नन्दराम जैशी । सुर्खेत ।
प्रतिनिधिसभा सदस्य निर्वाचन आउन अब चार दिन मात्रै बाँकी छ । निर्वाचन नजिकिँदै जाँदा जिल्लाबाहिर तथा भारतका विभिन्न सहरमा रहेका मतदाता गाउँ फर्किन थालेका छन् । रोजगारी र अध्ययनका सिलसिलामा जिल्लाबाहिर रहेका कर्णाली प्रदेशका मतदाताहरू मतदानमा सहभागिता जनाउन धमाधम घर फर्किन थालेका हुन् ।
मतदाताहरू गाउँ फर्किन थालेपछि यहाँका बजार, यातायात सेवा तथा गाउँघरमा चहलपहल पनि बढेको छ । निर्वाचनलाई लक्षित गर्दै विशेषगरी युवा मतदाता घर फर्किन थालेका हुन् । भारतको दिल्ली, पञ्जाब, उत्तराखण्डलगायत क्षेत्रमा श्रम गरिरहेका जुम्लाका युवाहरू केही दिनअघिदेखि नै घरतर्फ थालिसकेका थिए । उम्मेदवार र राजनैतिक दलहरूले पनि मतदातालाई समयमै गाउँ फर्किन आग्रह गरेपछि घर आएको जुम्ला सिँजाका अर्जुन रावलले बताए ।
‘दसैँतिहार सकिएलगत्तै रोजगारीको खोजीमा भारतमा गएका थियौँ । निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्न गाउँ फर्किएका छौँ,’ उनले भने, ‘रोजगारीका लागि भारतका विभिन्न सहर पुगेका अन्य युवाहरू पनि घर फर्किन थालेका छन् । गाउँघरमा चुनावी चहलपहल पनि बढेको छ ।’ उनका अनुसार जुम्लाका ग्रामीण भेगबाट ठूलो सङ्ख्यामा नागरिक कामको सिलसिलामा बाहिरिने प्रचलन छ ।
विशेषगरी सिँजा क्षेत्रअन्तर्गतका हिमा गाउँपालिका, सिँजा गाउँपालिका र कनकासुन्दरी गाउँपालिकाबाट हरेक वर्ष हजारौँ युवा व्यापार, मजदुरी तथा अन्य रोजगारीका लागि जिल्लाबाहिर जाने गर्छन् । गाउँमा सीमित रोजगारीका अवसर, कृषि उत्पादनमा निर्भरता र आयआर्जनको अभावका कारण ‘कालापहाड’ जाने चलन वर्षौँदेखि कायम छ । हिमा गाउँपालिकाका स्थानीय प्रयाग आचार्यका अनुसार कामको सिलसिलामा जिल्लाबाहिर बसेका नागरिक अहिले मतदान गर्न गाउँ फर्किरहेका छन् ।
निर्वाचन नजिकिँदै जाँदा बाहिर रहेका युवा धमाधम फर्किरहेको उनले जानकारी दिए । ‘पहिले गाउँमा महिला, बालबालिका र ज्येष्ठ नागरिक मात्र देखिन्थे, अहिले फेरि गाउँमा चहलपहल बढेको छ । मतदाता फर्किएसँगै गाउँ गाउँमा चुनावी माहोल तातेको छ,’ उनले भने, ‘उम्मेदवारले घरदैलो अभियानलाई पनि तीव्र दिएका छन् । पहिले गाउँकेन्द्रित सभा, कोणसभा र आमसभामा केन्द्रित प्रचार अहिले घरदैलो भेटघाटमा सीमित छन् ।’
दलका प्रतिनिधि र उम्मेदवार बिहानैदेखि साँझसम्म मतदाताको घरदैलोमा पुगेर आफ्ना एजेन्डा प्रस्तुत गरिरहेका छन् । स्थानीयका अनुसार मतदाता यस पटक निकै सचेत र उत्साहित देखिएका छन् । उनीहरू विकास, रोजगारी, सडक, शिक्षा र स्वास्थ्यका विषयमा स्पष्ट धारणा राख्दै उम्मेदवारसँग प्रत्यक्ष प्रश्नसमेत गरिरहेका छन् । विगतमा दिएको प्रतिबद्धता पूरा भए÷नभएको विषयमा समेत मतदाताले चासो देखाउन थालेका छन् ।
जुम्लामा एक नगरपालिकासहित सात गाउँपालिकाका ६० वटै वडाका नागरिक रोजगारीको खोजीमा कालापहाड जाने प्रचलन छ । विशेषगरी युवापुस्ता भारतका विभिन्न सहरमा मजदुरी तथा व्यापारमा संलग्न हुने गरेका छन्, तर निर्वाचनजस्तो महत्वपूर्ण लोकतान्त्रिक प्रक्रियामा सहभागी हुन उनीहरू घर फर्कन थालेका हुन् ।
तिला गाउँपालिकाका देवबहादुर थापाका अनुसार यस पटक जिल्लामा विकास निर्माणलाई गति दिने, रोजगारी सिर्जना गर्ने र सबै समुदायलाई समेटेर अघि बढ्ने नेतृत्व चयन गर्नुपर्ने आवश्यकता रहेको छ । ‘काम गर्न सक्ने, इमानदार र सबैलाई मिलाएर लैजाने जनप्रतिनिधि चाहिएको छ,’ उनले भने, ‘मजदुरीकै भरमा जीवनयापन गरिरहेको भए पनि छोराछोरी र नातिनातिनाको भविष्य राम्रो होस् भन्ने आशाका साथ मतदान गर्न घर फर्किएका छौँ ।’
उम्मेदवार घरदैलोमा सक्रिय
निर्वाचन नजिकिँदै जाँदा कर्णाली प्रदेशमा मतदाता गाउँ नफर्किने चिन्ता बढेपछि उम्मेदवारहरू मतदाता रिझाउन घरदैलो अभियानमा व्यस्त छन् । कर्णालीका १२ निर्वाचन क्षेत्रबाट १३२ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । दल तथा स्वतन्त्र उम्मेदवारहरू घरदैलो, कोणसभा, टोलभेला र सामाजिक सञ्जालमार्फत मतदाता रिझाउने अभियानमा सक्रिय छन् ।
तर उम्मेदवारहरूका अनुसार कर्णालीका अधिकांश घरपरिवारमा कम्तीमा एक सदस्य रोजगारीका लागि बाहिर रहेको अवस्था छ । विशेषगरी ठूलो सङ्ख्यामा युवा भारत तथा अन्य सहरतर्फ गएका छन् । प्रदेशमा कूल ९४१ मतदानस्थल र एक हजार ४३७ मतदान केन्द्र तोकिएका छन्। प्रदेशभर १० लाख ३७ हजार २५० मतदाता रहेका छन् । १० जिल्लाका ३५१ मतदानस्थलअन्तर्गत ४४१ मतदान केन्द्रलाई अतिसंवेदनशील सूचीमा राखिएको छ ।
तर भारतका विभिन्न सहर तथा चीनको ताक्लाकोट पुगेका हुम्लाका मतदाताले पनि फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गाउँ फर्किने चासो नदेखाएको स्थानीय बताउँछन् । यस्तै हुम्लाको नारा लेकको हिउँले लिमी नाका बन्द भएका कारण मतदाता गाउँ पुग्नै सकस छ । रोजगारी तथा कामको सिलसिलामा त्यहाँ पुगेको मतदाता समयमै जिल्ला नफर्किने चिन्ता व्यक्त हुन थालेको हो ।
निर्वाचन आउन अब चार दिन मात्र बाँकी रहँदासम्म पनि हालसम्म दुवै देशमा रोजगारीका लागि गएका स्थानीय मतदाता नफर्किएपछि स्थानीयवासी र उम्मेदवारहरू चिन्तित बनेका छन् । ‘गत कात्तिक–मंसिर महिनामा भारतका विभिन्न सहरमा काम गर्न गएका हुम्लाका धेरै मतदाता हालसम्म फर्किएका छैनन्,’ अदानचुली गाउँपालिका–४ का हिक्मत सिंहले भने, ‘हाम्रो गाउँपालिकाका ६ वटै वडाबाट गरी एक हजार ६ सयभन्दा बढी बेरोजगार युवायुवती भारतका विभिन्न सहरमा काम गर्न गएका छन् । हालसम्म उनीहरू नफर्किएकाले निर्वाचनमा मतदान गर्न नपाउने अवस्था सिर्जना हुनसक्छ ।’
यस्तै अदानचुली गाउँपालिकामा चार हजार ८८९ मतदाता रहेका छन् । यीमध्ये अधिकांश जिल्लाबाहिर रहेको उल्लेख छ । यता ताँजाकोट गाउँपालिका–३ का जगतबहादुर शाहीले आफ्नो गाउँपालिकाबाट करिब दुई सय मतदाता भारतको गोरखपुर, लखनउ लगायतका सहरमा काम गर्न गएको जानकारी दिए । तर उनीहरू हालसम्म नफर्किएको उनको भनाइ छ ।
हुम्लाकै चंखेली गाउँपालिकाबाट पनि करिब दुई सय युवा भारतमा काम गर्न गएको र हालसम्म फिर्ता नभएको गाउँपालिका–४ की सीता शाहीले जानकारी दिइन् । नाम्खा गाउँपालिका–१ का प्रेमबहादुर लामाका अनुसार हाल ताक्लाकोटमा सिमकोट र नाम्खाबाट गरी दुई सयभन्दा बढी मतदाता रहेका छन् । ती सबै गत जेठ–असार महिनामा त्यहाँ गएका हुन् र निर्वाचनअघि फर्कने सम्भावना न्यून रहेको उनले बताए ।
जिल्लाका सातमध्ये पाँच गाउँपालिकाबाट करिब तीन हजार बढी मतदाता भारत र चीनको ताक्लाकोटमा रोजगारीका लागि रहेका कारण मतदानबाट वञ्चित हुने अवस्था देखिएको छ । हुम्लामा यसपटकको निर्वाचनका लागि कूल मतदाता सङ्ख्या ३४ हजार ३७२ रहेको छ । ठूलो सङ्ख्यामा मतदाता बाहिर रहनु राम्रो संकेत नभएको उम्मेदवारहरूको भनाइ छ ।








प्रतिक्रिया दिनुहोस्