कोहलपुर प्राइड लिगः दोस्रो दिन ब्राइटल्याण्ड र न्यू होराइजन विजयी



कोहलपुर ।

‘क्याम्पा’ कोहलपुर प्राइड लिग राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताको दोस्रो दिन शुक्रबार ब्राइटल्याण्ड स्कुल र न्यू होराइजन स्पोर्टस् क्लबले विजयी हासिल गरेका छन् । प्रतियोगिताको दोस्रो दिनकोे पहिलो खेलमा ब्राइटल्याण्ड स्कुल नेपालगन्जले एसपीए कलेज धनगढीलाई र दोस्रो खेलमा कोहलपुर स्पोर्टस् एकेडेमीलाई न्यू होराइजन स्पोर्टस् क्लबले हराएको हो ।

प्रतियोगिताको दोस्रो दिनको पहिलो खेलमा शुक्रबार एसपीए कलेज धनगढीले पहिला टस जितेर ब्राइटल्याण्ड स्कुल नेपालगन्जलाई बलिङको निम्तो दिएको थियो । पहिला ब्याटिङ रोजेको एसपीए कलेज धनगढीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४६ रन बनायो ।
टिमका लागि निराज ऐरले २३ बलमा ४४ रन र सागर साउदले २७ बलमा सार्वधिक ४४ बनाए भने हरिस बमले २६ बलमा २७ रनाउन सफल भए । एसपीएका लागि अन्य ब्याटरहरुले भने दोहोरो अंक बनाउन सकेनन् ।

एसपीए कलेज धनगढीले दिएको १ सय ४७ रनको सामान्य लक्ष्य पछ्याएको ब्राइटल्याण्ड स्कुल नेपालगन्जले १३.३ ओभरमा ६ विकेट गुमाउँदै १ सय ५१ रन बनाएर सहजै लक्ष्य भेटाएको हो । जसका लागि ओपनर ब्याटर विनोद भण्डारीले १६ बलमा ३० रनको आक्रमण ओपनिङ गरे ।
यस्तै टिमको जितको लागि सुनिल भण्डारीले १७ बलमा २७ रन र तुलबहादुर थापाले ११ बलमा २५ रन बनाउँदै अविजित पारी खेले ।

ब्राइटल्याण्डलाई विजयी गराउन अलराउण्डर महत्वपूर्ण २ विकेट लिनुका साथै ब्याटिङमा अविजित २७ रन बनाएर सुनिल भण्डारी ‘प्लेयर अफ द म्याच’ घोषित भए । दोस्रो दिनको दोस्रो खेलमा कोहलपुर स्पोर्टस् एकेडेमीलाई हराउँदै न्यू होराइजन स्पोर्टस् क्लब विजयी भएको हो । न्यू होराइजन स्पोर्टस् क्लबलेटस जितेर पहिला ब्याटिङ रोजेको थियो ।

पहिला ब्याटिङ रोजेका न्यू होराइजन स्पोर्टस् क्लबले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९८ रन बनाएको थियो । टिमका लागि आरिफ खानले ३४ बलमा सार्वधिक ६४ रन बनाए । यस्तै क्याप्टेन कुशल मल्लले १९ बलमा अविजित ३६ रन, बासिर अहमदले २८ बलमा ३४ रन र अमर मीश्रले ११ बलमा २० रन बनाए ।

यस्तै बलिङतर्फ कोहलपुर स्पोर्टसका दिवन पुन र शिद्धान्तराज शाहीले समान २÷२ विकेट लिए भने लभकुश यादवले एक विकेट लिएका थिए। अन्य बलरहरु भने विकेटविहीन भए । न्यू होराइजन स्पोर्टस् क्लबले दिएको १ सय ९९ रनको लक्ष्य पछ्याएको कोहलपुर स्पोर्टस १९.५ ओभरमा अलआउट हुँदै १ सय ६४ रनमा समेटिन पुग्यो । टिमका लागि अर्जुन घर्ती र दिवान पुनले समान सार्वधिक ४३ रन बनाएका थिए ।

कोहलपुर स्पोर्टसका अन्य ब्याटरहरुले राम्रो साझेदारी गर्न नसक्दा ३४ रनले हार ब्यहोर्न पुग्यो । न्यू होराइजन स्पोर्टस क्लबलाई विजयी गराउन महत्वपूर्ण पाँच विकेट लिँदै बासिर अहमद ‘प्लेयर अफ द म्याच’ घोषित भए । उनी यस प्रतियोगितामा एउटै खेलमा सार्वधिक पाँच विकेट लिने पहिलो खेलाडी समेत बनेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन ३० गते शनिबार