बुटवल उपमहानगरको ६७औँ स्थापना दिवसः योजनासहितका कामले सफलता



श्यामलाल पोखरेल । बुटवल ।

बुटवल उपमहानगरपालिकाले ६७औँ स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रमहरू गर्दै आएको उपमहानगरले आइतबार आफ्नै कार्यालय परिसरमा स्थापना दिवस मनाएको हो । निर्वाचन आचारसहिंताका कारण कार्यालयमै कार्यक्रम आयोजना गरी स्थापना दिवस मनाइएको हो ।

स्थापना दिवसको समारोहमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले एक वर्षमा भएका कामहरूको बारेमा जानकारी गराएका छन् । बुटवललाई आर्थिक र सांस्कृतिक सहर बनाउने योजनासहित काम गरिएकाले देशभरका ११ वटा उपमहानगरपालिकामध्ये बुटवललाई कार्यसम्पादन मूल्यांकनमा सबैभन्दा राम्रो बनाउन सकिएको बताए । सबै जनप्रतिनिधि, सबै कर्मचारी र बुटवलवासीको पूर्ण साथ सहयोगले कार्यसम्पादनमा पहिलो बन्न सकिएको बताउँदै उनले बुटवललाई उज्यालो र सबै प्रकारको अभावमुक्त सहर बनाउनका लागि सबैको साथ सहयोगको खाँचो रहेको बताए ।

देशको मध्यभागमा रहेको बुटवल आर्थिक केन्द्रको रूपमा विकास गरेर समृद्धिको सहर बनाउने गरी आफूहरूले योजनाका साथ काम गरिरहेको बताए । उनले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सहकारी, पशुपन्क्षी, सरसफाइ, फोहोरमैला, खेलकुद, सञ्चार, उद्योग क्षेत्र र विकास निर्माणमा बुटवललाई अरु स्थानीय तहभन्दा बलियो बनाउने प्रतिबद्धता जनाए ।

बुटवलको सबैभन्दा समस्याको विषय बनेको ज्योतिनगरको पहिरो व्यवस्थापन, खानेपानी, सडक, अमरपथ डुवान, सुकुम्वासी समस्या, छाडा चौपाया व्यवस्थापन, बाँदर, निलगाई समस्या निराकरणमा काम भएको बताए । त्यस्तै मोतिपुर औद्यागिक क्षेत्र समेलार कृषि व्यवसायीक क्षेत्र, बदेलपोखरी स्टेडियम, बधशाला निर्माण, आम्दा अस्पताल व्यवस्थित रूपमा सञ्चालनका लागि देखिएका केही समस्या समाधानमा अहिले केही सफलता मिलेको र यि सबै समस्या समाधान गर्ने गरी काम गर्ने प्रतिबद्धता जाहेर गरे ।

नगरप्रमुख पाण्डेले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार विकास, महिला बालबालिका तथा समावेशीकरण, श्रम तथा रोजगार प्रवद्र्धन, पशुपन्क्षी, खेलकुद, सहकारी, सूचना प्रविधि, प्रशासन, न्यायिक, पञ्जीकरण, भूमि व्यवस्थापन, अनुगमन तथा मूल्यांकन, आन्तरिक राजस्व, वित्तिय व्यवस्थापन लगायतका क्षेत्रमा एक वर्षमा भएका काम तथा सफलताबारे सार्वजनिक गरेका छन् ।

उनले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको आगजनी र तोडफोडबाट ठूलो भौतिक क्षति हुनुका साथै आन्तरिक रूपमा सामान तथा कम्युटर, कागजपत्र जलेकाले काम गर्न समस्या भएको बताउँदै आगजनी, तोडफोडमा संलग्न व्यक्तिलाई चिनेको भए सूचना दिन आग्रह गर्दै त्यस्ता सूचना गोप्य राखिने नगरवासीलाई आग्रह गरेका छन् । उपप्रमुख सावित्रादेवी अर्यालले समग्र देशको विकासमा सहयोग पुग्ने गरी बुटवल उपमहानगरपालिकाले काम गरेको बताइन् ।

उनले मानवीय, भौतिक, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, खेलकुद, महिला सशक्तीकरण लगायतका सबै क्षेत्रमा नतिजा देखिने गरी काम भएको दावी गरिन् । उनले अझै कामले पूर्णता नपाएकाले सबै क्षेत्रका सबै कामलाई देखिने गरी १४ महिनाको अवधिमा काम गरेर नगरवासीलाई देखाउने बताइन् ।

कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्याल, नेपाल पत्रकार महासंघ रुपन्देही अध्यक्ष दिनेश पाण्डे, कान्ति माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीवन ओझा, पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेल लगायतले बोल्दै बुटवलको विकासमा सबैले साथ सहयोग दिनुपर्नेमा जोड दिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन ४ गते सोमबार