पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा



रुपन्देहीको सम्मरीमाई गाउँपालिका-३ स्थित दानव नदीमा बाँसको अस्थायी पुल (फड्के) को सहारामा जोखिम मोलेर मोटरसाइकल तार्दै एक सर्वसाधारण । पक्की पुलको अभावमा स्थानीय बासिन्दा यसरी नै जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । तस्बिर : राधेश्याम विश्वकर्मा/रासस

रुपन्देही ।

रुपन्देहीको मर्चवार क्षेत्रमा सम्मरीमाई गाउँपालिका–३ मा पर्ने भभइ–भटौलिया आसपासका बासिन्दा अझै पनि जोखिमपूर्ण आवतजावत गर्न बाध्य छन् । दानव नदीमाथि पक्की पुल नहुँदा स्थानीयले काठको अस्थायी डुङ्गा र बाँसको पुलको सहारामा दैनिक यात्रा गर्नुपर्ने अवस्था छ ।

लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ भभइका स्थानीय कोइल लोधका अनुसार नदीको यस वारि भटौलिया र पारी भभइपर्छ । अहिले दुबे थुम्हवाका एक स्थानीय मल्लाहले बाँसको अस्थायी पुल बनाएर मानिसलाई नदी पार गराइरहेका छन् ।

“उहाँले धेरै दुखजिलो गरेर पुल बनाउनुहुन्छ । यसले उहाँको रोजीरोटी पनि चलेको छ र हामीलाई पनि आउँजाउ गर्न सजिलो भएको छ,” उनले भने, “तर यहाँ पक्की पुल नहुँदा जहिले पनि जोखिम हुन्छ । पुल टुटने डरले मानिस घाइते हुन सक्छन्, सवारी साधनको पनि क्षति हुन सक्छ ।”उनका अनुसार यो बाटो अमहवादेखि बन्जरी चोकसम्म जोडिने महत्वपूर्ण मार्ग हो ।

मर्चवारबाट सिधैँ कक्रहवा, लुम्बिनीहुँदै नेपाल–भारत सीमासम्म पुग्नका लागि पनि यही बाटो प्रयोग हुने भएकाले यहाँ पुल निर्माण अत्यन्त आवश्यक रहेको स्थानीयको माग छ । रासस

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन २८ गते बिहीबार