खजुरा (बाँके) ।
बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ४ ‘डी’ गाउँ र ‘ई’ गाउँका दुई असहाय परिवारलाई समाजसेवी लिलबहादुर थापाले सहयोग पठाएका छन् । सञ्चारकर्मी खगेन्द्र दाहालको पहलमा समाजसेवी थापाले खाना खानसमेत धौ धौ अवस्थामा रहेका दुई परिवारमा ६ महिनादेखि वर्ष दिनसम्म पुग्ने गरी खाद्यान्न लगायतका सामग्री पठाएका हुन् ।
समाजसेवी थापाले खजुरा गाउँपालिका ४ ‘डी’ गाउँका नारायणबहादुर थापालाई सहयोग पठाएका हुन् । थापालाई प्रेसरले हानेर विगत ६ महिनादेखि उपचारको अभावमा घरमै थन्किनुपर्ने बाध्यता छ । उनी बस्दै आइरहेको घर पनि उनको होइन । अरुले नै बस्नका लागि दिएको सानो घरमा न खानाका लागि रासन थियो, न त केही घरमा आवश्यक पर्ने सामग्री ।
प्रेसरको बिरामी रहेका थापा र उनकी श्रीमतीका लागी झण्डै वर्षदिन पुग्ने गरि खाद्यान्न र अन्य घरायसी सामग्री प्रदान गरिएको हो । कसैले केही सहयोग नगरेको अवस्थामा एक्कासि घरमा धेरै सामाग्रीहरु आएपछि भावुक हुँदै बिरामी थापाले हर्षका आँसु खसाले । उनकी श्रीमती घरपरिवारको छाक टार्न पनि अरुका घरमा भाँडा माझ्ने, लुगा धुने लगायत ज्याला मजदुरीको काम गर्दै आइरहेकी छन् ।
त्यसैगरी समाजसेवी थापाले खजुरा ‘ई’ गाउँका एक वृद्ध परिवारलाई पनि सहयोग पठाएका छन् । वृद्ध मिनबहादुर रेश्मी मगर र उनकी श्रीमती भिमकुमारी रानाको दयनीय अवस्था थाहा पाएर समाजसेवी थापाले घरमा पुग्ने गरि राहत सामग्री पठाइदिएका हुन् । छोराको उपचार गर्दा भएको घरसमेत गुमाउन बाध्य रहेका मिनबहादुर आफ्नो श्रीमतीसँगै केही समयको लागि सोही घरमा शरण लिइरहेका छन् ।
छोराबुहारी टाढा रहेको र आफ्नो खर्च धान्न पनि मुस्किल हुँदा स्थानीय रेवती शाहीले केही सहयोग गर्न सकिन्छ कि भनेर राखेको प्रस्तावलाई सहजै रुपमा लिएर समाजसेवी थापाले सहयोग पठाएका हुन् । सहयोगी थापाले दुवै परिवारलाई कहिल्यै पनि भेटेका छैनन् । उनले नभेटे पनि दीनदुःखीका सवालमा सुनेकै आधारमा वा भिडिओ हेरैकै आधारमा सहयोग गरिरहेका छन् । थापाले अमेरिकामा रहेर पनि नेपालका धेरै जिल्लाहरुमा रहेका दीनदुःखीहरुलाई राहत दिनुका साथै बिरामीको उपचार गर्ने तथा बस्नका लागि घरै समेत बनाइदिएका छन् ।








प्रतिक्रिया दिनुहोस्