‘अघिल्लो पटककै जस्तो मतले जित्छु भन्ने विश्वास छ’



म कुनै लहडको आन्दोलनबाट आएको नेता पनि होइन, कुनै नेपोकिड, पारिवारिक पृष्ठभूमिबाट बाउबाजेको नामबाट राजनीति गर्न आएको पनि होइन । त्याग तपस्या र समर्पण गरेर यहाँसम्म आएको हो । मेरोबारेमा गहिराइमा गएर बुझेर मतदान गरिदिन मेरो आग्रह छ ।

              ऋषिराज देवकोटा, बाँके निर्वाचन क्षेत्र नम्बर २ राप्रपाका उम्म्देवा

बाँके क्षेत्र नम्बर २ मा यसअघि राप्रपाकै डा. धवलशमशेर राणा निर्वाचित भएको क्षेत्र हो । अहिले उहाँले दोहो¥याएर उम्मेदवारी नदिएर तपाईँलाई अघि सार्नुभएको छ । कस्तो पाउनुभयो मतदाताको तपार्इँप्रतिको धारणा ?

राम्रै छ । बाँके क्षेत्र नम्बर २ राप्रपाको बलियो संगठन भएको क्षेत्र पनि हो । यहाँका मतदाताहरू बढीभन्दा बढी धर्म र राजाको पक्षमा जनमानस छ । यहाँ राजावादी, हिन्दुवादी तथा राष्ट्रवादीहरूको यो अलि ठूलै जमघट भएको क्षेत्र हो । त्यसकाण पनि धवलशमशेर राणा इमान्दार र स्वच्छ छवी भएको बौद्धिक नेताले जितेको कारणले अहिले क्षेत्रमा जाँदा पनि धवलशमशेरलाई खोज्ने गरेका छन् । त्यसले राम्रो वातावरण बनिरहेकै छ।

धवलशमशेरले आफ्ना वाचा पूरा गर्न सक्नुभएन भन्ने आरोप छ । त्यसले तपाईँलाई अप्ठ्यारो पारेको छैन ?

कहीँकतै त्यस्तो आरोपहरू सुनिन्छ । तर सांसद भएर विकास गर्नेभन्दा पनि यो देश निर्माण गर्ने, नीति निर्माण गर्ने त्यो थलोको रूपमा बुझ्न जरुरी छ जनताले । विकासका कुराहरू राज्यको नियमित प्रक्रिया हो । राज्यले कहाँ जनताको समस्या छन्, कहाँ पूर्वाधारका काम छन्, कहाँ शिक्षा स्वास्थ्यमा लगाउनुपर्नेछ भनेर नियमित प्रक्रिया राज्यको हुन्छ नै । तरपनि धवलशमशेर राणाले विकासको बारेमा पटक पटक संसद्मा, मलखाद कारखाना खोल्नुपर्छ लगायत बाढीका समस्याहरू, तटबन्धनका बारेमा पटक पटक बोलेको हामीले देखिरहेका छौँ । प्रष्टरूपमा संसद्मा सबैभन्दा बढी बोल्ने सांसदमा पन उहाँ चिनिनुहुन्छ । त्यसकारण पनि उहाँले यहाँका आवाज, यस क्षेत्रका समस्याहरू पटक पटक बारम्बार उठाउनुभो । तर सरकारमा नभएपछि त्यसले कुनै अर्थ राख्दो रहेनछ । बजेट लैजानलाई आफ्नो पार्टीको हुनुपर्ने जुन परिपाटी छ, त्यसले उपलब्धि हासिल गर्न सकेन । तर धवलशमशेरले उठाएका मागहरूकै कारणले आज सरकारले मल कारखानाको विषयमा अनुसन्धान गरिरहेको छ । एउटा प्रक्रियामा गैसक्यो त्यो कुराचाहीँ ।

धवलशमशेरले जित्दा एमालेले साथ दिएको थियो । यसपटक त्यही एमालेले पहिले अर्कै दलमा रहेका इश्तियाक राईलाई उम्मेदवार बनाएको छ । यो अर्काे चुनौती होइन तपाईँलाई ?

मेरो प्रतिस्पर्धी अरु १९ जना नै हुनुहुन्छ । यो स्वभाविक हो । तर हामीले गठबन्धन नभएकै बेला हामीले मेयर जितेको यो क्षेत्र हो । २०५२ सालमा पनि राष्ट्रिय प्रजातन्त्र पार्टीले जितेको यो क्षेत्र हो । त्यसकारण यो क्षेत्र धेरै राजावादी, राष्ट्रवादी र हिन्दुवादी भएको क्षेत्र भएका कारण राप्रपाको विचार यहाँको भावनासँगै जोडिएको कारणले हामीलाई जित्न त्यति अप्ठ्यारो छजस्तो मलाई लाग्दैन यो क्षेत्रमा ।

यसपटक तपाईँलाई किन मत दिने त यहाँका मतदाताले ?

किनभने राष्ट्रिय प्रजातन्त्र पार्टी वैचारिक हिसाबले अरु पार्टीभन्दा फरक छँदै छ । देशमा जुन अवस्था अहिले आयो, यो अवस्था आउनु हँुदैन, यो अवस्था आउनु यो व्यवस्थाको कारणले हो भनेर राष्ट्रिय प्रजातन्त्र पार्टी आन्दोलित थियो । त्यो व्यापक रूपमा घरघरबाट उठिसकेको आन्दोलनलाई दमन गरेर पहिलो दिन नै दुई जना मान्छे मारियो । धवलशमशेर राणा र पार्टीका उपाध्यक्ष रविन्द्र मिश्रलाई जेलमा हाल्ने काम गरेर त्यो आन्दोलनलाई दबाइयो । एउटा स्वरुप लिइसकेको त्यो आन्दोलनलाई जेनजीहरूले समाते र आन्दोलनलाई सफल पारे । अहिले नेपाली जनताको अवस्था, आज अभिभावकविहीन भएको छ देश । जनतालाई दुःख परिरहेको थियो, देशभरी आगो जलिरहेको थियो, प्रशासनविहीन भएको थियो, राज्यविहीन भएको बेला हेलिकप्टरबाट भागाभाग गरेर भाग्ने नेतृत्वहरू, जसले ३० वर्षसम्म शासन गरे ।

तिनिहरूले जनतालाई निराशा दिएका थिए, जनतालाई दाश सम्झेका थिए, ती व्यक्तिहरू जनतालाई सुरक्षा दिन नसकेर आफैँ भागेको यो अवस्था नआओस् भनेर हामी दुई तीन वर्षदेखि आन्दोलित थियौँ । तर आज यो अवस्था आयो । यो अवस्थाले अभिभावकको आवश्यकता देखायो । त्यसकारले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई बहुसंख्यक हिन्दु र ओमकार परिवार बस्ने देश हो । अर्काेतिर संघीयताले परिणाम दिन सकेको छैन । प्रदेश तहको सरकार कार्यकर्ताहरू भर्ती गर्ने ठाउँ मात्रै भएका छन् । त्यसकारण संघीयता खारेजी, धर्मनिरपेक्षता खारेजी र गणतन्त्रको ठाउँमा अभिभावकको रूपमा राजा पनि चाहिन्छ भनेर जुन किसिमको एजेण्डा छ । यो आम मतदाताहरूको मन छुने एजेण्डा हो । त्यसकारण मतदाताहरूले यसपालि राष्ट्रिय प्रजातन्त्र पार्टीको उम्मेदवारलाई जिताउँछन् भनेर नै लागिरहेको छ ।

तपाईँले बाँके क्षेत्र नम्बर २ मा आफूले पहल गर्नुपर्ने समस्याहरू के के पहिल्याउनुभएको छ ?

नेपालगन्ज सहरभित्र पूर्वाधार, सडक सबैतिर पुगेका छन्, केही वडाहरूमा त्यसको विकास हुन बाँकी छ । ती सामान्य कुराहहरू हुन् । डुडुवातिर खोला नालाहरूमा पुलपुलेसाहरूको आवश्यकता छ भने राप्तीनदीको कटान छ त्यो समस्या राष्ट्रियस्तरबाटै समाधान गर्नुपर्ने विषय छ । स्थानीय सरकारसँग त्यसका लागि बजेट पनि छैन भने त्यो दुई देशबीचको समस्या पछि छ । दुई देशबीचको कुटनीतिक पहलबाट त्यसलाई सधैँको लागि मेरो पहल हुनेछ । यहाँ मान्छेहरूलाई के छ भने भौतिक पूर्वाधार मात्रै विकास हो भन्ने छ । भौतिक पूर्वाधार खडा गरेर त्याभित्र लथालिंग सिस्टम भयो भने त्यो काम लाग्दैन । भेरी अस्पतालकै कुरा गर्दा त्यहाँ भवनमात्रै भएर भएन नि त । पहुँच नभएको व्यक्तिले पनि त्यहाँ सहजै सेवा लिन सक्ने व्यवस्था मिलाउनुपर्नेछ । सबै बालबालिकाले गुणस्तरीय शिक्षा प्राप्त गरेका छन् कि छैनन्, भनेर सामाजिक विकास गर्ने बेला हो यो ।

त्यसकारण भौतिक विकासभन्दा पनि यो समाजलाई कसरी विकास गर्न सकिन्छ, हरेकका छोराछोरी विदेश छन्, उनीहरूलाई कसरी देशमै बस्ने वातावण बनाउने ? यो औद्योगिक सहरको रूपमा कसरी विकास गर्ने ? लगानीकर्ताहरूलाई सुरक्षित वातावरण बनाउने भन्ने विषयमा मैले आवाज उठाउँछु । सेवासुविधा सहजै पाउने व्यवस्था गर्ने र पहुँच पु¥याउने विषयमा मेरो पहल हुनेछ ।

 बेरोजगारी समस्या समाधानको केही उपाय पहिल्याउनुभएको छ ?

मुलतः तीनवटा क्षेत्र मैले देखेको छु । पहिलो त औद्यागिक वातावरण बनाउने कुरा मैले भनिसकेँ । अर्काे कृषि र पर्यटन । यस क्षेत्रमा कृषिलाई व्यवस्थित र आधुनिक बनाउन सकियो भने धेरै युवाहरू पनि यस क्षेत्रमा जोडिन सक्छन् । उनीहरूका लागि चाहिने सिँचाइ, मल र बीउको सहज उपलब्धता र बजारमा खपतको व्यवस्था गर्नुपर्छ । अर्काेतिर यो मानसरोवरको द्वार भएको कारणले पनि धार्मिक पर्यटनको ठूलो सम्भावना छ । त्यसकरण उद्योग, कृषि र औद्योगिक वातावरण बनाउन सकिन्छ भन्ने मेरो योजना छ । यसका लागि नीति निर्माण गर्ने थलो संसद्मा म जोडदार रुपले आवाज उठाउनेछु ।

तपाईँले यहाँका जनताको प्रतिनिधित्व गर्नसक्नुहुन्छ र नेतृत्वको अभाव पूर्ति गर्न सक्नुहुन्छ भन्ने के आधार छ ?

म पार्टीको अभियानमा जोडिएर देशका कुना कन्दरासम्म पुगेको छु । मैले समस्याहरू देखेको छु, भोगेको छु र राम्रोसँग बुझेको छु ।त्यसकारण पनि नेतृत्व गर्न सक्षम छु । अभिभावको भूमिका निर्वाह गर्न सक्छु । यहाँका युवाहरूको समस्या समाधान गर्न सक्छु । यहाँ बौद्धिक क्षेत्रको, मजदुरहरूको, किसानहरूको हरेक क्षेत्रको नेतृत्वदायी भूमिका निर्वाह गर्नसक्ने क्षमता ममा छ भन्ने मेरो विश्वास छ ।

तपाईँ सुशासनयुक्त र भ्रष्टाचारविहीन राजनीति गर्नुहुनेछ भनेर पत्याउने आधार के के छन् ?

यो ८४ मा हुने चुनाव ८२ मा भैरहेको छ । यो जेनजी आन्दोलनपछि हुन लागेको चुनाव हो । जुन आन्दोलनमा नेपालगन्जकै दुई युवाहरूले ज्यान गुमाए । हामीले भ्रष्टाचार भयो, सुशासन भएन, उच्च पदासिनहरूको सम्पत्ति छानबिन गरौँ भनेर गरेर निरन्तरको आन्दोलनले नै जेनजी आन्दोलनको जग बसालेको हो । तर ती युवाहरूलाई गोली हान्दा को सरकारमा थियो भनेर प्रश्न गरिदिन मतदाताहरूलाई आग्रह छ । हामीले नै उठाएको सुशासन र भ्रष्टाचार निर्मूल गर्नुपर्ने मुद्दा र त्यसकै जगमा भएको जेनजी आन्दोलनको मर्मलाई कुनै पार्टीले बोक्छ भने त्यो राप्रपाले नै बोक्छ । हामी यसमा कटिबद्ध छौँ ।

अन्तमा, तपाईँले कति मतान्तरसहित चुनाव जित्ने विश्वास छ ?

मेरो अनुमान यसअघिको निर्वाचनकै जस्तो मतले म जित्छु भन्ने विश्वास छ । त्यसबेलाको चुनावी कमाण्डर भएको कारणले पनि मलाई यसको आत्मविश्वास आएको हो । अर्काेतिर म कुनै लहडको आन्दोलनबाट आएको नेता पनि होइन, कुनै नेपोकिड, पारिवारिक पृष्ठभूमिबाट बाउबाजेको नामबाट राजनीति गर्न आएको पनि होइन । त्याग तपस्या र समर्पण गरेर यहाँसम्म आएको हो । मेरोबारेमा गहिराइमा गएर बुझेर मतदान गरिदिन मेरो आग्रह छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन १५ गते शुक्रबार