संसद्मा देखिनेछन् आठ ‘जेनजी अनुहार’



फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट प्रत्यक्षतर्फ ४० वर्षमुनिका सांसद उल्लेख्य रुपमा निर्वाचित भएका छन् । कूल १६५ मध्ये ५४ जना ४० वर्षमुनिका सांसद निर्वाचित भएका हुन् । तीमध्ये २५ देखि २९ वर्षका आठजना छन् । २९ देखि ३९ वर्ष उमेर समूहका ४६ जना रहेका छन् । रास्वपाबाट कूल ४६ जना निर्वाचित हुँदा काँग्रेसबाट ४, एमालेबाट २ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र श्रम संस्कृति पार्टीबाट एक–एक जना निर्वाचित भएका छन् । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा ४० वर्षमुनिका केवल १० जना मात्रै निर्वाचित भएका थिए । त्यसबेला ७० वर्षमाथिका १४ जना र ४० देखि ७० वर्ष उमेर समूहका १३८ सांसद थिए ।

शुभाकर विश्वकर्मा/ वीरेन्द्र जैसी । बाँके ।

गत भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनपछि सिर्जित विशेष राजनीतिक परिस्थितिबीच सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा रहेको छ । अधिकांश निर्वाचन क्षेत्रको नतिजा आइसकेको छ भने समानुपातिकतर्फको मतगणना प्रक्रिया अझै जारी छ । तर, यसपटकको निर्वाचनले नेपाली राजनीतिमा नयाँ पुस्ताको बलियो प्रवेश गराएको छ ।

आगामी प्रतिनिधिसभामा आधा दर्जनबढी जेनजी सांसद देखिने भएका छन् । फागुन २१ गतेको निर्वाचनबाट प्रत्यक्षतर्फ ८ जना जेनजी उमेर समूहका सांसद चुनिएका छन् । हालसम्म निर्वाचित भएकामध्ये कूल ८ जना प्रतिनिधिसभा सदस्य २५ देखि २९ वर्ष उमेर समूहका छन् । सन् १९९७ देखि सन् २०१२ सम्म जन्मेका पुस्तालाई जेनजी अर्थात् जेनेरेसन–जी भन्ने गरिन्छ । तीमध्ये सबैभन्दा धेरै ७ जना राष्ट्रिय स्वतन्त्र पार्टी र एक जना श्रम संस्कृति पार्टीबाट निर्वाचित भएका हुन् ।

प्रत्यक्षतर्फ निर्वाचित सांसदमध्ये सबैभन्दा कान्छा सदस्य हुनेछन्, रास्वपाबाट मकवानपुर २ बाट निर्वाचित प्रशान्त उप्रेती । उनी २५ वर्षका भए । उप्रेतीले ३० हजार ५० मत प्राप्त गर्दै एमालेका महेशकुमार बर्तौलालाई पराजित गरेका हुन् । उनी मनहरी गाउँपालिका–७ का हुन् । पर्यटन उद्यमीसमेत रहेका उनी स्नातक तहसम्म अध्ययन गरेका छन् ।

नवलपरासी पूर्व–२ बाट ४१ हजार तीन सय ४७ मतसहित निर्वाचित भएका २६ वर्षीय खनालले विवेकशील नेपाली दलबाट राजनीतिक यात्रा सुरु गरेका थिए । नेपाल ल क्याम्पसबाट कानुनमा स्नातक गरेका खनालले सामाजिक र राजनीतिक न्यायका लागि सडक आन्दोलनमा सक्रिय सहभागिता जनाउँदै आएका थिए । रास्वपा सांसद असिम शाहको स्वकीय सचिवका रूपमा समेत काम गरेका खनाल २०७६ सालमा विवेकशीलको कान्छो केन्द्रीय सदस्य बनेर चर्चामा आएका थिए ।

कैलाली–२ मा २० हजार ५७ मतसहित केपी खनाल निर्वाचित भएका केपी खनाल विशेषगरी रसपसफाई अभियान सन्चालन गरी चर्चामा आएका थिए । अछामको रामारोशन गाउँपालिकामा जन्मिएका खनालको परिचय मूलतः सामाजिक अभियन्ताको हो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहको निकट मानिने खनाल ‘म बदलिन्छु, मेरो देश बदलिन्छ’ भन्ने नारासहित ’क्लिन काष्ठमण्डप’ अभियान चलाएका थिए ।

७ कक्षामा पढ्दै गर्दा स्थानीय रेडियोमा काम सुरु गरेका खनाल १७ वर्षको उमेरदेखि नै सामाजिक कार्यमा सक्रिय भएका थिए । खनालले बाजुरामा अनाथ बालबालिकाका लागि बालगृह निर्माण गर्ने कामको पनि अगुवाई गरेका थिए । यसैगरी नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई पराजित गर्दै रास्वपाका २८ वर्षीय सुलभ खरेल रूपन्देही–२ बाट निर्वाचित भएका छन् ।

कूल ५६ हजार ५५० मत प्राप्त गरेका खरेलले पौडेललाई ४३ हजार मतान्तरले पराजित गरेका हुन् । पौडेलले १२८६१ मत पाएका छन् । खरेल अधिवक्ता हुन् । संवैधानिक कानुनमा अमेरिकाबाट स्नातकोत्तर गरेका उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन विरुद्ध रिट दायर गर्ने सबैभन्दा कान्छो निवेदक बनेर चर्चा कमाएका थिए ।

उनले रास्वपा सभापति रवि लामिछानेलाई कानुनी परामर्श दिँदै आएका छन् । भ्रष्टाचार विरुद्धको कडा अभियान र कानुनी राज्यको वकालत गर्ने अभियन्ताको रुपमा पनि उनले आफ्नो छवी निर्माण गरेका छन् । यसैगरी सिरहा–१ बाट विजयी भएका २८ वर्षीय बब्लु गुप्ता नागरिक सरकारबाट युवा तथा खेलकूद मन्त्रीबाट राजीनामा दिएर चुनावमा होमिएका थिए ।

स्नातक तहसम्मको अध्ययन पूरा गरेका गुप्ताले कोभिड–१९ को समयमा ‘द हन्ड्रेड’ अभियान चलाएका थिए । गुप्ताले विशेष गरी वैदेशिक रोजगारीमा ठगिएकाहरूलाई सहयोग गर्ने र कोभिडको बेला निःशुल्क खाना अभियान चलाएका थिए । झापा क्षेत्र नम्बर १ बाट ४५ हजार ६ सय ८० मत ल्याएर निर्वाचित २९ वर्षीया निशा डाँगी यसअघिको विघटित संसदमा सबैभन्दा कान्छो उमेरकी साँसद थिइन् ।

२०७९ मा समानुपातिक सांसदका रूपमा रहेकी डांगीले सामाजिक कार्यमा स्नातक र पत्रकारितामा स्नातकोत्तर गरेकी छन् । राजनीतिमा आउनुअघि करिब पाँच वर्ष पत्रकारिता गरेकी डाँगीले रास्वपाको सचेतकको जिम्मेवारी समेत सम्हालिसकेकी छन् । काठमाडौँ ५ बाट रास्वपाकै २९ वर्षीय सस्मित पोखरेल निर्वाचित भएका छन् । कूल ३० हजार सात सय ३७ मत प्राप्त उनी विजयी भएका हुन् ।

उनले नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेल र नेकपा एमालेका नेता इश्वर पोखरेल जस्तो हेभीवेट उम्मेदवारलाई हराएर संसदीय यात्रा तय गरेका हुन् । उनी विवेकशील अभियानमार्फ नै राजनीतिमा जोडिएका युवा हुन् । काठमाडौं विश्वविद्यालयबाट बीएएलएलबी पूरा गरेका पोखरेल वैकल्पिक राजनीतिका प्रखर वक्ता हुन् । २०७२ को भूकम्पमा राहत संकलनमा सक्रिय भएका उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको टिममा रहेर शिक्षा सहायक विज्ञको रूपमा पनि काम गरेका थिए ।

सामुदायिक विद्यालयमा छात्रवृत्ति वितरण, ‘बुक फ्री फ्राइडे’ र स्मार्ट बोर्ड जस्ता कार्यक्रमको कार्यान्वयनमा उनले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट खोटाङ–१ मा १६ हजार ६ सय १२ मत ल्याएर निर्वाचित २९ वर्षीय आरेन राई श्रम संस्कृति पार्टीका प्रभावशाली युवा नेता हुन् । स्नातक तहसम्मको अध्ययन गरेका राईले २०६८ सालमा माओवादीबाट राजनीतिक यात्रा सुरु गरेका थिए ।

मंगोल नेसनल अर्गनाइजेसन हुँदै हर्क साम्पाङको श्रम संस्कृति पार्टीमा जोडिएका राईले नेपाल मंगोलहरुको मात्रै भएको बताएपछि विवादमा आएका थिए । अहिले श्रम संस्कृति पार्टीको एक युवा नेताका रुपमा राई उदाएका छन् । यसैगरी ३० देखि ३९ वर्ष उमेर समूहका ४६ जना युवा सांसद निर्वाचित भएका छन् । हालसम्म सार्वजनिक मतपरिणामअनुसार ४० वर्षमुनिका ५९ जना उम्मेदवार प्रतिनिधिसभामा निर्वाचित भएका छन् । यस समूहमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को स्पष्ट वर्चस्व देखिएको छ ।

५९ मध्ये ५१ जना रास्वपाबाट निर्वाचित हुँदा काँग्रेसबाट ४, एमालेबाट २ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र श्रम संस्कृति पार्टीबाट एक–एकजना निर्वाचित भएका छन् । नेपालको कूल जनसंख्यामध्ये १६ देखि ४० वर्ष उमेर समूहको हिस्सा करिब ४०.३५ प्रतिशत रहेको छ । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा १ सय ६५ निर्वाचन क्षेत्रमध्ये ४० वर्षमुनिका केवल १० जना मात्रै निर्वाचित भएका थिए ।

त्यसबेला ७० वर्षमाथिका १४ जना सांसद निर्वाचित भएका थिए भने ४० देखि ७० वर्ष उमेर समूहका सांसदको संख्या सबैभन्दा धेरै (१३८) थियो । यसपटक ६० वर्षमाथि ९ जना मात्रै सांसद प्रत्यक्षतर्फ निर्वाचित भएका छन् । सबैभन्दा पाका सांसदका रुपमा ७१ वर्षीय महावीर पुन र टेकबहादुर गुरुङ हुनेछन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन २६ गते मंगलबार