‘२०४६ पछिका सबै काण्डहरूको छानबिन गरेर कारबाही गर्छौँ’



सुर्खेत ।

नेपाली काँग्रेसका पार्टी सभापति गगनकुमार थापाले निर्वाचनपछि काँग्रेस नेतृत्वको सरकार बन्ने दाबी गरेका छन् । बिहीबार सुर्खेतमा काँग्रेसले आयोजना गरेको बृहत् सभालाई सम्बोधन गर्दै सभापति थापाले यस्तो दाबी गरेका हुन् । निर्वाचनपछि बन्ने काँग्रेस नेतृत्वको सरकारले २०४६ पछिका सबै काण्डहरूको छानबिन गरेर कडा कारबाही गर्ने उनको भनाइ छ ।

२०४६ सालपछि भएका भनिएका र सुनिएका प्रत्येक काण्डहरूको छानबिन गरी कारबाही गर्ने आवश्वासन दिँदै उनले काँग्रेस पार्टी र आफूप्रति भरोसा गर्न आग्रह गरे । ‘ती काण्डमा संलग्न मेरै परिवारको सदस्य रहेछ भने पनि त्यो एक जना मानिस पनि बच्दैन् । एउटा काण्ड पनि नेपाली काँग्रेसको सरकारले ग¥यो भन्ने कुरा एउटा नागरिकले पनि सुन्नुपर्ने छैन्,’ उनले भने, ‘जेनजी आन्दोलनका विषयमा एमालेको धारणा अस्वीकार्य छ । तर फागुन २१ मा हुन लागेको चुनाव अप्रत्याशित रूपमा आएको हो । काँग्रेसले चुनाव घोषणा भएको दिनदेखि परिणामको चिन्ता नगरी निरन्तर काम गरिरहेको छ ।’

काँग्रेसबारे अनावश्यक संशय सिर्जना गर्न खोजिएको उनको आरोप छ । ‘चुनाव आउन केही दिन मात्र बाँकी छ । तर काँग्रेसबारे भ्रम फैलाउने प्रयास भइरहेको छ । यो सरकारलाई पनि साथ दिँदै सही ट्र्याकमा ल्याएर छाड्ने हाम्रो प्रतिबद्धता छ,’ उनले थपे, ‘भदौ २३ र २४ का घटनाबारे नेपालमा फरक–फरक दृष्टिकोण देखिएको छ । एमालेले संसद् भवन पहिले जलेको र त्यसपछि मात्रै गोली चलेको दाबी गरेको छ, तर त्यसप्रति मेरो असहमति छ ।’

जेनजी आन्दोलनका विषयमा मौन बसेको भन्दै उनले रास्वपाका वरिष्ठ नेता बालेन्द्र साहप्रति पनि कटाक्ष गरे । यस विषयमा दुई प्रकारका प्रवृत्ति देखिएको उनले उल्लेख गरे । अब पाँच वर्ष अर्को दल प्रयोग नगर्न आग्रह गर्दै कर्णाली विकासको फेहरिस्त आफूसँग रहेको उनले दाबी गरे । ‘एउटा प्रवृत्ति एमालेले जस्तो इन्कार गर्छ र भन्छ, भदौ २३ भन्दा अघि देश ठीकठाक थियो, सबै ठीकै थियो, केही बिग्रेको थिएन,’ उनले भने, ‘अर्को प्रवृत्ति बालेन शाहजस्तो बोल्दैन, केही भन्दैन, तर २३ र २४ गते दनदनी बलेको आगोमा आफ्नो राजनीतिको रोटी सेक्छ । यही दुई सोचका कारण नेपालमा २३ र २४ को अवस्था आएको हो । नेपाली काँग्रेस यी दुवै सोचभन्दा फरक छ ।’

कर्णालीको विकास गर्ने कुरा नै महँगो रहेको उल्लेख गर्दै कर्णाली र काठमाडौँको विकासको एउटै ढाँचा हेर्न नहुने उनले बताए । कर्णालीको वार्षिक आय प्रदेशको जम्मा ५२ करोड रहेको स्पष्ट पार्दै काठमाडौँको मेयरका लागि सुतिसुति विकास गर्न त्यहाँको खुत्रुकेमा १० अर्ब बढी रूपैयाँँ आफैँ जम्मा हुनेगरेको उनले जानकारी दिए ।

‘स्थानीय तहको आम्दानी सबैभन्दा बढी घरबहाल करबाटै आउँछ । अनि सुर्खेतको, कालीकोटको मान्छेले पनि काठमाडौँको खुत्रुकेमा घरभाडा जान्छ,’ उनले भने, ‘देशभरी जम्मा १७–१८ प्रतिशत गरिबी हुँदैगर्दा करिब ४० प्रतिशतको गरिबी बोकेर बसिरहेको छ । सबैभन्दा ठूलो बेरोजगारी बोकेर कर्णाली बसिरहेको छ, देशभरका आमा बचाउँदै गर्दा कर्णालीका आमा किन बचाउन सकिएका छैनन् ?’

यस्ता प्रश्नको सपाट उत्तर दिएर भाग्न सकिने स्थिति भए पनि ती उत्तर दिएर समाधान नहुने र त्यसका लागि समस्याको जरामा पुग्नुपर्ने उनले बताए । उनले थपे, ‘कर्णाली स्वर्ग हो, अन्नको भण्डार हो, नेपालको सर्वाधिक राम्रो ठाउँ हो भन्न सकिन्छ । राराका बारेमा कविता भन्न सकिन्छ । यहाँको स्याउ र यार्सागुम्बाको कथा भन्न सकिन्छ, तर प्रश्नसँगै अर्को कुरा जोडिएर आउने यहाँको गरिबी रहेको छ ।’

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन १५ गते शुक्रबार