नेपालगन्ज ।
स्थानीय तहको प्रमुख, उपप्रमुख र वडाध्यक्ष पद छोडेर प्रतिनिधिसभाको निर्वाचनमा होमिएका सात जनामध्ये दुई जना मात्रै सफल भएका छन्। बाँकी पाँच जनाले हार व्यहोर्नुपरेको छ । अब उनीहरुसँग न पहिलेको पद छ, न सांसद बने । पाँच वर्षको लागि जनादेश पाएका उनीहरुले जेनजी विद्रोहपछि समयअगावै हुन लागेको प्रतिनिधिसभा निर्वाचनबाट सिधै सांसद बन्ने सपना देखेर जिम्मेवारी त्यागे ।
जनताले पाँच वर्षका लागि दिएको जनादेशको उनीहरुले अपमान गरेको आलोचकहरुले टिप्पणी गरेका थिए । त्यसरी स्थानीय तहको जिम्मेवारी त्यागेर प्रतिनिधिसभाको उम्मेदवार बनेका काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ मात्रै सांसदमा निर्वाचित भएका छन् ।
स्थानीय तहको जिम्मेवारी छाडेर उम्मेदवार बनेका भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल, नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राई,कैलालीको टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारु, स्याङ्जाको कालीगण्डकी गाउँपालिका अध्यक्ष खिमबहादुर थापा, ओखलढुंगाको लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता थापा र धरान उपमहानगरपालिकाका–१७ का वडाअध्यक्ष मनोज भट्टराईले हार व्यहोर्नुपरेको छ ।
काठमाडौँ महानगरपालिकाका तत्कालीन मेयर बालेन झापा ५ मा रास्वपाबाट उम्मेदवार बने र झापा ५ मा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई नै पराजित गरे । उनले ओलीलाई ४९ हजार ६ सय १४ मतान्तरले पराजित गरेका हुन् । उनी अब सांसद मात्रै होइन प्रधानमन्त्रीसमेत बन्दै छन् । २०७९ को निर्वाचनमा बालेन स्वतन्त्र उम्मेदवारी दिएर काठमाडौँको मेयर निर्वाचित भएका थिए ।
बालेनजस्तै स्वतन्त्र उम्मेदवारी दिएर धरानको मेयर भएका हर्क साम्पाङले पनि स्थानीय तहको पाँच वर्षे कार्यकाल पूरा नगरी आफ्नै नेतृत्वमा दल गठन गरेर प्रतिनिधिसभाको चुनावमा गए । सुनसरी १ बाट उम्मेदवारी दिएका साम्पाङ ३५ हजार सात सय ४१ मत ल्याएर निर्वाचित भए । उनको निटकतम प्रतिस्पर्धी रास्वपाकी गोेमा तामाङले २७ हजार दुई सय ४९ मत पाइन् ।
साम्पाङको दल दल श्रम संस्कृति पार्टीले चार महिनामै राष्ट्रिय दलको मान्यता पाउने गरी मत पाएको छ । कार्यकाल नसकिँदै पद छाडेर प्रतिनिधिसभा सदस्यकी उम्मेदवार भएकी भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल भने सफल भइनन् । चितवन–३ बाट नेकपाको उम्मेदवार बनेकी दाहाल रास्वपाकी सोविता गौतमसँग ३८ हजार ६ सय ६२ मतान्तरले पराजित भइन् ।
भरतपुरमा २०७४ र २०७९ को दुई कार्यकाल मेयरका रूपमा काम गरेकी उनले चुनाव जित्ने विश्वास गरे पनि जनताले उनलाई सांसद बनाउन चाहेनन् । नेपालगन्ज उपमहानगरपालिकाको उपमेयरबाट राजीनामा दिएर प्रतिनिधिसभा सदस्यको उमेदवार बनेका कमरुद्धिन राईले जमानत पनि जोगाउन सकेनन् । २०७९ को निर्वाचनमा जसपा नेपाल र काँग्रेसको गबन्धनबाट निर्वाचित भएका राई आफ्ना पुराना नेता मोहम्मद इश्तियाक राई एमालेबाट उम्मेदवार बनेपछि उनको विरुद्धमा स्वर उराल्दै मैदानमा आएका थिए ।
तर, छैटौँ नम्बरमा रहेका उनले एक हजार मत पनि कटाउन सकेनन् । विजेता इश्तियाकले २४ हजार ६ सय २८ मत पाउँदा कमरुद्धिनले नौ सय ८ मत मात्रै पाएका छन् । यसैगरी कैलालीको टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारु नेकपाबाट कैलाली १ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बने । तर उनी उक्त प्रतिस्पर्धामा तेस्रो हुन पुगे ।
त्यहाँबाट रास्वपाकी कोमल ज्ञवालीले १७ हजार ८ सय २६ मत ल्याउँदा डगरौले ८ हजार तीन सय ९२ मत मात्रै पाए । २०७९ मा उनी तत्कालीन नागरिक उन्मुक्ति पार्टीका तर्फबाट चुनाव लडेका उनी यसपटक नेकपाका उम्मेदवार थिए । २०७९ सालको स्थानीय तह निर्वाचनमा गडौराले नौ हजार ६ सय ८२ मत प्राप्त गरेका थिए । उता स्याङ्जाको कालीगण्डकी गाउँपालिका अध्यक्ष खिमबहादुर थापा पनि यसपटक अधुरै कार्यकाल छोडेर प्रतिनिधिसभा सदस्यको दौडमा थिए ।
२०७४ र २०७९ सालको स्थानीय निर्वाचनमा गाउँपालिका अध्यक्षमा निर्वाचित थापा नेकपा एमालेबाट स्याङ्जा २ बाट उम्मेदवार थिए । यसपटक उनी पनि तेस्रो स्थानमा रहे । त्यहाँबाट रास्वपका झवीलाल डुम्रे २५ हजार तीन सय ५४ मत ल्याएर निर्वाचित हुँदा थापाले १४ हजार एक सय ८ मत पाए । ओखलढुंगाको लिखु गाउँपालिकाकी उपाध्यक्षबाट राजीनामा दिएर प्रतिनिधिसभा उम्मेदवार बनेकी अस्मिता थापाले पनि हार व्यहोरिन् । एमालेबाट उम्मेदवार बनेकी २८ वर्षीया थापा चौथो नम्बरमा रहीन् ।
त्यहाँबाट पनि रास्वपाका विश्वराज पोखरेल १३ हजार नौसय ५३ मतसहित निर्वाचित हुँदा थापाले १० हजार सात सय २० मत पाइन् । स्थानीय तहका प्रमुख, उपप्रमुख मात्रै नभई धरान उपमहानगरपालिकाका–१७ का वडाअध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज भट्टराई) पनि प्रतिनिधिसभाको उम्मेदवार बनेका थिए । नेकपाको तर्पmबाट सुनसरी–१ मा उम्मेदवार बनेका भट्टराई पनि चौथो नम्बरमा रहे । भट्टराई २०७४ र २०७९ सालको स्थानीय निर्वाचनमा लगातार दुईपटक धरान–१७ को वडाध्यक्ष निर्वाचित भएका उनी यसपटक आफ्नै मेयर हर्क साम्पाङले जित्दा चौथो नम्बरमा रहेका हुन् ।









प्रतिक्रिया दिनुहोस्