वीरेन्द्र जैसी । नेपालगन्ज ।
बाँकेको नेपालगन्ज उपमहानगरपालिका– ६ स्थित हडियाबाबा मतदान केन्द्र (क)मा एकाबिहानैदेखि मतदाताहरू लाइनमा लागेका थिए । मतदाताको लाइनअघि मतदान सम्पन्न गराउन खटिएका कर्मचारीहरूको डेस्क थियो भने त्यसयता अलग्गै थियो मतदान अधिकृतको डेस्क ।
त्यहाँ मतदाताहरूको ध्यान तान्ने दृश्य थियो मतदान अधिकृतको डेस्कमा बसेकी कर्मचारीको काखमा रहेकी दुधेबालिका । ती महिला कर्मचारीले एकैसाथ आफ्नो शिशु र मतदानको जिम्मेवारी निभाइरहेकी थिइन् । ती कर्मचारी थिइन् उच्च अदालत नेपालगन्ज इजलासमा अधिकृतको रूपमा कार्यरत र निर्वाचनमा मतदान अधिकृतको रूपमा कार्यरत अमृता केसी ।
मतदान केन्द्रमा बिहान ४ बजेदेखि नै उपस्थित भएकी केसीले ६ महिनाकी छोरीलाई पनि सँगै लिएर आएको बताइन् । छोरीलाई पनि समय दिँदै ऐतिहासिक निर्वाचनको जिम्मेवारी पनि पूरा गर्न पाउँदा गर्व लागिरहेको उनले प्रतिक्रिया दिइन् । उनले भनिन्, ‘आफ्नो जिम्मेवारी पनि पूरा गर्नै प¥यो । छोरीलाई पनि समय दिनु उसको अधिकारको कुरा हो । सजिलो होस् भनेर यतै लिएर आएँ ।’
मतदान केन्द्रमा स्तनपान कक्षको व्यवस्था गरिएको थियो भने केसीलाई श्रीमान् विजयन्द्र जिसीले पनि साथ दिएका थिए । चार वर्षअघि लोकसेवा परीक्षा पास गरेर न्याय सेवातर्फको शाखा अधिकृत बनेकी केसी त्यसअघि १३ वर्ष पत्रकारिता पेशामा थिइन् । उनले रेडियो कोहलपुर, कृष्णसार एफएम, न्यूज २४ टेलिभिजन, राष्ट्रिय समाचार समिति, नेपाल वातावरण पत्रकार समूहमा र नेपाल टेलिभिजन लगायतका सञ्चार संस्थामा काम गरेकी थिइन् ।
बाँकेको पत्रकारिता क्षेत्रमा सक्रिय भएर असल पत्रकारको परिचय बनाएकी केसी क्रियाशील पत्रकार महिला बाँकेको निवर्तमान अध्यक्ष पनि हुन् । उनले सेवा प्रवेशपछि पाटन उच्च अदालत, बर्दिया जिल्ला अदालतमा काम गरेकी थिइन् । मतदान केन्द्रमा मतदान गरि फर्किएका मतदाताहरूले आफ्नो जिम्मेवारीसँगै मातृत्वको जिम्मेवारी पनि निभाइरहेकी कर्मचारी देख्दा खुसी लागेको प्रतिक्रिया दिएका थिए ।








प्रतिक्रिया दिनुहोस्