नन्दराम जैशी । सुर्खेत ।
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत कर्णाली प्रदेशमा जारी मतगणनाको प्रारम्भिक नतिजाले मतदाताको झुकाव मुख्यतया उही पुराना राजनीतिक दलतर्फ रहेको देखाएको छ । कर्णालीका १२ निर्वाचन क्षेत्रमध्ये अधिकांश निर्वाचन क्षेत्रमा नेपाली काँग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीकै उम्मेदवारले अग्रता लिइरहेका छन् भने नयाँ शक्तिको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारले अपेक्षाअनुसार मत प्राप्त गर्न सकेका छैनन् ।
कर्णालीबाट आफ्नो समर्थन बढाउन रास्वपाले आफ्नो चुनावी बाचापत्रसमेत सुर्खेतबाट सार्वजनिक गरेको थियो । तर देशभर रास्वपाका उम्मेदवारहरुले अग्रता लिनुका साथै कडा प्रतिस्पर्धा गरिरहेका बेला रास्वपा कर्णालीका उम्मेदवारहरु कडा प्रतिस्पर्धामै उत्रिन सकेका छैनन् । कर्णालीका १२ जना रास्वपा उम्मेदवारमध्ये सुर्खेत निर्वाचन क्षेत्र १ मा टेकबहादुर सिंह, सुर्खेत २ मा रमेशकुमार सापकोटा र दैलेख निर्वाचन क्षेत्र १ मा नन्दकिशोर बस्नेतले भने कडा प्रतिस्पर्धा गरिरहेका छन् ।
जसमा सुर्खेत २ मा रमेशकुमार सापकोटाले चुनाव जित्ने दाबीसहित रास्वपाले आफ्नो प्रारम्भिक विजेता उम्मेदवारको लिष्टमा सापकोटाको नाम राखेको छ भने सापकोटाले पनि थोरै थोरै मतान्तरले अन्य दलका उम्मेदवारलाई पछि पार्दै अग्रता जारी राखेका छन् । यस्तै रास्वपा उम्मेदवारहरुमा दैलेख २ मा बखतबहादुर शाही, जुम्लाबाट विनिता कठायत, कालीकोटबाट प्रकाश न्यौपाने, सल्यानबाट ललितकुमार चन्द, जाजरकोटमा राघव कार्की, रुकुम पश्चिमबाट मानबहादुर शाही, मुगुबाट भुवन टमटा, डोल्पाबाट देवसिंह ऐडि र हुम्लाबाट टासी ल्हान्जोम रहेका छन् ।
उनीहरुले अन्य दलका उम्मेदवारको तुलनामा निकै कम मत पाएका छन् । कर्णाली प्रदेशका १० जिल्लामा मतगणना जारी रहँदा अधिकांश स्थानमा नेपाली काँग्रेस र नेकपा एमालेबीच कडा प्रतिस्पर्धा देखिएको छ । कतिपय क्षेत्रमा नेकपाका उम्मेदवार पनि प्रतिस्पर्धामा रहे पनि रास्वपाका उम्मेदवार भने पछाडि परेको देखिन्छ । विश्लेषकहरूका अनुसार कर्णालीमा पुराना दलका उम्मेदवारले अग्रता लिनुका केही मुख्य कारण छन् ।
जसमा पहिलो कारण यहाँका मतदातासँग पुराना दलहरूको लामो राजनीतिक सम्बन्ध र संगठनात्मक आधार बलियो छ भने गाउँगाउँसम्म पार्टीका संरचना, कार्यकर्ता र स्थानीय नेतृत्वको उपस्थितिले मतदातामा प्रभाव पार्ने गरेको छ । दोस्रो कारणमा उम्मेदवारको स्थानीय पहिचान र पहुँच पनि निर्णायक बनेको देखिन्छ । कर्णालीका धेरै मतदाताले आफ्नो क्षेत्रमा लामो समयदेखि सक्रिय र परिचित उम्मेदवारलाई प्राथमिकता दिएको बताइन्छ ।
कर्णालीका धेरै स्थानमा नयाँ दलको संगठन कमजोर रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले सहरी क्षेत्रमा प्रभाव देखाए पनि दुर्गम र ग्रामीण क्षेत्रमा संगठन विस्तार गर्न पर्याप्त समय नपाएको रास्वपा कर्णाली प्रदेश सभापति मदन खड्काले बताए । तर आगामी दिनमा पार्टी संगठन बलियो बनाउने अर्को निर्वाचनमा रास्वपामय कर्णाली बनाउने उनको दाबी छ ।
पुरानाप्रति विश्वास कायम
निर्वाचनको समयमा पुराना दलका उम्मेदवारले स्थानीय मुद्दा, विकासका योजना र व्यक्तिगत सम्पर्कलाई प्राथमिकता दिँदा मतदातामा पनि पुराना दलप्रति विश्वास कायम रहेको पाइन्छ । राजनीतिककर्मी तथा रास्वपा नेता हरी अधिकारीका अनुसार रास्वपाले राष्ट्रियस्तरमा चर्चा पाए पनि कर्णालीजस्ता दुर्गम प्रदेशमा संगठन निर्माण, स्थानीय नेतृत्व विकास र जनतासँग निरन्तर सम्पर्क विस्तार गर्नुपर्ने चुनौती अझै बाँकी छ ।
‘मतगणना अन्तिम चरणमा पुग्दै जाँदा परिणामले कर्णालीमा परम्परागत राजनीतिक शक्ति अझै बलियो रहेको संकेत गरेको छ,’ उनले भने, ‘तर नयाँ दलहरूले प्राप्त गरेको मतलाई भविष्यका लागि आधार मानेर संगठन विस्तारमा ध्यान दिनेछौँ ।’ कर्णालीका मतदाताहरु पनि अघिल्लो पुस्ताको भनाइमा लागेर पराम्परागत राजनैतिक दल छोड्न नसक्नु पनि रास्वपाका लागि मुख्य चुनौती छ ।
कर्णालीका अधिकांश युवाहरु जिल्लाबाहिर देश तथा विदेशमा रहे पनि रास्वपालाई मत हाल्नेबारे उनीहरुले भनेको कुरा घरपरिवारले गम्भीरतापूर्वक नलिनुलाई पनि चुनौतीका रुपमा हेरिएको छ । मतदाताले रास्वपाको गतिविधिबारे समयमै थाहा नपाउनु र रास्वपाको जति चर्चा छ, त्यो अनुसारका दक्ष तथा योग्य उम्मेदवार नहुनु पनि कर्णालीमा रास्वपा उम्मेदवारप्रति आकर्षण घट्नु हो ।
‘जो आए पनि उस्तै त हुन् भन्ने परम्परागत सोच र नयाँलाई पनि विश्वास गर्नुपर्छ भन्ने सचेतना छैन,’ एक नेताले भने, ‘कर्णालीमा रास्वपा उम्मेदवारप्रति खासै आकर्षण देखिएन । सोही कारण मतदाताले रास्वपा उम्मेदवारभन्दा अन्य पुराना दलका उम्मेदवारलाई बढी मत दिएका हुन् ।’ तर रास्वपा वरिष्ठ नेता बालेन्द्र साह र सभापति रवी लामिछानेप्रतिको आकर्षण भने कर्णालीमा बढ्दो क्रममा छ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत कर्णाली प्रदेशका १० वटै जिल्लामा शान्तिपूर्ण रूपमा मतदान सम्पन्नपछि धमाधम मतगणना कार्य जारी छ ।
नौ जिल्लामा मतगणना जारी
सुर्खेतसहित कर्णालीका नौ जिल्लामा जारी मतगणनाको अन्तिम नतिजा आउने तरखरमा छ । तर मुगुमा भने आज शनिबारदेखि मात्रै मतगणना सुरु हुँदैछ । मुगुमा हवाई सेवामार्फत मतपेटिका ढुवानीमा ढिलाइ भएको हो । यता डोल्पा र हुम्लामा शुक्रबारभित्रै हवाई सेवामार्फत मतपेटिका ढुवानी कार्य सम्पन्न गरी मतगणना कार्य सुरु भएको छ ।
पछिल्लो मत परिणामअनुसार नयाँ शक्तिको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारभन्दा कर्णालीमा पुराना दल नेपाली कम्युनिष्ट पार्टी, नेकपा एमाले र नेपाली काँग्रेसकै उम्मेदवारलाई मतदाताले बढी मत दिएका छन् । तर समानुपातिकतर्फ भने रास्वपालाई कर्णालीबाट सम्मानजनक मत गएको अनुमान गरिएको छ । १२ वटै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फको मतगणना सम्पन्नपछि समानुपातिकतर्फको गणना सुरु हुनेछ ।








प्रतिक्रिया दिनुहोस्