काठमाडौँ ।
अफ्रिकी फुटबलको सर्वोच्च निकायले एक ऐतिहासिक र विवादास्पद निर्णय गर्दै मोरक्कोलाई सन् २०२५ को ‘अफ्रिका कप अफ नेसन्स’ को विजेता घोषणा गरेको छ । मैदानमा खेल जितेको सेनेगलबाट उपाधि खोसेर मोरक्कोलाई दिइएको हो । गत जनवरी १८ मा भएको फाइनल खेलमा सेनेगल र मोरक्को भिड्दै थिए ।
खेलको अन्तिम समयसम्म दुवै टोलीबाट गोल हुन सकेको थिएन । इन्जुरी समयमा रेफ्रीले मोरक्कोलाई पेनाल्टी दिएपछि विवाद सुरु भयो । सेनेगलका खेलाडी र प्रशिक्षकले सो निर्णयको विरोध गर्दै मैदान छाडेर बाहिरिए । करिब १७ मिनेटसम्म खेल रोकियो । पछि सेनेगलका खेलाडीहरू मैदान त फर्किए, मोरक्कोका ब्राहिम डियाजले पेनाल्टी प्रहार गरे तर गोल हुन सकेन ।
त्यसपछि थपिएको अतिरिक्त समयमा सेनेगलका पापे ग्वेले गोल गर्दै आफ्नो टोलीलाई १–० को जित दिलाए । सेनेगलले ट्रफी उचाल्यो र देशमा विजय जुलुस समेत मनायो । मोरक्को फुटबल संघले नियमअनुसार यो खेलको नतिजा बदल्न अपील गरेको थियो । अफ्रिकी फुटबल महासंघको अनुशासन नियमको धारा ८२ र ८४ अनुसार यदि कुनै टोलीले रेफ्रीको अनुमति बिना खेल नसकिँदै मैदान छाड्छ भने, उसलाई पराजित मानिन्छ ।
नियम उल्लंघन गर्ने टोलीलाई प्रतियोगिताबाट हटाउँदै विपक्षी टोलीलाई ३–० को नतिजासहित विजेता घोषणा गरिन्छ । यही नियमलाई आधार मान्दै महासंघले सेनेगलको जित खारेज गरिदिएको छ र मोरक्कोलाई आधिकारिक विजेता घोषणा गरेको छ । मोरक्को फुटबल संघले यो निर्णय कसैको खेल प्रदर्शनलाई कम आँक्नका लागि नभई नियमको पालना गराउनका लागि भएको बताएको छ ।
सेनेगलले अहिलेसम्म औपचारिक प्रतिक्रिया दिएको छैन, तर उनीहरूले सामाजिक सञ्जालमा ट्रफीसहितको विजय जुलुसको भिडियो पोस्ट गर्दै आफूहरू नै विजेता भएको संकेत गरेका छन् । उपाधि हात पारे पनि मोरक्कोले आफ्ना मुख्य प्रशिक्षक वालिद रेग्रागुईलाई भने पदबाट हटाएको छ ।
विश्वकप आउन ४ महिना बाँकी छँदा मोरक्कोले यो कदम चालेको हो । अब इतिहासको पानामा २०२६ को अफ्रिकन च्याम्पियनका रूपमा सेनेगलको साटो मोरक्कोको नाम लेखिनेछ ।









प्रतिक्रिया दिनुहोस्