
काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकको वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि जनाउँदै खराब पक्ष बोकेको व्यवस्थालाई फ्याँक्नुपर्ने बताएका छन् ।
७४औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बुधबार एक भिडियो सन्देश जारी गर्दै पूर्वराजाले अहिलेकै विषम परिस्थितिमा र राष्ट्रिय समस्या समाधान नगरी चुनावमा जानु उचित नहुने धारणा समेत राखेका छन् ।
मुलुक अस्वाभाविक छटपटीको भुमरीमा फसेको टिप्पणी गर्दै पूर्वराजा शाहले जुनसुकै व्यवस्थाका पनि राम्रा पक्षलाई लिनुपर्ने तर खराब पक्षलाई त्याग्नुपर्नेमा जोड दिए ।
उनले भनेका छन्, ‘कुनै व्यवस्थाको राम्रा र असल पक्षहरू टिप्नु र राख्नुपर्छ । जुनै व्यवस्थाको नराम्रो र खराब पक्षहरू हुन्छन्, त्यस्तालाई फाल्नु र फ्याँक्नुपर्छ ।’
देशको भू–बनोट र समाजको प्रकृति सुहाउँदो व्यवस्थाले मात्र सकारात्मक परिणाम दिने उनको जिकिर छ ।
प्रजातन्त्रमा आवधिक निर्वाचन स्वाभाविक भए पनि वर्तमान अवस्थामा चुनावको औचित्यमाथि उनले प्रश्न उठाएका छन् । यतिबेलाको आम जनभावना चुनावभन्दा पहिले देशको संकट समाधानतर्फ केन्द्रित हुनुपर्ने रहेको उनले औंल्याए ।









प्रतिक्रिया दिनुहोस्