काठमाडौँ ।
मिरपुरमा खेलिएको निर्णायक एकदिवसीय खेलमा घरेलु टोली बंगलादेशले पाकिस्तानलाई रोमाञ्चक ढंगले पराजित गर्दै शृंखला आफ्नो नाममा गरेको छ । बंगलादेशका तन्जिद हसनको १०७ रन र तास्किन अहमदको ४ विकेटको अगाडि पाकिस्तानका सलमान आगाको १०६ रनको उत्कृष्ट इनिङ्स पनि बेकार साबित भयो ।
यो जितसँगै बंगलादेशले ११ वर्षपछि पाकिस्तानविरुद्धको एकदिवसीय शृंखला जित्न सफल भएको छ । पहिले ब्याटिङ गरेको बंगलादेशले २९० रन बनायो । बंगलादेशका लागि ओपनर तन्जिद हसनले १०७ रनको सानदार शतकीय इनिङ्स खेले । यो उनको पहिलो एकदिवसीय शतक हो। उनले सैफ हसनसँग मिलेर १०५ रनको ओपनिङ साझेदारी गरे ।
खेलको अन्तिम समयमा तौहिद हृदोयले ४८ रन जोडेपछि बंगलादेश बलियो स्थितिमा पुगेको थियो । पाकिस्तानका तर्फबाट ह्यारिस रउफले ३ विकेट लिए । २९१ रनको लक्ष्य पछ्याएको पाकिस्तानको सुरुवात निकै खराब रह्यो । तास्किन अहमदले घातक बलिङ गर्दै सुरुवाती ब्याटरहरूलाई सस्तैमा आउट गरेपछि पाकिस्तान ६७ रनमा ४ विकेट गुमाएको नाजुक अवस्थामा पुग्यो ।
संकटको बेला मैदान प्रवेश गरेका सलमान आगाले एकतर्फी रूपमा लडाइँ जारी राखे । उनले ९८ बलमा १०६ रन बनाउँदै पाकिस्तानलाई जितको नजिक पु¥याएका थिए । उनलाई साद मसूद र शाहिन शाह अफ्रिदीले साथ दिए पनि टोलीलाई जिताउन सकेनन् । आगा ४८औँ ओभरमा तास्किन अहमदको चौथो शिकार बनेर आउट भए ।
अन्तिम ओभरमा पाकिस्तानलाई जितका लागि १४ रन चाहिएको थियो । बंगलादेशी बलर ऋषाद हुसेनले बलिङ गरेका थिए । सो ओभरमा क्याच छुट्नु, वाइड बलको रिभ्यु लिनु र ब्याटर रन आउट हुनबाट जोगिनु जस्ता नाटकीय दृश्यहरू देखिए ।अन्ततः अन्तिम बलमा शाहिन अफ्रिदी आउट भएसँगै बंगलादेश विजयी भयो । बंगलादेशका लागि तास्किन अहमद सबैभन्दा सफल बलर रहे, उनले ४ विकेट लिए । मुस्ताफिजुर रहमानले पनि ३ विकेट लिँदै पाकिस्तानको मध्यक्रम ध्वस्त पारे ।









प्रतिक्रिया दिनुहोस्