चार महिनामा राष्ट्रिय दल बनेको श्रम संस्कृति पार्टी



वीरेन्द्र जैसी । नेपालगन्ज ।

यसपटकको प्रतिनिधिसभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको सफलताको जति चर्चा छ, त्यतिकै चर्चामा छ श्रम संस्कृति पार्टी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को लहरका बीच अघिल्लो संसद्मा ठूलो संख्यामा उपस्थिति रहेका दलहरुसमेत हायलकायल हुने गरी नतिजा आउँदा र अघिल्लो संसद्मा राष्ट्रिय दलको रुपमा रहेका मधेशकेन्द्रित दलहरु पत्तासाफ हुँदा श्रम संस्कृति पार्टी भने नयाँ राष्ट्रिय दलको रुपमा उदाएको छ।

श्रम संस्कृति पार्टी २०७९ को स्थानीय तह निर्वाचनमा धरान उपमहानगरपालिकाका मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएर भारी मतका साथ विजयी भएका हर्क साम्पाङ राईले नेतृत्व गरेको दल हो । यसपटक उनी स्वतन्त्र होइन, एक पार्टीको अध्यक्षको हैसियतमा छन्, त्यो पनि आफैँले स्थापना गरेको पार्टीको ।

श्रम संस्कृतिले प्रत्यक्षतर्फ तीन सिट जितेको छ भने समानुपातिकतर्फ पनि ३ प्रतिशतको थ्रेसहोल्ड पार गरेर राष्ट्रिय दलको मान्यता पाउने निश्चित भइसकेको छ । उक्त दलले प्रत्यक्ष र समानुपातिकतर्फ गरी ७ सिट पाउनसक्ने अवस्था देखिन्छ । यसले उक्त पार्टीलाई संसद्को पाँचौँ ठूलो दलको रुपमा उभ्याएको छ । पहिलो बनेको दल रास्वपा र चौथो बनेको दल नेकपाका सभापति र संयोजकबाहेक अरु दलका अध्यक्षदेखि पदाधिकारीले हार व्यहोरेको बेला साम्पाङ अध्यक्षकै हैसियतमा चुनाव जितेर संसद्मा पुगेका छन् ।

श्रम संस्कृति पार्टीले प्राप्त गरेको यो सफलता उक्त पार्टी स्थापनाको करिब चार महिनामा पूरा भएको हो । २०७९ सालमा निर्वाचित भएयता धरानको विकास निर्माणमै केन्द्रित रहेका साम्पाङ भदौ २३ र २४ गते भएको जेनजी विद्रोहपछि राष्ट्रिय राजनीतिमा उभिन आइपुगे । उक्त विद्रोहपछि देशमा संवैधानिक र सरकारको रिक्तता रहेका बेला प्रधानमन्त्री कसलाई बनाउने भन्ने छलफल चलिरहेका बेला उनी आफू प्रधानमन्त्रीको पद सम्हाल्न तयार रहेको भन्दै काठमाडौँमा पुगे ।

त्यसबेला विद्रोहीहरुले उनलाई समर्थन नगरेपछि उनी रिसाएर धरान फर्किए । सुशीला कार्की नेतृत्वमा गठन भएको सरकारले निर्वाचनको मिति तोकेर तयारीलाई पनि तीव्रता दिएपछि साम्पाङले पनि दल गठनको प्रक्रिया अघि बढाए । मेयर हुँदा पनि कार्यालयको कुर्सीमा बसेको भन्दा कतै ढुंगा बोकिरहेको र कतै औजार चलाइरहेका तस्बिरहरुबाट चर्चामा आउने हर्कले पार्टीको नाम पनि राखे ‘श्रम संस्कृति पार्टी’ । र उक्त दल २०८२ साल कात्तिक १६ गते निर्वाचन आयोगमा दर्ता भयो ।

पार्टी स्थापनाको करिब तीन महिनामै श्रम संस्कृति पार्टीले प्रत्यक्षतर्फ एक सय ६५ मध्ये एक सय नौ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार खडा ग¥यो। जसमध्ये साम्पाङ आफूसहित ध्रुवराज राई र आरेन राईले जित निकालेका हुन् । साम्पाङ सुनसरी १ बाट निर्वाचित हुँदा धु्रव भोजपुर १ र आरेन खोटाङ १ बाट निर्वाचित भएका हुन् ।

अहिले निर्वाचित संसद्मा सबैभन्दा ठूलो संख्यासहित उपस्थित भएको रास्वपा र त्यसका वरिष्ठ नेता तथा प्रस्तावित प्रधानमन्त्री बालेन शाहप्रति खरो आलोचना गर्दै आएका साम्पाङले संसद्मा खेल्ने भूमिकालाई धेरैले चासोका साथ प्रतीक्षा गरिरहेका छन् । खरो र सिधासिधा बोल्ने उनी पटक पटक अभिव्यक्तिकै कारण विवादमा पनि पर्ने गरेका छन् ।

रास्वपा र बालेनलाई विदेशी शक्तिबाट परिचालित भन्ने गरेका उनलाई नै संसद्मा रास्वपाको खरो आलोचना गर्ने व्यक्तिका रुपमा हेरिएको छ । अरु ठूला दलबाट अघिल्लो संसद्को तुलनामा निकै कम प्रतिनिधित्व रहेको बेला साम्पाङको शैलीले संसद्लाई कस्तो बनाउँछ भन्ने हेर्न बाँकी छ । उनीसँग संसदीय अनुभव पनि नरहेको यसपटकको उनको भूमिकाले आगामी दिनको राजनीतिलाई पनि निर्देशित गर्ने चर्चा भइरहेको छ ।

स्थानीय तहको निर्वाचन २०७९ धरान उपमहानगरपालिकाको मेयरमा एक्लो स्वतन्त्र उम्मेदवार रहेका हर्क साम्पाङ नेपाली काँग्रेसका उम्मेदवार किशोर राईलाई चार हजार ७६२ मतान्तरले पराजित गर्दै निर्वाचित भएका थिए । राईले २० हजार ८२१ मत पाउँदा दोस्रो स्थानमा रहेका किशोर राईले १६ हजार ५९ मत पाएका थिए ।

यसपटक प्रतिनिधि सभामा सुनसरी १ बाट साम्पाङले ३५ हजार सात सय ४१ मत ल्याएर निर्वाचित भए । उनको निटकतम प्रतिस्पर्धी रास्वपाकी गोेमा तामाङले २७ हजार दुई सय ४९ मत पाइन् । साम्पाङ स्वतन्त्र उम्मेदवारी दिएर उपमहानगर प्रमुखमा निर्वाचित हुँदा राजनीतिक दलप्रतिको ‘वितृष्णा’ उजागार गरेको चर्चा भएको थियो ।

त्यसबेला स्वतन्त्र उम्मेदवारी दिएर जितेका साम्पाङसँगै काठमाडौँ महानगरका मेयर बालेन र धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालको विजयले राजनीतिक वृत्तमा हलचल मच्चाएको थियो । विश्लेषकहरु दलहरु नसच्चिए उनीहरुलाई निकट भविष्यमा ठूलो क्षति हुने प्रक्षेपण गरेका थिए । हुन पनि त्यसलगत्तै स्वतन्त्र नै नाम राखेर स्थापना भएको रास्वपाका लहरले यसपटक ठूला दलहरुलाई निकै सानो आकारमा खुम्च्याइदिएको छ ।

हर्क साम्पाङको राजनीतिक यात्रा

खोटाङको खार्ताम्छामा जन्मिएका साम्पाङ धरान झरेर राजनीतिशास्त्र र समाजशास्त्र पढ्दै गायनमा पनि सङ्घर्षरत थिए । अध्ययनकै क्रममा धरानस्थित एक ‘ल्याङ्ग्वेज सेन्टर’मा अङ्ग्रेजी भाषा प्रशिक्षकका रूपमा पनि काम गरेका उनी ६ वर्ष अफगानिस्तान र इराक गएर रोजगारी गरे । विदेशबाट फर्किएपछि उनको सक्रियता सामाजिक कामहरुमा देखिन थाल्यो ।

मदन भण्डारी राजमार्गअन्तर्गत स्थानीय बासिन्दाको घरजग्गा जोगाउने अभियानबाट सामाजिक अभियानको सक्रियता सुरु गरेका उनले धरान खानेपानी आयोजनाको असफलता र ढिलाइको विरुद्धमा खरो रुपले सडकमै उत्रिएर आवाज उठाउन थाले । उनको विरोध अभियानमा साथ दिनेहरु थपिँदै गए । त्यसपछि विपी प्रतिष्ठानको भ्रष्टाचार, स्थानीय बेथितिविरुद्ध उनले आवाज उठाइरहे ।

पटक पटक उनले सरकारी अधिकारीहरुबाट अपमान पनि सहनुप¥यो । विसं २०७६ को स्थानीय तहको उपचुनावमा पनि उम्मेदवार रहेका उनी सफल भएनन् । तर २०७९ को निर्वाचनमा उनले मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिए । सडकमा एक्लै भए पनि माइक लिएर चुनावी प्रचार गरेका उनलाई धराने जनताहरुले मेयरको कुर्सीमा बसाइदिए ।

भ्रष्टाचारमुक्त समाज, पारदर्शी शासन, श्रमदान अभियानलाई मुख्य एजेण्डा बनाएका उनले धरानमा कोकाहाको पानी पु¥याउने आफ्नो पहिलो चुनावी वाचा पनि पूरा गरे । श्रमदान अभियान चलाएरै उनले विभिन्न योजना तथा वृक्षारोपण अभियानहरु चलाए । उनको मेयरको कार्यकाल विवादरहीत भने हुन सकेन ।

श्रमदान अभियानका लागि उठेको रकम खर्च पारदर्शी नभएको, आलोचकहरुसँग छुचोरुपमा प्रस्तुत भएको र फेसबुकमार्फत दिइएका अभिव्यक्तिहरुले सामाजिक तथा धार्मिक सद्भाव भड्काएको भन्दै विवादहरु सिर्जना भए । मेयर हुँदा देशभरी रहेको साम्पाङको लोकप्रियता उनको फेसबुकमा आउने अभिव्यक्तिकै कारण घटेको पनि बताइन्छ ।

देशभरीका एक सय नौ क्षेत्रमा उम्मेदवारी दिएको श्रम संस्कृति पार्टीले जम्मा तीन स्थानमा मात्रै विजय हासिल गर्नुले कोशी प्रदेशका केही जिल्लामा बाहेक अन्यत्र उनको र उनको स्वीकार्यता नरहेको अर्थमा पनि विश्लेषण भइरहेको छ ।

तर, पार्टी स्थापनाको करिब चार महिनामा राष्ट्रिय दलको मान्यता दिलाउन सफल साम्पाङ नेपालको संसदीय राजनीतिमा तुलनात्मक रुपमा फरक विचारधारासहित आएका छन् । उनले श्रम संस्कृतिको बढावा, भ्रष्टाचारमुक्त राजनीति र राष्ट्रवादलाई आफ्नो प्रमुख मुद्दाका रुपमा प्रस्तुत गर्दै आएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन २७ गते बुधबार