नेपालगन्ज (बाँके) ।
वरिष्ठ गायक, कलाकार तथा सञ्चारकर्मी स्वर्गीय कमल बिके निर्मोहीको १३औँ दिनको पुण्यतिथिको अवसरमा आइतबार नेपालगन्जमा श्रद्धाञ्जली कार्यक्रम गरिएको छ । बास नेपालको आयोजनामा स्व. निर्मोहीको निवासमा सम्पन्न श्रद्धाञ्जली सभामा विभिन्न क्षेत्रका व्यक्तित्वहरूले उनलाई स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरे ।
श्रद्धाञ्जली सभा कार्यक्रममा उद्योग वाणिज्य संघका पूर्वकेन्द्रीय सदस्य एवम् नागरिक समाजका अगुवा कृष्णप्रसाद श्रेष्ठ, वरिष्ठ कलाकार शुन्दर गुरुङ, दलित महिला संघ फेडोकी अध्यक्ष निर्मला सुनार तथा कलाकार वीरेन्द्र यादवले श्रद्धाञ्जली मन्तव्य व्यक्त गर्दै स्वर्गीय निर्मोहीले नेपाली कला, संस्कृति तथा समाजसेवामा पु¥याएको योगदानको चर्चा गरेका थिए ।
उनीहरूले निर्मोही सरल स्वभावका, प्रतिभाशाली तथा समाजप्रति प्रतिबद्ध कलाकार रहेको उल्लेख गर्दै उनको योगदान सधैँ स्मरणीय रहने बताएका थिए । वक्ताहरूले निर्मोहीले जीवनभर कला र समाजसेवाका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गरेको स्मरण गर्दै उनको अभाव सधैँ खट्किरहने बताउँदै कमल बिके निर्माेहीको नाममा अक्षयकोष स्थापना गर्न सकेको खण्डमा उनको सम्मान हुने र अमर रहने उनीहरुको जोड थियो ।
कार्यक्रममा सहभागीहरूले स्वर्गीय निर्मोहीको तस्बिरमा पुष्प अर्पण गर्दै उनको आत्माको चिरशान्तिको कामना गरेका थिए । बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले सञ्चालन गरेको उक्त कार्यक्रम बास नेपाल गण्डकी प्रदेश इन्चार्ज कमल शाहीले समापन गरेका थिए । कार्यक्रममा स्व. निर्मोहीको परिवारका सदस्य, इस्टमित्र, स्थानीय कलाकार, विभिन्न सङ्घ संस्थाका प्रतिनिधि, समाजसेवी तथा शुभेच्छुकहरूको उपस्थिति रहेको थियो ।
स्वर्गीय कमल बिके निर्मोहीको फागुन १२ गते उपचारकै क्रममा निधन भएको थियो । उनी नेपाली लोकसंगीत तथा सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएको व्क्तित्वको रूपमा परिचित थिए ।








प्रतिक्रिया दिनुहोस्