
नेपालगन्ज ।
नेपाली काँग्रेसको तर्फबाट बाँके क्षेत्र नम्बर ३ का उम्मेदवार अमरसिंह पुनले चुनावी प्रतिज्ञापत्र सार्वजनिक गरेका छन् । पुनले कृषि, पर्यटन, उद्योग, युवा र प्रविधि र पूर्वाधारलाई प्राथमिकता दिएर आफ्ना योजनाहरू प्रतिज्ञापत्रमा समावेश गरेका छन् । उनले बाँके क्षेत्र नम्बर ३ मा रहेका जनक शिक्षा सामग्री केन्द्र, कपास विकास समिति, नौवस्ता औद्योगिक क्षेत्र, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, कृषि निर्देशनालय तथा अनुसन्धान केन्द्रको स्तरोन्नति तथा लुम्बिनी प्राविधिक विश्वविद्यालयको व्यवस्थापनलाई आफ्नो मुख्य एजेन्डाको रूपमा समेटेका छन् ।
पुनले स्वास्थ्य क्षेत्रमा आमनागरिकले सेवा पाउने कुरालाई जोड दिँदै सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको स्तरोन्नति तथा अत्याधुनिक स्रोत र साधनको वृद्धि गरी सेवालाई प्रभावकारी बनाउन जोड दिने बताएका छन् । उनले लुम्बिनी प्राविधिक विश्वविद्यालयको जग्गामा बसोबास गर्ने बासिन्दालाई उचित बसोबासको व्यवस्थापन गर्दै प्राविधिक विश्वविद्यालयको पठनपाठन खजुराबाटै गराउन विशेष पहल गर्ने उनले आफ्नो प्रतिज्ञापत्रमा उल्लेख गरेका छन् ।
यसैगरी नेपाल–भारत सीमावर्ती क्षेत्रका जनताले भोग्दै आइरहेको बैंकले जग्गाको धितो नराख्ने समस्याका बारेमा आफूले नीतिगत रूपमा समाधानको लागि पहल गर्ने पुनले प्रतिज्ञापत्रमा भनेका छन् । स्थानीय कृषि उत्पादनको बजारीकरण, मल, बीउ, सिँचाइको उपलब्धतामा विशेष पहल गरिने, सिक्टा सिँचाइ, भेरी बबई डाइभर्सन र बबई सिँचाइ नहरलाई व्यस्थित गर्ने उनले बताएका छन् ।
क्षेत्रमा रहेका खेलकुद मैदान तथा संरचनाहरूको स्तरोन्नति गरेर राष्ट्रियस्तरका प्रतियोगिता आयोजनामा प्रोत्साहन गर्ने उम्मेदवार पुनको प्रतिज्ञा छ । नवप्रतिभा, नवप्रवर्तन, सीप र प्रविधिमार्फत युवालाई आर्थिक समृद्धिसँग जोड्ने वातावरणको निर्माण गर्ने पनि उनले उल्लेख गरेका छन् ।
यसैगरी भूमि तथा वस्ती व्यवस्थापन दिगो आवासको आधारको मान्यतालाई आत्मसात् गर्दै भूमिहीन, सुकुम्वासी व्यवस्थापन गर्दै जंगली जनावरबाट स्थानीय जनताले खेपिरहेको सास्ती व्यवस्थापनको दीर्घकालीन योजना बनाउने, जलवायु तथा वातावरण संरक्षण गर्ने, वृक्षारोपण र आधुनिक कृषिमा पहल गर्दै हरियाली प्रवद्र्धनको योजना बनाएर काम गर्ने प्रतिज्ञापत्रमा समावेश गरिएको छ ।
यसैगरी नागरिकसँग प्रत्यक्ष रूपमा समन्वय गरेर नागरिकका समस्या समाधानमा जोड दिने, इमान्दारिता, पारदर्शिता, जवाफदेहितालाई आत्मसात् गर्दै नागरिकलाई छिटो–छरितो ढंगले सेवा प्रदानमा पहल गर्ने उनको प्रतिज्ञापत्रमा उल्लेख छ । पुनले आफ्ना योजनाको कार्यान्वयनका लागि कार्यतालिका बनाउने, मासिक रूपमा मूल्यांकन गर्दै अघि बढ्ने दाबी गरेका छन् ।








प्रतिक्रिया दिनुहोस्