सुकुम्वासीको गुनासो ‘हामीलाई भोट बैंक मात्रै बनाइयो’



शिवु खनाल । दाङ ।

दाङ क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवारसँग आयोजित संवाद कार्यक्रममा भूमिहीन तथा सुकुम्वासी किसानहरूले राजनीतिक दलहरूले आफूहरूलाई वर्षौँदेखि ‘भोट बैंक’का रूपमा मात्र प्रयोग गरेको गुनासो गरेका छन् । गढवा गाउँपालिका वडा नं. ४ का मानवबहादुर नेपालीले निर्वाचनका बेला लालपुर्जा दिलाइ दिने आश्वासन बाँडेर मत माग्ने तर चुनावपछि बेवास्ता गर्ने प्रवृत्ति दोहोरिँदै आएको बताए । ‘मत माग्दा लालपुर्जा दिन्छौँ भन्नुहुन्छ, जितेपछि हामीलाई सम्झनुहुन्न,’ उनले भने ।

राजपुर गाउँपालिका वडा नं. २ चप्फाका गुरुप्रसाद विकले तीन पुस्तादेखि बसोबास गर्दै आएको जग्गाको स्वामित्व अझै नपाएको पीडा सुनाए । २०२४ सालदेखि बसोबास गर्दै आएको स्थानमा लालपुर्जा वितरण प्रक्रिया अन्तिम चरणमा पुग्न लाग्दा सरकार परिवर्तन भएसँगै काम रोकिने गरेको उनको भनाइ छ । राप्ती गाउँपालिका वडा नं. ३ का तुलसी चौधरी, लमही–६ कुलमोहरका सामसुङ गिरी तथा राजपुर–५ का पटवारी चौधरीलगायतका भूमिहीन किसानहरूको समस्या पनि उस्तै रहेको सहभागीहरूले बताएका छन् ।

उनीहरूले अब लिखित प्रतिबद्धताबिनाको आश्वासन स्वीकार नगर्ने अडान लिएका छन् । कार्यक्रममा सहभागी भूमिहीन किसान पटवारी चौधरीले भनिन्, ‘पटक–पटक ठगिरहनुहुन्छ, हामी भोट मात्रै दिने, तपाईँ हामीलाई लालपुर्जा कहिले दिने ?’ किसानहरूले लिखित प्रतिबद्धतासहितको आश्वासन मागेपछि उम्मेदवारहरूले प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका थिए ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का तर्फबाट उम्मेदवार प्रकाश शाहीले आफू ऐलानी जग्गामा बसोबास गर्दै आएकाले सुकुम्वासी समस्या नजिकबाट बुझेको बताए । विजयी भए संसद्मा यो विषयलाई प्राथमिकताका साथ उठाउने उनको प्रतिबद्धता थियो । जनता समाजवादी पार्टी नेपालका उम्मेदवार भरतलाल चौधरीले स्वर्गद्वारी गुठीको जग्गामा बसोबास गर्दै आएका गुठीपीडित किसानको आन्दोलनमा पटक–पटक सहभागी भएको जानकारी दिए ।

राष्ट्रिय परिवर्तन पार्टीका उम्मेदवार रञ्जित चौधरीले समस्या समाधानका लागि पहल गर्ने बताए भने राष्ट्रिय जनमोर्चाका गणेश आचार्यले आफ्नो पार्टीको घोषणापत्रमै भूमि समस्या समाधानको विषय समेटिएको उल्लेख गरे । स्वतन्त्र उम्मेदवार कुलप्रसाद केसीले भूमि समस्या समाधानका लागि कानुन संशोधन र सरकारको स्पष्ट इच्छाशक्ति आवश्यक रहेको बताउँदै त्यो इच्छाशक्ति आफूमा रहेको दाबी गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक उम्मेदवार सुरेन्द्र चौधरीले पुराना दलबाट समस्या समाधान हुन नसकेको दाबी गर्दै त्यसै कारण नयाँ शक्तिको उदय भएको बताए । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का रेवतीरमण शर्माले आफ्नो पार्टी नेतृत्वले लालपुर्जा वितरणको काम सुरू गरेको भए पनि काम गर्न नदिएको दाबी गरे । नेपाली काँग्रेसका योगेन्द्र चौधरीले आफू सुकुम्वासी किसानकै आन्दोलनबाट नेतृत्वमा आएको भन्दै समस्या समाधानमा प्रतिबद्ध रहेको बताए ।

भूमि अधिकार मञ्चका केन्द्रीय अध्यक्ष ल्यापबहादुर दर्जीको अध्यक्षता तथा जिल्ला उपाध्यक्ष सिर्जना चौधरीको संयोजनमा आयोजित कार्यक्रममा देउखुरी क्षेत्रका भूमिहीन किसानहरूको उल्लेख्य सहभागिता रहेको थियो । जिल्ला भूमि अधिकार मञ्चका अनुसार देउखुरी क्षेत्रमा १ हजार २६६ परिवार भूमिहीन दलित, ३ हजार ६८० परिवार भूमिहीन सुकुम्वासी र २० हजार ४४७ परिवार अव्यवस्थित बसोबासी रहेका छन् ।

लगत संकलन, प्रविष्टीकरण तथा प्रमाणीकरणको कार्य अन्तिम चरणमा पुगे पनि तथ्यांकअनुसार जमिन पहिचानको काम अझै सम्पन्न हुन सकेको छैन । भूमि समस्या जानकार जुगमानी चौधरीले बसोबास गरिरहेका करिब ८० प्रतिशत परिवार कानुनी रूपमा वन क्षेत्र तथा अन्य नकारात्मक सूचीभित्र पर्ने अवस्था रहेको बताए । स्पष्ट नीतिको अभाव र राजनीतिक अस्थिरताका कारण भूमि समस्या दीर्घकालदेखि समाधान हुन नसकेको उनको भनाइ छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन ७ गते बिहीबार