
अमेरिकी र इजरेली आक्रमणबाट इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको मृत्यु भएको छ । इरान राज्यको टेलिभिजन लगायत अन्तराष्ट्रिय सन्चार माध्यमहरुले सर्वोच्च नेता खामेनीको मृत्यु भएको र ४० दिन शोकको घोषणा भएको जानकारी दिएका हुन् । खामेनीको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।
समाचारअनुसार खामेनी आफ्नो कार्यालयमा ‘आफूलाई तोकिएको जिम्मेवारी पूरा गरिरहँदा’ शनिबार बिहान सबेरै मारिएका थिए ।
८६ वर्षीय खामेनी सन् १९८९ देखि इस्लामिक गणतन्त्र इरानका संस्थापक आयतुल्लाह रुहोल्लाह खोमेनीको उत्तराधिकारीका रूपमा सर्वोच्च् नेताको पद सम्हालेका थिए । खोमेनीले निर्वासनबाट फर्केर सन् १९७९ को इस्लामिक क्रान्तिको नेतृत्व गरेका थिए जसले अमेरिकाका सहयोगी शासक शाह मोहम्मद रेजा पहलवीलाई सत्ताच्युत गरेको थियो ।
खामेनीसँग सरकारका सबै निकाय, सेना र न्यायपालिकामाथि अन्तिम अधिकार रहन्छ । यसका साथै उनले देशको सर्वोच्च आध्यात्मिक नेताका रूपमा पनि भूमिका निर्वाह गर्छन् ।
आफ्नो शासनकालमा खामेनीले पश्चिमा देशहरूसँगको शत्रुतापूर्ण सम्बन्धको सामना गरे भने कडा आर्थिक प्रतिबन्ध र स्वदेशभित्रै अर्थव्यवस्था तथा अधिकारका विषयमा भएका कैयौँ चरणका विरोध प्रदर्शन झेलेका थिए । विरोध प्रदर्शनका क्रममा खामेनीले हजरौँ नागरिकहरुको ज्यान लिएको आरोप छ ।
अमेरिका र इजरायललाई इरानको पहिलो शत्रुका रूपमा घोषणा गरेका खामेनीले लामो समयदेखि इरानले कहिल्यै पनि आणविक हतियार नबनाउने र आफ्नो आणविक कार्यक्रम विशुद्ध नागरिक प्रयोजनका लागि मात्र भएको बताउँदै आएका थिए ।
अमेरिकी गुप्तचर निकाय र संयुक्त राष्ट्र सङ्घको आणविक वाचडग (आइएइए) पनि इरानले आणविक हतियार निर्माणको प्रयास गरिरहेको कुनै प्रमाण फेला पारेका छैनन् । यद्यपि, इजरायल र ट्रम्प प्रशासनका केही सदस्य भने इरानले आणविक हतियार बनाउन खोजिरहेको दाबी गर्दै आएका छन् ।









प्रतिक्रिया दिनुहोस्