नन्दराम जैशी । सुर्खेत ।
आज देशभर प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । कर्णाली प्रदेशका सबै निर्वाचन बुथ मतदान प्रक्रियाका लागि तयारी अवस्थामा छन् भने कर्णालीका १० लाख बढी मतदाता उत्साहका साथ मतदानमा सहभागी हुँदैछन् । निर्वाचनको अन्तिम तयारी पूरा भएपछि कर्णालीका दुई हजार ३७८ वटै निर्वाचन बुथ चुनाव गराउन तयारी अवस्थामा रहेको प्रदेश निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ ।
कार्यालयका अनुसार सबै निर्वाचन बुथमा बिहीबार शान्तिपूर्ण रूपमा मतदान सम्पन्न हुने अपेक्षा गरिएको छ । ‘यस पटकको निर्वाचनमा मतदान गर्न उत्साहित छौँ । देशको निकासका लागि आफ्नो अमूल्य मत दिन आतुर छौँ,’ एक मतदाताले भने, ‘आफ्नो गोप्य मत आफूलाई मन पर्ने दलका उम्मेदवारलाई दिऊँ । मतदान प्रक्रियालाई शान्त र मर्यादित बनाउन सबैले आआफ्नो तर्फबाट भूमिका खेलौँ ।’
कर्णालीका १० जिल्लामा ९४१ मतदानस्थल र एक हजार ४३७ मतदान केन्द्र गरी कूल दुई हजार ३७८ वटा निर्वाचन बुथ निर्धारण गरिएको छ । सबै मतदानस्थलमा निर्वाचन सामग्रीसहित कर्मचारी तथा सुरक्षाकर्मीको टोली मंगलबारभित्रै सुरक्षित रूपमा पुगिसकेको छ । प्रदेश निर्वाचन अधिकारी लालबहादुर गुरुङले सुरक्षासहित निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुने विश्वास लिइएको बताए ।
उनका अनु्सार सबै मतदान केन्द्रमा खटिएका निर्वाचन अधिकृतलगायत कर्मचारीले सरोकारवाला निकायसँग सर्वदलीय, सर्वपक्षीय बैठक बसेर मतदान प्रक्रियाको काम अघि बढाएका छन् । सुरक्षाको दृष्टिले कर्णालीका ३५९ मतदानस्थल अतिसंवेदनशील, ४२२ संवेदनशील र १६० सामान्य रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक जयराज सापकोटाले बताए ।
कर्णालीमा यस पटक कूल १० लाख ३७ हजार २५० मतदाता रहेका छन् । तीमध्ये पाँच लाख २७ हजार ६८६ पुरुष, पाँच लाख ९ हजार ३६१ महिला र अन्य तीन जना छन् । गत २०७९ को निर्वाचनको तुलनामा एक लाख २८ हजार ८१७ मतदाता थपिएका हुन् । कर्णालीमा १२ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा १३२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । सुर्खेत र दैलेखमा दुई–दुई तथा अन्य आठ जिल्लामा एक–एक निर्वाचन क्षेत्र कायम गरिएको छ । ५४ गाउँपालिका र २५ नगरपालिका रहेको कर्णालीमा आजको मतदानलाई शान्तिपूर्ण र मर्यादित रूपमा सम्पन्न गराउन सबै निकाय सक्रिय रहेका छन् ।
बिरामीको उद्धारदेखि हवाई गस्ती
डोल्पा जिल्लाको माथिल्लो क्षेत्रमा पर्ने मतदान केन्द्रमा खटिएका बिरामी कर्मचारीहरुको उद्धार गरिएको छ । जिल्लाको शे–फोक्सुण्डो गाउँपालिका–६ फोतगाउँस्थित वडा कार्यालय भवनमा रहेको मतदान केन्द्रमा खटिएका पाँचजना कर्मचारी चिसो मौसम र अक्सिजनको कमीका कारण बिरामी परेका थिए ।
उनीहरुलाई नेपाली सेनाको हेलीकप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ । प्रशासनका अनुसार निर्वाचनको लागि फोतगाउँ मतदान केन्द्रमा खटिएका जिल्ला अदालतका सहायक कर्मचारी (डिठ्ठा) गोर्खबहादुर थापा र साल्ट ट्रेडिङ कर्पोरेसनका कार्यालय सहयोगी धनबहादुर महतरालाई उद्धार गरिएको हो ।
यस्तै तीन निर्वाचन प्रहरी कृष्ण झाँक्री, आत्मराम बोहोरा र इन्द्रमान धरलालाई लेक लागेसँगै ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने, बान्ता हुने तथा श्वासप्रश्वासमा समस्या भएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । उद्धारपश्चात् उनीहरुलाई जिल्ला अस्पताल डोल्पामा उपचार भइरहेको छ । उक्त मतदान केन्द्र जिल्ला सदरमुकाम दुनैबाट पैदल करिब ६ दिनको दूरीमा पर्ने अत्यन्त दुर्गम स्थानमा रहेकाले तत्काल स्वास्थ्य सेवा पु¥याउन कठिनाइ भएपछि उद्धार गरिएको बताइएको छ ।
निर्वाचनको लागि उनीहरुलाई हेलिकप्टरमार्फत मतदान केन्द्रमा पु¥याइएको थियो । उक्त मतदान केन्द्रमा ४० मतदाता छन् । मतदान केन्द्रमा खटाइएका कर्मचारी बिरामी परेपछि उक्त मतदान केन्द्रमा आवश्यक वैकल्पिक व्यवस्था मिलाएर निर्वाचनको तयारी गरिएको छ । यसैबीच डोल्पामा निर्वाचन स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्था कडा पारिएको छ ।
जिल्लाभर शान्ति सुरक्षा कायम राख्न नेपाली सेनाले हवाई गस्ती सञ्चालन गरेको संग्राम शार्दल गुल्मका गुल्मपति हरीश शाहीले जानकारी दिए ।
डोल्पा मात्र नभई सम्भावित जोखिमलाई मध्यनजर गर्दै कर्णालीका सबै जिल्लाका संवेदनशील तथा अतिसंवेदनशील मतदानस्थलहरूमा हवाई गस्तीमार्फत निगरानी बढाइएको उत्तरपश्चिम पृतना हेडक्वाटर सुर्खेतले जानकारी दिएको छ ।
आयोगको टोली हुम्लामा
प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अनुगमनका लागि राष्ट्रिय मानवअधिकार आयोगको टोली हुम्ला आइपुगेको छ । निर्वाचन पर्यवेक्षण तथा अनुगमनका लागि काठमाण्डौँदेखि हुम्ला जिल्ला पुगेको हो । मंगलबार उक्त टोलीले जिल्लाका विभिन्न संघसंस्थाबाट खटिएका पर्यवेक्षक र पत्रकारहरूसँग छलफल गरेका छन् ।
राष्ट्रिय मानवअधिकार आयोगका मानवअधिकार अधिकृतद्वय योसोदा बन्जाडे र सुप्रिया गुप्ता हुम्लामा पुगेलगतै जिल्लाको बस्तुस्थिती बुझेका छन् । उनीहरुले निरन्तर रुपमा जिल्लाको निर्वाचन परिस्थिति बुझेपछि जिल्लाका पर्यवेक्षकहरूसँग पनि समीक्षा गरेका छन् । निर्वाचन आयोगले विभिन्न संघसंस्थाहरूलाई निर्वाचन पर्यवेक्षणको अनुमति दिएसँगै हुम्लामा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), नियोग, मानवअधिकार हुरोन, गैसस महासंघ र इओसि नामक संस्थाहरूले पर्यवेक्षण गर्ने अनुमति पाएका हुन् ।
सोहीअनुसार आयोगले जिल्लाका पर्यवेक्षणहरूसँग निर्वाचनअघि, निर्वाचनको दिन र निर्वाचनपछि हुने गतिविधिका विषयमा छलफल गरिएको थियो । विगतको निर्वाचन हेर्दा अधिकांश मतदान केन्द्रमा स्वतन्त्र रुपमा मतदान गर्न नपाएको, विभिन्न पार्टीहरूले बालबालिका प्रयोग गरेको, सरकारी सवारीसाधन प्रयोग गरेको र प्रत्येक मतदाताहरूले आफ्नो मताधिकार प्रयोग गर्न नपाएको विषयमा समीक्षा गरिएको थियो ।
विगतका गतिविधिलाई मध्यनजर गर्दै यो निर्वाचनमा पनि कुनै अप्रिय घटना नहोला भन्न नसकिएला तर पनि यो पटकको निर्वाचन शुसम्पन्न गराउनमा राज्य र गैरराज्य पक्ष सबैको अहम् भूमिका रहेको छलफलमा उठेको विषय हो । जिल्लाका हरेक मतदान केन्द्रमा पर्यवेक्षण गर्ने क्रममा पर्यवेक्षकहरूलाई सहज रुपमा पर्यवेक्षण गर्न नदिएको, भौगोलिक विकटताका आधारमा हुम्लामा पर्यवेक्षण गर्न असहज भएको लगायतका विषयमा आयोगका अधिकृतहरूसँग पर्यवेक्षकहरूले गुनासो दर्शाएका थिए ।









प्रतिक्रिया दिनुहोस्