नन्दराम जैशी । सुर्खेत ।
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै कर्णालीका दुर्गम जिल्ला डोल्पा र हुम्लामा हेलिकप्टरमार्फत निर्वाचन सामग्री ढुवानी गरिँदै छ । भौगोलिक विकटता, सडक सञ्जालको अभाव र प्रतिकूल मौसमका कारण ती जिल्लाका उच्च हिमाली तथा दुर्गम मतदान केन्द्रमा हवाई माध्यमबाट निर्वाचन धमाधम निर्वाचन सामग्री पठाउन लागिएको छ ।
निर्वाचनसम्बन्धी मतपत्र, मतपेटिका, मतदान अधिकृतका कागजात, सुरक्षासम्बन्धी सामग्री तथा आवश्यक उपकरणहरू र निर्वाचनमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीलाई सुरक्षित रूपमा सम्बन्धित केन्द्रसम्म पु¥याउन हेलिकप्टर प्रयोग गरिएको हो । जिल्ला निर्वाचन कार्यालयहरूका अनुसार विशेषगरी हिमाली क्षेत्रका बस्तीहरूमा सडक पहुँच नहुँदा पैदल वा खच्चडमार्फत सामग्री ढुवानी गर्न समय लाग्ने भएकाले समयमै मतदान केन्द्रमा सामग्री पु¥याउन हवाई माध्यम रोजिएको हो ।
सुरक्षाकर्मी र कर्मचारीसमेत आवश्यकताअनुसार हेलिकप्टरमार्फत खटाइएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार ती जिल्लाका संवेदनशील र अतिसंवेदनशील मतदान केन्द्रमा थप सुरक्षा व्यवस्था मिलाइएको छ । निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र व्यवस्थित रूपमा सम्पन्न गर्न सुरक्षा निकायले विशेष योजनाअनुसार जनशक्ति परिचालन गरेको जनाएको छ ।
निर्वाचन आयोगले दुर्गम क्षेत्रका सबै मतदान केन्द्रमा समयमै सामग्री पु¥याइ सहज मतदान वातावरण सुनिश्चित गर्ने तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ । यसैबीच हिमाली जिल्ला डोल्पामा निर्वाचन सामग्री ढुवानीका लागि दुई हेलिकप्टरको प्रयोग गरिएको छ । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पाका २३ मतदान केन्द्रमा मतपत्र, मतपेटिका, सुरक्षाकर्मी तथा कर्मचारी ढुवानीका लागि एकैपटक दुई हेलिकप्टर परिचालन गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी जुनु हमालका अनुसार निर्वाचन सफल बनाउन नेपाली सेना र निजी एयर कम्पनीको श्री एयरको हेलिकप्टरमार्फत माथिल्लो डोल्पामा निर्वाचन सामग्री ढुवानी भइरहेको छ । ‘माथिल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिका–धोमा निर्वाचन सामग्रीसहित कर्मचारी, सुरक्षाकर्मी ढुवानी गरिएको छ । अन्य स्थानमा पनि ढुवानीको काम जारी छ,’ उनले भनिन्, ‘दुवै हेलिकप्टर सदरमुकाम दुनैमा तयारी अवस्थामा राखिएका छन् । आइतबार बिहानैदेखि सम्भव भएका स्थानमा उडान सुरु भइरहेका छन् ।’
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उपल्लो डोल्पामामात्र २३ उडानको कार्यतालिका छ । जिल्लाभर स्थायी र अस्थायी गरी कूल ७० मतदान केन्द्र रहेका छन्, भने ३८३ कर्मचारी खटाइएका छन् । एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको डोल्पामा कूल २४ हजार ११५ मतदाता रहेका छन् । जसमा महिला १२ हजार १८७ र पुरुष ११ हजार ९२८ छन् ।
निर्वाचनका लागि डोल्पामा ६ जना उम्मेदवार चुनावी मैदानमा छन् । जसमा नेपाली कम्युनिष्ट पार्टीबाट धनबहादुर बुढा, नेकपा एमालेबाट लंकबहादुर रोकाय, नेपाली काँग्रेसबाट कर्णबहादुर बुढा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट देवसिंह ऐडी र स्वतन्त्रबाट ओमेन्द्रबहादुर केसी उम्मेदवार छन् । यसैबीच प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार विकास बुढाले एमालेसँग तालमेल गरिसकेका छन् भने उज्याले नेपाल पार्टीका दिलबहादुर बिष्ट र मितेरी नेपाल पार्टीका जुनु भण्डारी यसअघि नै काँग्रेस प्रवेश गरिसकेका छन् ।
हेलिकै भरपर्नुुपर्ने बाध्यता
हिमाली जिल्ला हुम्लाका चार वटा मतदान केन्द्रमा मतदान कार्यका लागि खटिएका कर्मचारी र मतपत्रलगायत सामग्री हेलिकोप्टरबाट ढुवानी गर्नुपर्ने बाध्यता छ । ती चार वटै मतदान केन्द्रमा हिमपातले यातायात सेवा अवरुद्ध भएको कारण कर्मचारी र मतपत्र लगाएतका निर्वाचन सामाग्री हेलिकोप्टरबाट ढुवानी गर्नुपर्ने भएको हो ।
निर्वाचनका लागि हुम्ला जिल्लाका चार वटा मतदान केन्द्रमा खटिने कर्मचारी, सुरक्षाकर्मी, मतपत्रलगायत अन्य मतदान सामग्री हेलिकोप्टरबाट ढुवानी गर्नका लागि निर्वाचन आयोगलाई गरिएको अनुरोध आयोगले सदर गरेको छ । प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीका अनुसार आयोगको यो अनुमतिले नाम्खा गाउँपालिका चार वटा मतदान केन्द्रमा खटिने कर्मचारी, मतपत्र लगायतका सामाग्रीहरू हेलिकोप्टरले ढुवानी गर्नेछ ।
यसरी हेलिकोप्टरले मतदान केन्द्रमा सेवा दिने स्थानहरूमा नाम्खा गाउँपालिका– ६ को हिमालपारीको गाउँ लिमीका तीन वटा भृकुटी आवि जाङ, सुनखानी आवि हल्जी, हिमशिखर आवि तील र गाउँपालिका–४ को हिमालय आवि चाला मतदान केन्द्र रहेका छन् । यहाँका मतदातासमेत हेलिकोप्टरले ओसार्नुपर्ने अवस्था आएको छ ।
लिमी जाने दुई वटा नाकाहरू नारा र न्यालु लेकको सडकमा हिउँ जमेको कारण बन्द भएको कारण आयोगले हेलिकोप्टरको प्रयोग गर्न लागेको प्रजिअ रेग्मीले जानकारी दिए । त्यसैगरि चाला जाने बाटोमा पनि हिउँ जमेर घोडेटो बाटो अवरुद्ध भएकोले पनि सो मतदान केन्द्रमा पनि हेलिकोप्टरको ब्यवस्था गर्न लागिएको छ ।
सडक खुलाउने काम सुरु
भौगालिक कारणले लिमी क्षेत्रका मतदान केन्द्रलाई जिल्ला सुरक्षा समितिले अतिसंवेदनशील स्थलका रूपमा राखेको छ । लिमीको सुनखानी आवि मतदान केन्द्र हल्जीमा २९३, भृकुटी आवि मतदान केन्द्र जाङमा २४७, हिमशिखर आवि तीलमा १३२ र हिमालय आवि चालामा १५९ मतदाता रहेका छन् । हाल यीमध्ये लिमीका तीन वटै मतदान केन्द्रमा २० प्रतिशत मतदाता मात्रै गाउँमा छन् । बाँकी मतदाता काठमाडौँ, चीनको ताक्लाकोट, देशका अन्य सहरमा छन् ।
ती मतदाताहरू लिमी फर्किन चाहेमा आउजाउ गर्न सहजताका लागि सडक खुलाउने प्रयास सुरु गरिएको छ । गत माघ दोस्रो साता परेको हिमपातपछि अवरुद्ध बनेको हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–५ हिल्सा सडक खण्ड र वडा–६ मा पर्ने न्यालु सडक खुलाउनका लागि काम सुरु भएको हो । सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रकुमार चन्दले हिउँ जमेर सडक बन्द हुँदा सर्वसाधरणदेखि सवारीसाधन बन्द हुँदै आएको बताए ।
उनका अनुसार हिल्सा सडक खुलाउन हिल्सा सिमकोट सडक आयोजनाले स्काभेटर काममा लगाइसकेको छ । यस्तै वडा नम्बर ६ को लिमी गाउँ जाने सडक नाम्खा गाउँपालिका र पूर्वधार विकास कार्यालयले दुई वटा स्काभेटर परिचालन गरिसकेको लिमीका वडाध्यक्ष पाल्जोर तामाङले बताए । यता गत असारबाट हुम्ला जिल्लाको सदरमुकाम सिमकोट औपचारिक रूपमा राष्ट्रिय सडक सञ्जालसँग जोडिए पनि यस पटकको निर्वाचनमा खटिने कर्मचारीहरूमध्ये केही मतदान केन्द्रमा ६ घण्टा हिँड्नुपर्ने बाध्यता यथावत छ ।
त्यस्ता मतदान केन्द्र दुई वटा छन् । यसमा ताँजाकोट गाउँपालिका– ३ को बानादेव आवि मतदानस्थल मासपुर र चंखेली गाउँपालिका–५ को डाँफे आवि मतदान केन्द्र नेप्का रहेका छन् । ताँजकोट गाउँपालिकाको कवाडीबाट मासपुर पुग्न ६ घण्टा समय लाग्छ भने चंखेली गाउँपालिकाको केन्द्र पिप्लाङबाट नेप्का पुग्न पनि ६ घण्टा समय लाग्छ ।









प्रतिक्रिया दिनुहोस्