काठमाडौँ ।
भर्खर सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पुराना भनेर उपमा पाएका नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, जनता समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टीका अधिकांश स्थापित तथा पटकपटक संसद् र सत्ताको अनुभव लिइसकेका उम्मेदवार पराजित भएका छन् । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल पूर्वी रुकुम पुगेर जित हासिल गर्नुबाहेक अन्य ‘पुराना दल’का ‘पुराना नेता’ पराजित भएका छन् ।
दाहाल पनि माओवादी गढ भनेर चिनिएको पूर्वी रुकुम पुगेर चुनाव लड्ने निर्णय नगरेको भए सायद उनको हैसियत पनि हारकोे सूचीमा पर्नेमा कुनै शंका थिएन । दाहालबाहेक त्यस पार्टीका चर्चामा रहेका अधिकांश उम्मेदवारले चुनाव जित्न सकेनन् । त्यस्तै निर्वाचनमा पहिलो दल हुने दाबीका साथ फेरिएको काँग्रेसको नारा लिएर मतदातासँग पुगेको नेपाली काँग्रेसका शीर्ष नेताहरू पनि पराजित भएका छन् ।
पटकपटक मन्त्री, सांसद भइसकेका मात्र नभई भावी प्रधानमन्त्रीको रूपमा दाबी गरिएका सभापति गगन थापा सर्लाही–४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अमरेशकुमार सिंहसँग ठूलो मतान्तरले पराजित भए । सिंहले ३५ हजार ६ सय ८८ मत ल्याउँदा थापाले २२ हजार ८ सय ३१ मत ल्याए । काँग्रेस सभापतिको दाबी गर्दै आएका शेखर कोइराला मात्र नभई महामन्त्रीहरू गुरुराज घिमिरे, प्रदीप पौडेललगायतको सहज हार भयो ।
यता निर्वाचनअघिसम्म आफ्नो हारलाई असम्भव दाबी गर्दै आएका पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहसँग लज्जास्पद हार बेहोर्न पुगे । शाहले ६८ हजार तीन सय ४८ मत ल्याउँदा ओलीले १८ हजार सात सय ३४ मात्र मत प्राप्त गर्न सके ।
ओली मात्र नभई एमालेका उपाध्यक्ष विष्णु पौडेल, गोकर्ण विष्ट, पृथ्वीसुब्बा गुरुङ, महासचिव शंकर पोखरेल तथा सचिवहरू महेश बस्नेत, भानुभक्त ढकाल र राजन भट्टराई पनि निर्वाचनमा पराजित भए । उपमहासचिवहरू लेखराज भट्ट र रघुवीर महासेठको पनि प्रतिनिधिसभा प्रवेशको यात्रा सकियो । २०७९ को निर्वाचनमा काँग्रेस पहिलो र एमाले दोस्रो ठूलो दल बनेका थिए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष रवीन्द्र मिश्रलगायतका सबै पदाधिकारी पराजित भइसकेका छन् । राप्रपाका ज्ञानेन्द्र शाही मात्र जुम्लाबाट विजयी भएका छन् । निर्वाचनमा पराजित भएपछि राप्रपाका उपाध्यक्ष मिश्रले पार्टी परित्याग गरिसकेका छन् । त्यस्तै उपप्रधानमन्त्रीलगायत पटकपटक विभिन्न मन्त्रालयको नेतृत्व गरिसकेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पनि पराजित भएका छन् ।
यादवको पार्टीले देशभरिबाट एक सिट पनि जित्न सकेन । एमाले, काँग्रेस र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार पहाडी र थोरै मतदाता रहेका जिल्लाबाट मात्र विजयी हुन सकेका छन् । सहरी र धेरै जनसंख्या रहेका निर्वाचन क्षेत्रमा ‘पुराना दल’ पराजित हुँदा आममतदाताले देशमा परिवर्तन खोजेको प्रष्ट भएको छ ।
काँग्रेसबाट प्रतिनिधिसभा सदस्यमा जित्नेहरूमा रसुवामा मोहन आचार्य, तेह्रथुममा सन्तोष सुब्बा, मनाङमा टेकबहादुर गुरूङ, मुस्ताङमा योगेश गौचन थकाली, कपिलवस्तुमा अभिषेकप्रताप शाह, जाजरकोटमा खडकबहादुर बुढा, दैलेखमा बासना थापा, सुर्खेत १ मा विष्णुबहादुर खड्का, अछाम १ मा भरतकुमार स्वार, डोटीमा भरतबहादुर खड्का छन् ।
काँग्रेसका उम्मेदवारमध्ये मुगुमा खड्गबहादुर शाही, हुम्लामा जयपति रोकाय पनि विजयी भएका छन् । त्यस्तै एमालेबाट जित्नेहरूमा लक्ष्मीप्रसाद पोखरेल दैलेख – २, बझाङमा ऐन महर, इलाम–२ मा सुहाङ नेम्वाङ, दार्चुला–१ मा गणेशसिंह ठगुन्ना, ताप्लेजुङमा क्षितिज थेबे, धनकुटामा राजेन्द्र राई छन् ।
नेपाली कम्युनिष्ट पार्टीबाट जित्नेहरूमा पूर्वी रुकुमबाट संयोजक दाहालसहित पश्चिम रुकुमबाट गोपाल शर्मा, रोल्पाबाट वर्षमान पुन, सल्यानबाट रमेशकुमार मल्ल, डोल्पाबाट धनबहादुर बुढा, कालीकोटबाट महेन्द्रबहादुर शाही र सिन्धुपाल्चोक–२ बाट युवराज दुलाल छन् ।
प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फको मतगणना अन्तिम चरणमा पुग्दै गर्दा रास्वपा दुईतिहाइ नजिक पुगेको छ ।
१६५ निर्वाचन क्षेत्रमध्ये रास्वपाले एक सय २५ सिटमा विजय प्राप्त गर्ने सम्भावना देखिएको छ । ११० समानुपातिक सिटमध्ये ६० सिट प्राप्त गर्न सक्यो भने रास्वपालाई दुईतिहाइ मत पुग्नेछ । दुईतिहाइ मत प्राप्त गरेर बनेको सरकारले आफूले चाहेका जुनसुकै एजेन्डामा काम गर्न सक्ने संवैधानिक व्यवस्था छ ।
जेनजी आन्दोलनबारे छानबिन प्रतिवेदन सरकारलाई बुझाइयो
यसैबीच जेनजी प्रदर्शनसँग सम्बन्धित घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले आफ्नो प्रतिवेदन आइतबार सरकारलाई बुझाएको छ । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष प्रतिवेदन बुझाएको हो । आयोगका सदस्य विज्ञानराज शर्माका अनुसार लामो अध्ययन, तथ्य संकलन र सम्बन्धित पक्षसँगको बयानका आधारमा तयार पारिएको प्रतिवेदन सरकारलाई औपचारिक रूपमा बुझाइएको हो ।
अब उक्त प्रतिवेदन अध्ययनपछि सरकारले आवश्यक निर्णय लिने अपेक्षा गरिएको छ । सरकारले गएको भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे सत्यतथ्य पत्ता लगाउन गत असोज ५ गते आयोग गठन गरेको थियो । आयोगले अनुसन्धानका क्रममा आन्दोलनमा सहभागी प्रत्यक्षदर्शी, सुरक्षाकर्मी तथा सरकारी अधिकारीसँग बयान लिएको जनाएको छ ।
घटनास्थलको अवलोकन, भिडिओ–दृश्य विश्लेषण र सम्बन्धित कागजातको अध्ययन गरी प्रतिवेदन तयार पारिएको बताइएको छ । प्रतिवेदन बुझाएपछि प्रतिक्रिया दिँदै आयोगका अध्यक्ष कार्कीले प्रतिवेदन कार्यान्वयन भए देशको मुहार फेरिने बताए । उनले आफूहरूले इमानदारीसाथ काम गरेको र बिनाकुनै पूर्वाग्रह प्रतिवेदन तयार पारेको बताए ।









प्रतिक्रिया दिनुहोस्