कर्णालीमा ५५ प्रतिशत मत खस्यो



नन्दराम जैशी । सुर्खेत ।

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत कर्णाली प्रदेशका १० वटै जिल्लामा शान्तिपूर्ण तरिकाले मतदान कार्य सकिएको छ । यस पटकको निर्वाचनमा कर्णाली प्रदेशमा कूल ५५.१ प्रतिशत मत खसेको छ । जसमा जिल्लागत रूपमा हेर्दा डोल्पामा सबैभन्दा बढी ६५.७३ प्रतिशत मत खसेको छ ।

त्यस्तै हुम्लामा ६४.५५ प्रतिशत, मुगुमा ६०.५६ प्रतिशत र रूकुम पश्चिममा ५८.४४ प्रतिशत मत खसेको छ भने जाजरकोटमा ५६.८४ प्रतिशत, जुम्लामा ५६.८८ प्रतिशत मत खसेको प्रदेश निर्वाचन अधिकारी लालबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार सुर्खेतमा निर्वाचन क्षेत्र १ बाट ५७.०९ र निर्वाचन क्षेत्र २ बाट ५७.४६ प्रतिशत मतदान भएको छ ।

अन्य जिल्लामा भने तुलनात्मक रूपमा कम मतदान भएको देखिएको छ । दैलेख निर्वाचन क्षेत्र १ बाट ५०.५२ प्रतिशत र निर्वाचन क्षेत्र २ बाट ४८.२४ प्रतिशत मत खसेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । त्यस्तै कालीकोटमा ५० प्रतिशत र सल्यानमा ४४.४० प्रतिशत मत खसेको तथ्यांकमा उल्लेख छ । निर्वाचन कार्यालयका अनुसार सबै स्थानमा मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।

दुर्गम जिल्लाहरूमा समेत सुरक्षा व्यवस्था मिलाइएपछि मतदाताले उत्साहका साथ मतदानमा सहभागिता जनाएका थिए । मतदान सम्पन्न भएसँगै अब मतपेटिका संकलन तथा मतगणनाको तयारी सुरु गरिएको प्रदेश निर्वाचन अधिकारी गुरुङले बताए । उनका अनुसार प्रदेशका १० जिल्लामा रहेका ९४१ मतदानस्थल र एक हजार ४३७ मतदान केन्द्रहरूबाट प्राप्त प्रारम्भिक विवरणअनुसार कूल १० लाख ४८ हजार १३८ मतदातामध्ये पाँच लाख ७७ हजार ५४२ मत खसेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार शुक्रबार बिहानसम्म कर्णाली प्रदेशका १० वटै जिल्लामा मतपेटिका ढुवानी कार्य सम्पन्न हुने जनाइएको छ भने शुक्रबार बिहानैदेखि अधिकांश निर्वाचन क्षेत्रमा मतगणना सुरु गर्ने तयारी छ । कर्णालीका १२ निर्वाचन क्षेत्रमा कूल १३२ जना उम्मेदवार चुनावी मैदानमा होमिएका छन् । यस्तै कूल खसेको मतमध्ये तीन लाख १२ हजार ८४५ महिला, दुई लाख ६४ हजार ६९५ पुरुष र दुई जना अन्य मतदाता रहेका छन् ।

प्रदेशभर ९४१ मतदानस्थल र एक हजार ४३७ मतदान केन्द्र गरी कूल दुई हजार ३७८ निर्वाचन बुथ केन्द्रमार्फत मतदान भएको थियो । कर्णाली प्रदेशका कूल मतदातामध्ये पाँच लाख २७ हजार ६८६ पुरुष, पाँच लाख नौ हजार ३६१ महिला र अन्य तीन जना थिए । गत २०७९ को निर्वाचनको तुलनामा एक लाख २८ हजार ८१७ मतदाता थपिएका हुन् । तर कूल खसेको मत प्रतिशत भने अघिल्लो निर्वाचनभन्दा कम छ ।

जिल्लागत रूपमा सबैभन्दा बढी मतदाता सुर्खेतमा दुई लाख ४८ हजार ९४३ रहेका थिए । जसमा सुर्खेत निर्वाचन क्षेत्र १ का कूल मतादाता सङ्ख्या एक लाख २२ हजार ९०२ रहेकोमा कूल खसेको मत ७० हजार १६७ रहेको छ । यस्तै सुर्खेत निर्वाचन क्षेत्र २ का कुल मतादाता एक लाख २७ हजार ६६८ मा कूल खसेको मत ७३ हजार ३५६ रहेको छ ।

यस्तै दैलेख निर्वाचन क्षेत्र १ का कूल मतादाता ८१ हजार २८७ रहेकोमा कूल खसेको मत ४१ हजार ६९ रहेको छ भने दैलेख निर्वाचन क्षेत्र २ का कूल मतदाता सङ्ख्या ८१ हजार ५०३ रहेकोमा कूल खसेको मत ३९ हजार २३१ रहेको छ । त्यस्तै डोल्पामा २५ हजार ५ मतादाता सङ्ख्या रहेकोमा कूल खसेको मत १६ हजार ४३७ रहेको छ । रूकुम पश्चिममा एक लाख ७ हजार ७४८ मतादाता सङ्ख्या रहेकोमा कूल खसेको मत ६२ हजार ९६८ रहेको छ ।

कालीकोटमा ८५ हजार ४४ मतादाता सङ्ख्या रहेकोमा कूल खसेको मत ४२ हजार ५२३ रहेको छ । यता जुम्लामा ७२ हजार ४४४ मतादाता सङ्ख्या रहेकोमा कूल खसेको मत ४१ हजार २०८ रहेको छ भने मुगुमा ३६ हजार ६०५ मतादाता सङ्ख्या रहेकोमा कूल खसेको मत २२ हजार १६८ रहेको छ । सबैभन्दा धेरै प्रतिशत मत खसेको हुम्लामा ३४ हजार ८०५ मतादाता सङ्ख्या रहेकोमा कूल खसेको मत २२ हजार ४६७ रहेको छ ।

मतगणनाको प्रतीक्षा

कर्णाली प्रदेशमा प्रतिनिधिसभा सदस्य चयनका लागि बिहिबार बिहान ७ बजेबाट सुरु भएको मतदान शान्तिपूर्ण तबरबाट सम्पन्न भएको छ । मतदान सम्पन्न भएसँगै कर्णालीका १० जिल्लाका १२ निर्वाचन क्षेत्रका मतपेटिका संकलन कार्य सुरु भएको प्रहरीले जनाएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायव महानिरीक्षक जयराज सापकोटाले शान्तिपूर्ण तबरबाट मतदान सम्पन्न भएसँगै एकीकृत निर्वाचन सुरक्षा योजनाअनुरुप मतपेटिका ढुवानीको कार्य सुरु भएको बताए ।

कर्णालीका सुगम जिल्लाका मतदानस्थलबाट गएराति नै मतपेटिका जिल्ला सदरमुकाम ढुवानी भइसकेका छन् । हिमाली जिल्ला हुम्ला, मुगु र डोल्पाका उत्तरी क्षेत्रका मतदानस्थलबाट मतपेटिका ढुवानी गर्न नेपाली सेनाको हेलिकोप्टर तयारीमा अवस्थामा राखिएको उनले बताए । बिहीबार मतपेटिका एकीकृत गरिने र शुक्रबार हेलिकोप्टरबाट जिल्ला सदरमुकाम ल्याइने उनले बताए ।

प्रहरीका अनुसार मतपेटिका संकलन भएपश्चात् सर्वदलीय बैठकपश्चात् शुक्रबार बिहानबाट मतगणना सुरु हुनेछ । हुम्लाका प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले चार मतदानस्थलबाट मतपेटिका ढुवानी गर्न नेपाली सेनाको हेलिकोप्टर तयारी अवस्थामा रहेका बताए । उनले मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा प्राप्त भएपश्चात् मतगणना सुरु हुने जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन २२ गते शुक्रबार