
गृहमन्त्री ओमप्रकाश अर्याल निर्वाचन लक्षित सुरक्षा व्यवस्थाका अनुगमन गर्न पश्चिम नेपालको भ्रमणमा आएका छन् । गृहसचिव राजकुमार श्रेष्ठसहित आएका गृहमन्त्री अर्यालले नेपालगन्ज हुँदै सुदुरपश्चिम तथा कर्णालीका विभिन्न जिल्लामा पुगेर सुरक्षा व्यवस्थाका बारेमा जानकारी लिएका हुन् । त्यसक्रममा नेपालगन्ज विमानस्थलमा पत्रकारहरुसँग गृहमन्त्री अर्यालले निर्वाचन शान्तिपूर्ण वातावरणमा हुने अवस्था रहेको स्पष्ट पारेका थिए । पूर्वतिरका जिल्लामा पनि पुगेर सुरक्षा अवस्थाका बारेमा जानकारी लिएको बताउँदै गृहमन्त्री अर्यालले अहिले देशभरी नै निर्वाचनको वातारण रहेको बताए । उनले नेपालगन्ज विमानस्थलमै बाँकेको सुरक्षा अवस्थाका बारेमा जानकारी लिएका थिए ।
त्यसक्रममा उनले बाँकेमा प्रशासन, निर्वाचन अधिकृत र प्रहरी सबैले आउनसक्ने चुनौतिहरुलाई पनि ध्यानमा राखेर सुरक्षा शतर्कता अपनाइएको बताए । उनले चाडबाडलाई पनि सुरक्षित बनाउन प्रशासनले सावधानी अपनाएको पाएको पनि बताए ।
बाँके जिल्लामा धार्मिक सहिष्णुताका राम्रा पक्षहरु पनि रहेको बताउँदै गृहमन्त्री अर्यालले कहिलेकाहीँ गलत तत्वले परिस्थिति नै भड्काउन खोजेमा बेलैमा पहिचान गरेर रोकथाम गर्ने, नियन्त्रणमा लिने र कानुनी कारबाही गर्नेमा प्रशासन अपडेट रहेको र तयारी अवस्थामा रहेको जानकारी दिए ।
गृहमन्त्री अर्यालले केही समूहहरुले निर्वाचन हुन नदिने भनेको कुरा आएकोमा त्यस्ता समूहमा संलग्नलाई पहिचान गर्ने र नियन्त्रणमा लिने काम भइरहेको पनि उनले बताए । उनले हिमाली जिल्लामा पनि निर्वाचनका लागि कुनै समस्या नरहेको बताउँदै दार्चुलामा अस्थायी बसाइसराई गरी मानिसहरु आएका ठाउँमै मतदान गर्ने व्यवस्था मिलाइएको र अन्य केन्द्रहरु समस्या नरहेको बताए । उनले सबै मतदान केन्द्रमा कर्मचारी र सामग्रीहरुमसेत पुगिसकेको जानकारी दिए ।
भदौ २३ र २४ गतेको घटनाको छानबिन गर्न गठित आयोगले प्रतिवेदन नबुझाएको सम्बन्धमा सन्चारकर्मीको जिज्ञासाको जवाफ दिँदै गृहमन्त्री अर्यालले समय मागेकोले सरकारले समय थपेको बताए । उनले भने,‘धेरै ठूलो घटना घटेको हो । त्यसभित्र गहन अध्ययन हुनुपर्ने भएको हुनाले स्वयं आयोगले माग गरेको समय नेपाल सरकारले थप गरेको हो ।’
नेपालगन्जपछि गहृमन्त्री अर्याल पहाडी जिल्लाको अवस्थाका बारेमा जानकारी लिन त्यसतर्फ गएका छन् ।









प्रतिक्रिया दिनुहोस्