
नेपालगन्ज ।
बाँके नेपालगन्जको पुष्पलाल चोकमा रहेको विशाल इम्पेक्सको पसलको नामसहितको ८० वर्गफुटको ब्यानरको वार्षिक चार हजार कर तिर्नु भनेर हिमशिखा एड्भरटाइजिङ प्रालि चन्द्रागिरी काठमाडौँको नाममा चैत्र २ गते पत्र काटियो । अहिले उक्त हिमशिखा एड्भरटाइजिङ प्रालिले यसैगरी नेपालगन्जका पसलहरूका बोर्डहरूको पनि कर तिर्न भन्दै सताउन थालेपछि व्यवसायीहरू आक्रोशित भएका छन् ।
नेपालगन्ज उपमहानगरपालिकाले आर्थिक ऐनअन्तर्गत रहेर भन्दै पसल तथा फर्मको नामको बोर्डको पनि कर उठाउनका लागि हिमशिखा एड्भरटाइजिङ प्रालिलाई ठेक्का दिएर कर उठाउन लगाएको हो । पसलको नाम नलेखिएको अवस्थामा कारबाही र जरिवाना गरिने कानुनी व्यवस्था छ ।
त्यही पसलको नामको बोर्डकै पनि कर उठाउनु व्यवसायीहरूमाथिको अन्याय भएको भन्दै उनीहरू आन्दोलित हुन थालेका छन् ।उपमहानगरपालिकाको आर्थिक ऐनमा विज्ञापन कर उठाउन सक्ने व्यवस्था छ र अनुसूची ७ मा विभिन्न प्रकृतिका विज्ञापनहरूको करको दर उल्लेख छ । उक्त व्यवस्थामै रहेर उपमहानगरपालिकाले एउटा कम्पनीसँग कर उठाउन ठेक्का सम्झौता गरेको छ ।
सो कम्पनीले पसलको नामको बोर्डको पनि कर उठाउन थालेपछि व्यवसायीहरू आक्रोशित भएका हुन् । नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीले यसरी पसलको नामको बोर्डको पनि कर उठाउनु व्यवसायीमाथिको अन्याय भएको बताए । उनले उद्योग वाणिज्य संघसँग परामर्श नै नगरी लगाइएको कर नतिर्न पनि आग्रह गरेका छन् ।
‘पसलभन्दा बाहिर गरिएको विज्ञापनको कर तिर्नुपर्छ । तर नामकै बोर्डको कर कसैले नतिर्नुहोला । तिर्नैपरे उद्योग वाणिज्य संघले तिर्छ,’ उनले भनेका छन् । यसरी पसलको नामकै बोर्डको पनि विज्ञापन कर उठाउन नपाइने भन्दै व्यवसायीहरू मंगलबार उपमहानरपालिका पुगेका थिए । त्यहाँ नगरप्रमुखसँग छलफल गरेका व्यवसायीहरूले उक्त करको चर्काे विरोध गरे ।
उक्त कार्यक्रममा नगरप्रमुख प्रशान्त विष्टले पसल तथा सटरमा लगाइएका बोर्डहरूको कर नलिन ठेकेदार कम्पनीलाई निर्देशन दिएका छन् । उक्त बैठकपछि उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष चिरन्जिवी ओलीले भने, ‘विज्ञापन कर असुली सम्बन्धी पत्रहरू जे–जस्तो आए तापनि हाललाई कुनै व्यवसायीले विज्ञापन कर नतिर्नुहोला ।
उपमहानगरपालिकामा भएको छलफलबाट आएको निष्कर्ष यही नै हो । यसर्थ मेयर साबले सम्बन्धित ठेकेदार कम्पनीलाई व्यवसायीका सटर या पसलमा कुनै पनि बोर्डहरू लगाएबापत विज्ञापन कर नलिनुहोला भनेर आदेश गर्नुभएको छ ।’








प्रतिक्रिया दिनुहोस्