
काठमाडौँ ।
फिफाले सन् २०२६ मा आयोजना हुने विश्वकपका लागि रेफ्रीको सूची सार्वजनिक गरेको छ । तीन वर्षको लामो छनोट प्रक्रियापछि ५० वटा देशबाट उत्कृष्ट रेफ्री छानिएका छन् । इतिहासमै पहिलो पटक ४८ टोलीबीच १०४ वटा खेल हुने भएकाले फिफाले अहिलेसम्मकै ठूलो टोली छानेको छ ।
जसमा ५२ रेफ्री, ८८ सहायक रेफ्री र ३० भिडिओ म्याच अफिसियल गरी कूल १७० जना रहेका छन् । रेफ्रीहरूको छनोट उनीहरूको विगत ३ वर्षको प्रदर्शन, शारीरिक फिटनेस र मानसिक क्षमताको आधारमा गरिएको हो । फिफा रेफ्री समितिका अध्यक्ष पियरलुइजी कोलिनाले यी रेफ्री विश्वकै सर्वोत्कृष्ट रहेको बताएका छन् ।
कतार विश्वकप २०२२ बाट सुरु गरिएको चलनलाई निरन्तरता दिँदै यसपटक पनि ६ जना महिला खेल अधिकारीहरू छनोट गरिएको छ ।
यसपटकको विश्वकपमा प्रविधिको भरपुर प्रयोग हुनेछ । पहिलो पटक फ्यानहरूले रेफ्रीको शरीरमा जडान गरिएको क्यामेरा बाट मैदानको दृश्य हेर्न पाउनेछन् । एआई प्रविधि प्रयोग गरेर रेफ्री दौडिँदा पनि भिडिओ नहल्लिने र प्रस्ट देखिने बनाइनेछ ।
खेलमा समय खेर फाल्ने प्रवृत्तिलाई कम गर्न र खेलको गति बढाउन नयाँ नियमहरू लागू गरिनेछ । यसका साथै गोल–लाइन प्रविधि र आधुनिक ‘सेमी–अटोमेटेड अफसाइड’ प्रविधिको पनि प्रयोग हुनेछ । सबै छानिएका रेफ्री मे ३१ मा अमेरिकाको मियामीमा भेला हुनेछन् ।
त्यहाँ १० दिनसम्म उनीहरूलाई विशेष प्रशिक्षण दिइनेछ । भिडिओ रेफ्री भने पछि डलास जानेछन्, जहाँ उनीहरूको मुख्य केन्द्र रहनेछ ।
फिफाका अनुसार रेफ्री शारीरिक र मानसिक रूपमा फिट राख्न डाक्टर, फिजियोथेरापिस्ट र मानसिक स्वास्थ्य विशेषज्ञहरूको टोलीले सहयोग गर्नेछ । विश्वकप २०२६ अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुँदैछ ।









प्रतिक्रिया दिनुहोस्