जनता चाहन्छन् एउटा, सत्ता खोज्छ अर्कै



जेनजी विद्रोहपछि देशमा धेरै परिवर्तन हुने आशासहित आममतदाताले फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा मत फेरे पनि राजनीतिक दल तथा सत्तासिनहरूलाई जनताको मतले खासै फरक पर्दो रहेनछ भन्ने कुरा आइतबार सरकार तथा विभिन्न पार्टीले गरेका निर्णयबाट प्रष्ट हुन्छ ।

काठमाडौँ ।

यतिखेर अधिकांंश आमसर्वसाधारणको चाहना देशमा सुशासन र सक्षम प्रणाली तथा भुइँमान्छेले अवसर पाउनु पर्छ भन्ने छ । तर जनताको यस्तो चाहना सत्तामा बस्नेहरू र सत्तामा पुग्नेहरूले अझै बुझ्न नसकेको पाइएको छ । जेनजी विद्रोहपछि देशमा धेरै परिवर्तन हुने आशासहित आममतदाताले फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा मत फेरे पनि राजनीतिक दल तथा सत्तासिनहरूलाई जनताको मतले खासै फरक पर्दो रहेनछ भन्ने कुरा आइतबार सरकार तथा विभिन्न पार्टीले गरेका निर्णयबाट प्रष्ट हुन्छ ।

बढीमा दुई साताभित्र सत्ता छाड्नु पर्ने सुशीला कार्की नेतृत्वको मन्त्रीपरिषद्ले राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा कार्कीका स्वकीय सचिव आदर्शकुमार श्रेष्ठ र राष्ट्रिय सभाको रिक्त सदस्यमा गृहमन्त्री ओमप्रकाश अर्याललाई नियुक्त गर्नुले परिवर्तनको पक्षमा काम गर्नुभन्दा पनि आफ्नो स्वार्थ पूरा गर्न खोजेको देखिन्छ । वातावरण संरक्षणको क्षेत्रमा काम गर्दै आएका विज्ञहरूका अनुसार श्रेष्ठलाई अहिलेको सरकारले विगतका सरकारले जस्तै हावादारी तरिकाले विज्ञताबिना कोषमा नियुक्त गरेको भन्न सकिने थुप्रै प्रमाण छन् ।

त्यस्तै गृहमन्त्री अर्याललगायत सरकारका मन्त्रीहरूले आफूलाई नागरिक सरकारको दाबी गरे पनि अन्ततः त्यस्तो कुरा व्यवहारमा देखाउन सकेनन् । उनीहरूले पटकपटक सत्ताको स्वाद लिन खोजेको देखियो । सरकारका चार जना मन्त्रीले त चुनावको केही दिनअघि मात्र राजीनामा गरेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका थिए ।

राप्रपामा श्रीमान्पछि श्रीमतीको संसदीय यात्रा

रााष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभाका समानुपातिक सांसद पदमा पञ्चायतकालीन समयदेखि सत्तामा पुग्दै आएका बुद्धिमान तामाङकी पत्नीलाई चयन गरेको छ । उक्त पार्टीले पुरुषतर्फ भरत गिरी, ताहिर अली तथा महिलातर्फ खुश्बु ओली, सरस्वती लामाको नाम चयन गरेको छ । लामा राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङकी पत्नी हुन् ।

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा बुद्धिमान तामाङ स्वयं आदिवासी जनजाति क्लस्टरबाट समानुपातिक सांसद बनेका थिए । अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वमा बनेको संसदीय दलमा उनी उपनेताको जिम्मेवारीमा समेत रहेका थिए ।

नेपाली काँग्रेस सभापतिका ससुरा पनि समानुपातिकमा

नेपाली काँग्रेसले प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारहरूको अन्तिम सूची तयार गरी निर्वाचन आयोगमा बुझाएको छ । जुन सूचीमा पार्टी सभापति गगनकुमार थापाका ससुरा अर्जुननरसिंह केसीको पनि नाम छ । पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार खसआर्य समूहबाट दुई पुरुष उम्मेदवार सिफारिस गरिएको छ । यस समूहबाट अर्जुननरसिंह केसी र कालीबहादुर सहकारीको नाम पठाइएको छ ।

खसआर्य महिलातर्फ सुशीला ढकाल आचार्य, रुक्मिणीदेवी कोइराला, रिना उप्रेती र सीता थपलिया सूचीमा समेटिएका छन् ।आदिवासी जनजाति समूहबाट महिलातर्फ गीताकुमारी सेन्दाङ्ग, गंगालक्ष्मी अवाल, गीता गुरुङ र रेनुका काउचाको नाम निश्चित गरिएको छ ।
थारु समुदायबाट प्रमिलाकुमारी गच्छदार चयन भएकी छन् भने दलित समूहबाट हरिनादेवी कामी, पवित्रा विक र मनमाया विश्वकर्माको नाम सिफारिस गरिएको छ ।

त्यसैगरी मधेशी कोटाबाट महिलातर्फ निनुकुमारी कर्ण र रेखाकुमारी यादव तथा पुरुषतर्फ चन्द्रमोहन यादवको नाम प्रस्ताव गरिएको छ । मुस्लिम समुदायबाट भने शाहजान खातुनको नाम सूचीमा समावेश गरिएको छ । चन्द्रमोहन पूर्वराष्ट्रपति रामवरण यादवका छोरा हुन् । काँग्रेसले समानुपातिकका लागि २० जना सांसद पाएको छ ।

एमालेमा पटकपटक अवसर पाएका फेरि सांसद

नेकपा एमालेले समानुपातिकतर्फका सांसदका लागि चयन गरेका व्यक्ति पटकपटक सांसदको भूमिका बसेका र सत्ता र पार्टीको वरिपरि रहेका तथा पटकपटक निर्वाचन हारेकाहरू छन् । एमालेले सुरक्षित गरेको समानुपातिकतर्फ १६ सांसदमा सिफारिस भएकामध्ये रामबहादुर थापा, पद्मा अर्याल, गुरु बराल पटकपटक सांसद, मन्त्री र पार्टीको जिम्मेवारीमा रहिसकेका व्यक्ति हुन् ।

पार्टीले अनपेक्षित नतिजा पाएपछि पार्टी नेतृत्वले समानुपातिकमा नयाँ र अवसर नपाएकालाई सांसद बनाउने धेरै कार्यकर्ताको अपेक्षा थियो । एमाले नेतृत्वले समानुपातिक सांसद चयनको निर्णय गरेपछि निराश भएका एमाले कार्यकर्ता रमेश खतिवडाले पहिलो दल बन्ने दाबीका साथ चुनावी मैदानमा उत्रिएको पार्टीले निर्वाचनमा यति ठूलो हार बेहोर्दा पनि नेतृत्व पंक्तिलाई कुनै पीडा नदेखिएको बताए ।

एमालले प्रत्यक्षतर्फ ९ सिटमा जित्न सफल भएको छ । थापा माओवादी छाडेर आएका व्यक्ति हुन् । उनी एमालेका उपाध्यक्ष समेत हुन् । त्यस्तै पार्टी अध्यक्ष निकट अर्यालले मन्त्री तथा पार्टीको उपल्लो तहको जिम्मेवारी पाइसकेकी छन् । उता बराल पटक–पटक निर्वाचन लडे पनि प्रत्यक्षतर्फ सफलता हात नपारेका व्यक्ति हुन् । प्रत्यक्ष निर्वाचनमा सधैँ पराजय भोग्ने बराललाई समानुपातिक सांसद बनाउनु हास्यास्पद भएको एमाले कार्यकर्ता बताउँछन् ।

पछिल्ला २६ वर्षमा उनले विभिन्न निर्वाचनमा उम्मेदवारी दिए पनि जित हात पार्न सकेका छैनन् । २०७८ माघ १२ मा भएको राष्ट्रियसभा निर्वाचनमा समेत बराबरी मत भएपछि गोला तान्दा पनि उनी पराजित हुने पात्र हुन् । गत मंसिरमा सम्पन्न एमालेको ११औँ महाधिवेशनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिए पनि उनी केन्द्रीय सदस्य समेत बन्न सकेनन् । त्यसअघि भने सुवासचन्द्र नेम्वाङको निधनपछि २०८१ साउन १७ गते उनी एमालेको मनोनीत उपाध्यक्ष बनेका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकमा जितेका ५७ सिटमा आफ्ना विजयी उम्मेदवारको सिफारिस गरेको छ । रास्वपाले खस आर्यतर्फ १६ जना महिला र एक मात्र पुरुष उम्मेदवार सिफारिस गरेको छ । आदिवासी जनजातितर्फ १३ महिला र ३ पुरुष छन् । मधेसीतर्फ ६ महिला र ३ पुरुष छन् । दलिततर्फ ७ महिला र १ पुरुष छन् । थारुबाट २ महिला र दुई पुरुष सिफारिस भएको छ भने मुस्लिमबाट तीन महिला सिफारिस भएका छन् ।

नेपाली कम्युनिष्टका अधिकांश पुरानै

त्यस्तै नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले ९ जना समानुपातिक सांसद छानेर उनीहरूको नाम निर्वाचन आयोगमा सिफारिस गरेको छ ।
नेकपाले आयोगमा बुझाएको सूचीमा प्रमेश हमाल, बलावती शर्मा, परशुराम तामाङ, भीमकुमारी बुढा, प्रेमबहादुर बयक, जोगकुमार बर्बरिया यादव, पार्वती विक, गणेश विश्वकर्मा, निराशा चौधरी डगौरा छन् । सिफारिस भएका यी नामहरू निर्वाचन आयोगले स्वीकृत गरेपछि निर्वाचित हुनेछन् ।

५१ दलले थ्रेसहोल्ड पार गर्न सकेनन्

यसैबीच प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फ भाग लिएका ५१ दलले थ्रेसहोल्ड पार गर्न सकेनन् । यसपटकको निर्वाचनमा ५७ राजनीतिक दलले प्रतिस्पर्धा गरेका थिए । समानुपातिक प्रणालीअन्तर्गत कूल सदर मतको कम्तीमा तीन प्रतिशत मत प्राप्त गर्ने दलले मात्र प्रतिनिधिसभामा सिट पाउने व्यवस्था छ ।

निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ कूल एक करोड ७ लाख ३९ हजार ११५ मत सदर भएको छ । तीमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ५१ लाख ८१ हजार ३३० मत प्राप्त गर्दै सबैभन्दा अगाडि रहेको छ । त्यसपछि नेपाली काँग्रेसले १७ लाख ५८ हजार ९०३, नेकपा एमालेले १४ लाख ५५ हजार ६६९, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले ८ लाख ११ हजार ३९३ मत पाएका छन् । त्यस्तै श्रम संस्कृति पार्टीले ३ लाख ८५ हजार ८५२ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख ३० हजार ६४९ मत प्राप्त गरेका छन् । यी छ दलले मात्र थ्रेसहोल्ड पार गर्न सफल भएका हुन् ।

यसपटक थ्रेसहोल्ड पार गर्न नसक्ने दलहरूमा मधेसकेन्द्रित तथा अन्य साना दलसमेत परेका छन् । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले १ लाख ८१ हजार ८५० मत पाएको छ भने राष्ट्रिय परिवर्तन पार्टीले १ लाख ७२ हजार ४९० मत प्राप्त गरेको छ । सिके राउत नेतृत्वको जनमत पार्टीले ७९ हजार ४०३ मत पाउँदा राजेन्द्र महत्तो र रेशम चौधरीसम्बद्ध दलहरू सम्मिलित चकिया (जाँतो) चिह्नअन्तर्गतको गठबन्धनले ६२ हजार ६९ मत प्राप्त गरेको आयोगले जनाएको छ ।

त्यसैगरी नेपाल मजदुर किसान पार्टीले ४२ हजार २९४, राष्ट्र निर्माण दल नेपालले ३९ हजार ५५७, राष्ट्रिय जनमोर्चाले २९ हजार ४५३ मत पाएका छन् । बस चिह्नअन्तर्गत रहेका नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल र नेपा जनजागृति पार्टीको संयुक्त समूहले २९ हजार ३९६ मत प्राप्त गरेको छ ।

नेपाल जनता संरक्षण पार्टीले २८ हजार ४०८, प्रगतिशील लोकतान्त्रिक पार्टीले २४ हजार ६७३ तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले २३ हजार ८५८ मत प्राप्त गरेका छन् । यसैगरी मंगोल नेसनल अर्गनाइजेसनले २० हजार ८२९ मत पाएको छ भने मोबाइल चिह्नअन्तर्गत रहेका आम जनता पार्टी र जनादेश पार्टी नेपालले संयुक्त रूपमा १९ हजार २०९ मत पाएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ चैत २ गते सोमबार