६१ स्थानका मतपेटिका हेलिकोप्टरबाट गणनास्थलमा पुर्‍याइने



काठमाडौँ । 

निर्वाचन आयोगले बिहीबार हुने मतदानपछि दुर्गम क्षेत्रका मतपेटिका हेलिकोप्टरबाट गणनास्थलमा पुर्‍याउने जनाएको छ । चुनावको पूर्वसन्ध्यामा बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोगले यस्तो जानकारी दिएको हो ।

आयोगका सचिव कृष्णबहादुर राउतले १५ जिल्लाका ६१ स्थानबाट हेलिकोप्टरबाट मतपेटिका संकलन गरी गणनास्थलमा पुर्‍याउने जानकारी दिए ।

‘१५ जिल्लाका ६१ स्थानबाट ताप्लेजुङदेखि दार्चुलासम्मका मतदानपछिका ब्यालेट बक्स हेलीबाट संकलन हुन्छ,’ उनले भने, ‘अरू मतपेटिका भने सवारी साधनबाट संकलन हुन्छ । त्यसका लागि ढुवानीको रकम जिल्ला निर्वाचन कार्यालयमा पठाइएको छ ।’

यसअघि हुम्ला र डोल्पाका अति दुर्गम २७ स्थानमा हेलिकप्टरमार्फत मतपत्र, कर्मचारी र सुरक्षाकर्मी पुर्‍याइसकिएको निर्वाचन आयोगका सचिव राउतले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन २० गते बुधबार