पार्टी नेपालमा जोडिएकी उनी पछि पार्टी रास्वपामा समाहित भएपछि सांसद बन्ने मौका पाएकी हुन् ।
उनी भन्छिन्, ‘लामो समय सडकमा विपन्न वर्गको लागि आन्दोलन गरियो । अब नीति निर्माण गर्ने तहमा पुगेकी छु । अवसर र चुनौती दुवै छ । महिला र दलित समुदायको मुद्दामा केन्द्रित हुनेछु ।’









प्रतिक्रिया दिनुहोस्