म्याग्दी ।
जलजला गाउँपालिका–१ बाँसखर्कमा रहेको ज्योती मण्डल माध्यामिक विद्यालयलाई दाताहरुले आर्थिक सहयोग गरेर ऋण मुक्त बनाएका छन्। निजी स्रोतबाट मावि तह सञ्चालन, जग्गा खरिद, भवन लगायतका पूर्वाधार निर्माणका लागि विद्यालयले प्रधानाध्यापक मेखबहादुर खत्रीको घरजग्गा सहकारीमा धितो राखेर ऋण लिएको थियो ।
पूर्व शिक्षक, ब्यवस्थापन समितिका पूर्व अध्यक्ष तथा बाँसखर्कका पूर्व प्रधानपञ्च लालबहादुर पुनका नातिनीहरुले सहकारीको ऋण तिरेर विद्याललाई ऋण मुक्त बनाएका हुन् ।पुन परिवारले सहकारीमा रहेको रु. नौ लाख २९ हजार ऋण तिरेर धितो राखेको जग्गाधनी प्रमाणपत्र फिर्ता गराएको प्रअ खत्रीले जानकारी दिए ।
लालबहादुरका नातिनी जुवाई कमलबहादुर पुर्जा, नातिनीहरु पार्वति, राधा, सिता, शान्ति र पनती पवनको तर्फबाट विद्यालयलाई सहयोग प्राप्त भएको हो । सहयोगदाताहरुलाई सोमबार बाँसखर्कमा विद्यालयले कार्यक्रम सहित सम्मान गरेको थियो ।विद्यालयले धितो रहेको प्रअ खत्रीको जग्गाधनी प्रमाणपत्र फिर्ता गरेको थियो । कक्षा १० सम्म पठनपाठन हुने विद्यालयमा ९४ जना विद्यार्थीहरु रहेका छन् । रासस









प्रतिक्रिया दिनुहोस्