कोहलपुर (बाँके) : नेपाल मगर संघ कोहलपुर नगर समितिले आर्थिक सहयोग प्रदान गरेको छ । मंगलबार संघ अन्तर्गत गठित मगर समूहका सदस्य दल बहादुर बुढा मगरको परिवारलाई संघले घरमै पुगेर आर्थिक सहयोग गरेको हो । सदस्य बुढा मगरका बुवा नर बहादुर बुढा मगरको फागुन ४ गते निधन भएको थियो । बुढामगरको परिवारलाई संघका पदाधिकारी र समूहका पदाधिकारीहरु घरमै पुगेर आर्थिक सहयोग गरेका हुन् । संघको तर्फबाट मृतकप्रति श्रद्धाञ्जली र परिवारप्रति समवेदना प्रकट गर्दै नगद आठ हजार रुपैयाँ प्रदान गरिएको हो ।

नेपाल मगर संघका अध्यक्ष कोहलपुर कविराम पुलामीमगरका अनुसार संघले कोहलपुरमा संघ आवद्ध सदस्यहरुको परिवारको निधनमा घरमै पुगेर समवेदन प्रकट गर्दै आएको छ । सोही अनुसार बुढा मगरको घरमै पुगेर समवेदना प्रदान गर्नुका साथै आर्थिक सहयोगसमेत गर्ने गरिएको बताए । संघ र समूह दुवैका सचिव रहेका करन बहादुर थापा मगर समूह सामाजिक र परोपकारी कार्यका लागि गठन भएको बताउँछन् । उनका अनुसार हाल समूहमा १७० जना सदस्य छन् । हालसम्म समूहका सदस्यका एक दर्जन परिवारलाई आर्थिक सहयोग गरिएको उनले बताए ।
सचिव थापा भन्छन्,‘नेपाल मगर संघ कोहलपुर समिति अन्तर्गत मगर समूह गठन गरिएको छ । यसमा १७० सदस्य छौँ । समूहको एउटा सामाजिक कोष स्थापना गरिएको छ । त्यसमा मासिक रुपमा सदस्यहरुमा पैसा हुन्छ । सोही कोषबाट सदस्यका परिवारहरुलाई यसरी नै सहयोग गर्छौ,’
यस्तै संघले हरेक वर्ष फागुन १५ गते मनाइने मगर दिवसको तयारीपनि गरिरहेको उनले जानकारी दिए । अहिले कोहलपुर नगरपालिकामा रहेका १५ वटै वडामा नयाँ कार्यसमिति चयन भइरहेको उनको भनाइ थियो । उक्त कार्यक्रममा संघका अध्यक्ष कविराम पुलामी मगर,उपाध्यक्ष हेमन्त पुन, सचिव करण थापा लाफा,सहसचिव टिकाबहादुर पुन मगर र कोषाध्यक्ष चन्द्रकला थापा मगरसहित नेपाल मगर संघ बाँके जिल्ला सदस्य अम्मर बहादुर लामिछाने मगर तथा नेपाल मगर सङ्घ लुम्बिनी प्रदेश सदस्य कृष्णबहादुर पुन मगरको पनि उपस्थिति रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्