‘सुशासन र रोजगारीका लागि मतदान’



शाहपुर्वाकै सुखानी यादवले कम्मरमा पट्टि बाँधेकी थिइन् । उनले आफूले केही समयअघि मात्रै शल्यक्रिया गरेकोले अप्ठ्यारो भइरहेको बताएपछि उनलाई त्यहाँ खटिएका सुरक्षाकर्मीले पहिले पालो दिए । जाँदाजाँदै उनले छोटो कुराकानीमा स्वास्थ्य सेवा शुलभ हुने र गरिबलाई पनि अवसर पाइने आशले भोट हाल्न आएको बताइन् । उनले आफूले नेता छान्नलाई भोट हाल्न लागेको बाहेक अरु थाहा नभएको बताउँदै अब आउने नेताले गरिबलाई पनि हेर्ने आशा गरेको बताइन् ।

वीरेन्द्र जैसी । नेपालगन्ज ।

बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ४ शाहपूर्वामा रहेको श्री मावि शाहपुर्वा मतदानस्थलको बाहिरी गेटमा बिहानैदेखि मानिसहरू लाइनमा लागिरहेका थिए । उक्त लाइनमा ज्येष्ठ नागरिक र महिलाहरूको सङ्ख्या अधिक थियो । केही ज्येष्ठ नागरिकहरू लाइनमा लाग्न नसकेर सडक किनारमै बसिरहेका थिए । केही ज्येष्ठ नागरिकहरू लाइनमा धेरै समय बस्नुपरेकोले असहज भइरहेको बताइरहेका थिए ।

त्यही लाइनमा लागेकी शाहपुर्वाकै सुखानी यादवले कम्मरमा पट्टि बाँधेकी थिइन् । उनले आफूले केही समयअघि मात्रै शल्यक्रिया गरेकोले अप्ठ्यारो भइरहेको बताएपछि उनलाई त्यहाँ खटिएका सुरक्षाकर्मीले पहिले पालो दिए । जाँदाजाँदै उनले छोटो कुराकानीमा स्वास्थ्य सेवा शुलभ हुने र गरिबलाई पनि अवसर पाइने आशले भोट हाल्न आएको बताइन् ।

उनले आफूले नेता छान्नलाई भोट हाल्न लागेको बाहेक अरु थाहा नभएको बताउँदै अब आउने नेताले गरिबलाई पनि हेर्ने आशा गरेको बताइन्। सोही लाइनमा ४ महिने छोरा काखमा बोकेर लाइनमा लागेकी थिइन् डुडवा ४ कै जुवेदा शाह । उनले पनि नेता छान्न भोट हाल्न आएको बताउँदै गाउँको विकास गर्ने र युवाहरूलाई देशमै रोजगारी दिने नेता आओस् भन्ने चाहेको बताइन् ।

नेपालगन्ज वडा नम्बर ७ स्थित महेन्द्र मावि मतदानस्थलबाहिर भेटिएका युवा अभिशेष मगरले यसपटक परिवर्तनका लागि मतदान गरेको बताए । उनले राजनीतिले जनताका अपेक्षा पूरा गर्न नसकेपछि युवाहरूले आन्दोलन गर्नुपरेको र उनीहरूलाई सरकारले गोली ठोकेको आक्रोश आफूले मतपत्रमा पोखेको बताए ।

‘अब त देशमा परिवर्तन होस् । नयाँ नेताहरू आएमा देशमा सुधार होला कि भन्ने आशामा भोट हालेको छु । अब हामीजस्ता युवाहरूले आफ्नै देशमा रोजगारी पाउनुपर्छ,’ अभिशेषले भने । उनीसँगै रहेका साथीहरूले पनि आफूहरूले युवा उम्मेदवारलाई जिताउनकै लागि मतदान गरेको बताए । तर, मतदान गर्न युवा पुस्ताको अपेक्षित उपस्थिति नरहेको मतदाताहरूको बुझाइ थियो ।

धेरै युवाहरू परदेशमा रहेकोले उनीहरूको सङ्ख्या मतदानमा पनि कम देखिएको उनीहरूको भनाइ थियो । नेपालगन्ज २१ मा रहेको रामजानकी मन्दिर परिसरमा रहेको मतदानस्थलमा मतदान गर्न पुगेका सूर्यलाल पासीले गाउँमा नयाँ पुराना सबै दलका उत्तिकै मतदाता रहेको बताए । ‘यसपटक नयाँ पार्टीले पनि धेरै मत ल्याउँछजस्तो लाग्छ । तर पुराना दलका कार्यकर्ताहरू धेरै छन् ।

उनीहरूले आफ्ना मतदातालाई धेरै मिहिनेत गरेर फकाएका पनि छन् । हेरौँ कस्तो नतिजा आउँछ,’ पासीले भने । सूर्यलालले अब फेरि आन्दोलन नहुने र विकास नहुने आशाले आफूले भोट हालेको बताए । ‘गाउँमा केही विकास नभएको होइन,’ रिक्सा चालक रहेका उनले भने, ‘बाटो राम्रो बनेका छन् । पुलहरू पनि बनेका छन् । अझै बन्दैछन् । तर अब भ्रष्टाचार हुनुभएन । नेताहरूले गरिबलाई हेप्नुभएन ।’

नेपालगन्ज वडा नम्बर १२ स्थित नेपालगन्ज उपमहानगरपालिकाको कार्यालय परिसरमा रहेको मतदानस्थलबाहिर दिनभरी दलका नेता कार्यकर्ता तथा मतदाताहरूको जमघट भइरह्यो । पहिलेजस्तो गेटबाहिर लामो लाइन लागेर मतदाताहरू कुर्नुपरेन । गर्मी धेरै चढिसकेकोले मतदाताहरू आउने क्रम दिनभरजसो उस्तै किसिमले चलिरह्यो ।

त्यहाँ भेला भएका मतदाता तथा दलका कार्यकर्ताहरूले चुनावी मतपरिणाम अनुमान र दाबी पेश गरिरहेका थिए । पुराना दलका प्रतिनिधिहरूले नयाँ भनिएकाहरू झन् शंकास्पद रहेका र काम गर्न नसक्ने ठोकुवा गरिरहेका थिए भने कतिपयले यसपटक राजनीतिमा धेरै परिवर्तन आउने ठोकुवा गरिहेका थिए । उनीहरूले अबको सरकारको मुख्य काम भ्रष्टाचार विरुद्ध कडा कारबाही र सुशासन कायम गर्ने हुनुपर्ने बताइरहेका थिए ।

हरेकपटक नयाँ दललाई जिताउने बाँकेमा यसपटक कस्तो नतिजा आउला भन्ने चासो सर्वत्र रहेको महसुस गर्न सकिन्थ्यो । पूर्ण आत्मविश्वासका साथ कुनै पनि दलका प्रतिनिधिहरूले आकलन गर्न सकेको देखिएन । नेपालगन्जका ग्रामीण क्षेत्रका मतदान केन्द्रमा बिहानको समयमा धेरै मतदाताहरू मत खसाल्न पुगेका थिए भने सहरी क्षेत्रका केही मतदान केन्द्रमा बिहानै र केही मतदान केन्द्रमा खाना खाइसकेपछि धेरै मतदाताहरू मत दिन पुगेका थिए ।

यसपटक मतदाताहरूलाई मतदाता नम्बर खोज्न सहयोग गर्ने बाहनामा राजनीतिक दलहरूले टेन्ट राखेको अधिकांश मतदान केन्द्र आसपासमा देखिएन । केही मतदान केन्द्र आसपासमा राखिएका त्यस्ता टेन्टहरू नेपाली सेनालगायत सुरक्षाकर्मीहरूले हटाउन लगाएका थिए। नेपालगन्ज वडा नम्बर १ स्थित धम्बोझी मावि मतदानस्थल आसपासमा राखिएका टेन्ट र दलहरूका डेस्कहरू हटाउन खोज्दा सुरक्षाकर्मीसँग दलका प्रतिनिधिहरू बाझिरहेका देखिएका थिए ।

केही मतदानस्थल आसपासमा राजनीतिक दलहरूले नै भोजभतेर गरिरहेका थिए । त्यसरी भोजभतेर गर्नेहरूमा सबैजसो दलहरू रहेको पाइएको थियो । सुरक्षा व्यवस्थामा बाहिरी घेरामा रहेको सेनाको सक्रियता अघिल्ला निर्वाचनहरूमा भन्दा यसपटकको निर्वाचनमा बढी देखिएका मतदाताहरूले बताए । अहिलेको परिस्थितिमा सेनाको सक्रियता जरुरी रहेको पनि धेरै मतदाताहरूको धारणा थियो ।

कतिपय ठाउँमा मतदाताहरूले चेकजाँचका क्रममा अनावश्यक झन्झट गरिएको बताए । केही मतदान केन्द्रमा रूपैयाँका नोटहरू पनि चेकजाँच गरिएको भन्दै मतदाताहरूले असन्तुष्टि व्यक्त गरिरहेका थिए । यद्यपि क्रियापुत्रीदेखि ज्येष्ठ र अशक्त नागरिकहरूले पनि मतदानमा सहभागी भएका दृश्यले निर्वाचनप्रति नागरिकको विश्वास झल्काएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन २२ गते शुक्रबार