‘नेपालको शान्तिको कामना गर्दै मेची पुलमा दीप प्रज्वलन गरेर यात्रा सुरु भएको हो । मेरो यो यात्रा आसन्न निर्वाचनलाई लक्षित गरेर सुरु भएको हो । नेपालमा धेरै चुनाव भए, धेरैपटक सरकार बने । अब भने पाँच वर्षको लागि स्थायी सरकार बनोस् । त्यसका लागि मतदाताहरूलाई सचेतना फैलाउने यो यात्राको उद्देश्य हो ।’
कोहलपुर (बाँके) ।
फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुँदैछ । सिंगो देश अहिले चुनावमय बनेको छ । देशभरका १६५ निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ कूल ३ हजार ४ सय ६ जना उम्मेदवार चुनावी मैदानमा छन् । यस्तै ६८ वटा राजनीतिक दलतर्फ १ हजार २ सय ७० जना समानुपातिकतर्फ उम्मेदवार छन् । उनीहरू अहिले जनताको घरदैलोमा पुगिरहेका छन् ।
आफू र आफ्नो दलका लागि मतदातासँग भोट मागिरहेका छन् । जे होस् आसन्न चुनावको देशव्यापी रौनक र उत्साह झन बढिरहेको अवस्था छ। उम्मेदवारहरूको रमाइलो प्रचारप्रसारदेखि मतदाताहरूका धारिला प्रश्न उम्मेदवारहरूले सामना गरिरहेका बेला एक युवा भने मेची–महाकाली पैदलयात्रामा छन् ।
राजनीतिक स्थायित्व, सुशासन र समृद्धिका लागि मेची–महाकाली पैदलयात्रा गरिरहेका युवा हुन्, लुम्बिनी प्रदेशको रूकुम पश्चिमको चौरजहारी–१३ का विजयकुमार शर्मा । उनका अनुसार स्थायी सरकार र युवा आवश्यकताका लागि सुरु गरिएको पैदलयात्रा माघ २१ गते मेची पुलबाट सुरु भएको हो । सो यात्रा आफूले मेची पुलमा दीप प्रज्वलन गरेर सुरु गरेको उनले बताए ।
यात्राको १८औँ दिनमा बाँकेको कोहलपुर आइपुगेका शर्माले पत्रकारहरूसँग कुराकानी गर्दै भने, ‘नेपालको शान्तिको कामना गर्दै मेची पुलमा दीप प्रज्वलन गरेर यात्रा सुरु भएको हो । मेरो यो यात्रा आसन्न निर्वाचनलाई लक्षित गरेर सुरु भएको हो । नेपालमा धेरै चुनाव भए, धेरैपटक सरकार बने । अब भने पाँच वर्षको लागि स्थायी सरकार बनोस् । त्यसका लागि मतदाताहरूलाई सचेतना फैलाउने यो यात्राको उद्देश्य हो ।’
लेखन र आफ्नो व्यवसाय छोडेर पैदलयात्रामा निस्कनै पर्ने अवस्था कसरी आयो भन्ने प्रश्नमा उनले यसपटक जसरी पनि मतदाताहरूले आफ्नो विवेक प्रयोग गर्नैपर्नेमा जोड दिए । उनका अनुसार पार्टी आफैँमा खराब छैनन् । सिद्धान्त र विचारसमेत राम्रा छन् । सबैले देश बनाउने भन्छन्। तर देश बनाउने कुरा मतदाताको मतदानले समेत निर्धारण गर्ने रहेछ ।
विगतका निर्वाचनमा एउटै पार्टीले बहुमत नपाउँदा देशमा अस्थिरता बढेको भन्दै यसपटक जुन पार्टीले भए पनि स्पष्ट बहुमत ल्याउने गरी भोट हाल्न आह्वानका लागि आफू यात्रामा निस्किनु परेको उनको भनाइ छ । नेपालले कृषि, पशुपालन र पर्यटनमार्फत नेपाललाई समृद्ध बनाउन सकिने आधार रहेकोले स्थायी सरकार आवश्यक रहेको उनले बताए ।
उनले आफू कुनै अमूक पार्टीलाई भोट माग्न नभई सिंगो देशको समृद्धिको लागि अब सबैले सोच्नुपर्ने अवस्था आएकोमा जोड दिए । उनले अहिलेसम्मको यात्राको क्रममा १२ जना उम्मेदवार र सयौँ कार्यकर्ताहरूलाई भेट गरेको उनको भनाइ छ । उनको यात्रा फागुन १८ गते महाकाली पुलमा पुगेर टुंगिनेछ ।








प्रतिक्रिया दिनुहोस्