ग्यास उपभोक्ताले प्रशासनको सूचना पनि पत्यार मानेनन्



नन्दराम जैशी । सुर्खेत ।

बजारमा खाना पकाउने एलपी ग्यास अभाव हुन सक्ने भन्दै फैलिएको अफवाहका कारण सुर्खेतमा उपभोक्ताहरूले धमाधम ग्यास सिलिन्डर खरिद गरी भण्डारण गर्न थालेका छन् । शुक्रबार र शनिबार वीरेन्द्रनगरसहित विभिन्न स्थानका ग्यास डिलर तथा पसलहरूमा ग्यास किन्ने उपभोक्ताको उल्लेख्य भिड देखिएको थियो ।

मध्यपूर्व क्षेत्रमा देखिएको तनावका कारण नेपालमा ग्यास आपूर्ति रोकिने वा अभाव हुने भन्ने हल्ला सामाजिक सञ्जाल तथा अनौपचारिक माध्यमबाट फैलिएको हो । सोही हल्लापछि धेरै नागरिकले एकै घरका लागि दुईदेखि पाँच वटासम्म ग्यास सिलिन्डर खरिद गरी घरमै भण्डारण गर्न थालेका छन् ।

तर प्रशासनले भने ग्यास आपूर्तिमा कुनै समस्या नरहेको स्पष्ट पारेको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै बजारमा ग्यास तथा इन्धनको आपूर्ति नियमित र सहज रहेको जनाएको छ । प्रशासनले अनावश्यक रूपमा ग्यास सिलिन्डर होल्डिङ वा भण्डारण नगर्न नागरिकलाई आग्रह पनि गरेको छ । तर उपभोक्ताले प्रशासनको सूचना पनि पत्याएका छैनन् ।

सूचनामा बजारमा खाना पकाउने ग्यास (एलपी ग्यास) तथा अन्य इन्धनको आपूर्तिमा कुनै किसिमको अभाव नभएको उल्लेख गरिएको छ । कृत्रिम अभाव सिर्जना हुने गरी आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर खरिद गरेर भण्डारण नगर्न प्रशासनले चेतावनी दिएको छ । प्रशासनले आवश्यकताभन्दा बढी ग्यास खरिद गरी भण्डारण गरेमा प्रचलित कानुनअनुसार कारबाही गरिने पनि जनाएको छ ।

तर उपभोक्ताहरुले भनने सिलिण्डर किन्न ग्यास डिलर तथा पसलहरूमा भिड लाग्न छाडेका छैनन् । साथै, नेपाल सरकार गृह मन्त्रालयअन्तर्गत देशभरका जिल्ला प्रशासन कार्यालयहरूले पनि यस्तै सूचना जारी गर्दै ग्यास आपूर्ति नियमित रहेको र अफवाहमा नलाग्न नागरिकलाई आग्रह गरेका छन् । तर आधिकारिक स्रोतले आपूर्तिमा समस्या नरहेको जानकारी गराए पनि उपभोक्ताहरु गलत सूचनाको पछि लाग्दै ग्यास खरिद गर्न व्यस्त देखिएका छन् ।

सत्य जानकारीमात्र विश्वास गर्न र बजारमा अनावश्यक भिड तथा कृत्रिम अभाव सिर्जना नगर्न सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी डिलबहादुर कार्कीले सबैलाई आग्रह गरेका छन् । यता नेपाल आयल निगमले पनि खाना पकाउने एलपी ग्यासको आयात निरन्तर भइरहेकाले अनावश्यक सञ्चिति नगर्न आमउपभोक्तालाई आग्रह गरेको उनले जानकारी दिए ।

आयल निगमका प्रवक्ता मनोज ठाकुरले ग्यासको आयात साविककै परिणाममा भइरहेको स्पष्ट पारेका छन् । उनका अनुसार नेपालको मासिक खपत करिब ४५ देखि ४६ हजार मेट्रिक टन रहेको छ र हरेक महिना सोही अनुपातमा ग्यास आयात भइरहेको छ । फागुन २६ गतेसम्म ४५ हजार ५०० मेट्रिक टन ग्यास आयात भइसकेको उनले जानकारी दिए ।

घरघरमा ग्यास भण्डारण गरेर अनावश्यक जोखिम नलिन पनि उनले आग्रह गरेका छन् । निगमले ग्यासको बिक्री वितरण सहज बनाउन सम्बन्धित निकायलाई निर्देशन दिइरहेको जनाएको छ । कतै अनियमितता भएको पाइएमा सम्बन्धित निकायलाई जानकारी गराउन पनि निगमले उपभोक्तासँग आग्रह गरेको छ ।

यसैबीच, राष्ट्रिय मानव अधिकार आयोगले ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न निर्देशन दिएको छ । शुक्रबार आयोगका सहायक प्रवक्ता श्यामबाबु काफ्लेद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा सरकारलाई निर्देशन दिइएको छ । ग्यासको अभाव भई उपभोक्तामा चिन्ता र त्रास सिर्जना भएको भनी प्रकाशित एवम् प्रसारित विभिन्न समाचारहरूप्रति ध्यानाकर्षण भएको उनले बताए ।

यसै सन्दर्भमा आयोगले नेपाल आयल निगम, वाणिज्य विभाग, नेपाल खाद्य व्यवस्था कम्पनी लिमिटेडलगायत ग्यास बिक्री वितरण गर्ने डिपोहरु समेतको अनुगमन तथा अवलोकन पनि गरेको छ । कतिपय व्यावसायीबाट कृत्रिम अभाव सिर्जना गर्ने गरेको लगायतका तथ्यहरु प्राप्त भएको आयोगका सहायक प्रवक्ता काफ्लेले जानकारी दिए ।

उनका अनुसार पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न, कृत्रिम अभाव पैदा गरेको पाइएमा कानुनी दायरामा ल्याउन निर्देशन दिइएको छ भने आयल निगमले अब आधा सिलिन्डर अर्थात् ७.१ किलो ग्यास बेच्ने भएको छ । उपभोक्ताले अनावश्यक रूपमा ग्यास भण्डारण गर्न थालेको भन्दै निगमले अनावश्यक भण्डारण रोक्न आधा सिलिन्डर मात्रै बिक्री गर्न लागेको हो ।

निगमले शुक्रबारदेखि लागू हुने गरी ७.१ केजी एलपीजी ग्यास बजारमा पठाउन लागेको छ । प्रतिसिलिन्डर ९५५ रुपैयाँमा बिक्री वितरण गर्ने निर्णय पनि गरिएको निगमले जनाएको छ । आवश्यकताभन्दा बढी ग्यास खरिद गरी भण्डारण गर्ने प्रवृत्ति बढ्दै गएपछि निगमले विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो । यसअघि प्रतिसिलिन्डर १४.२ केजी हुन्थ्यो । यसको मूल्य १ हजार ९१० रुपैयाँ पथ्र्यो ।

ग्यास बिक्रीलाई व्यवस्थित बनाइँदै

शुक्रबारयता जुम्लाको बसपार्क क्षेत्रमा गाडीबाट आउने ग्यास लिन उपभोक्ताहरू लामबद्ध भएर पालो कुर्न थालेपछि ग्यास बिक्रीलाई व्यवस्थित बनाउने निर्णय गरिएको छ । ग्यासको सम्भावित अभावलाई ध्यानमा राख्दै स्थानीय प्रशासनले सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक पूर्वतयारी थालेको हो ।

ग्यास आपूर्तिमा समस्या आउने संकेत देखिएपछि जिल्ला प्रशासन कार्यालयले उद्योग वाणिज्य संघ, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय र ग्यास डिलरहरूसँग बैठक बसी वितरण व्यवस्थालाई व्यवस्थित बनाउने निर्णय गरेको छ । निमित्त प्रमुख जिल्ला अधिकारी मिनबहादुर रावलको अध्यक्षतामा बसेको बैठकले जुम्लामा एलपी ग्यासको अभाव हुन नदिन वितरण प्रणालीलाई पारदर्शी बनाउने निर्णय गरेको हो ।

सोहीअनुसार न्यु बुढा जनरल स्टोर र लगन स्टोर एण्ड सप्लायर्सले ग्यास वितरण गर्दा उपभोक्ता र सिलिण्डरको अभिलेख राखेर मात्र वितरण गर्ने व्यवस्था मिलाउने भएको छन् । यसैगरी डिलरबाट ल्याइने ग्यास सिलिण्डरको पनि अभिलेख राखिनेछ ।

यस व्यवस्थाबाट कालोबजारी नियन्त्रण गर्नुका साथै उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउने उद्देश्य राखिएको प्रशासनले जनाएको छ । प्रशासनले अब जिल्ला बाहिरबाट कति ग्यास आयात भयो, डिलर तथा सहायक पसलमार्फत कति वितरण भयो र उपभोक्तासम्म कति पुगेको छ भन्ने विवरणसमेत फरमेटका आधारमा अभिलेख राखिने जनाएको छ ।

 

  • No tags available
प्रकाशित मिति : २०८२ चैत १ गते आइतबार