नेपालगन्ज ।
बाँकेको जानकी गाउँपालिकामा ‘जानकी पर्यटन प्रवद्र्धन तथा प्रथम साहित्यिक महोत्सव २०८२’ सम्पन्न भएको छ । जानकी गाउँपालिका र भेरी साहित्य समाज केन्द्रीय समितिको आयोजनामा सम्पन्न महोत्सवमा सांस्कृतिक कार्यक्रम, स्रष्टा सम्मान, मुसायरा र कवि सम्मेलनका साथै पर्यटन प्रवद्र्धनको वर्तमान अवस्था र सम्भावनाबारे कार्यपत्र प्रस्तुत गरिएको थियो ।
महोत्सवमा ‘जानकी पर्यटन प्रवद्र्धनः वर्तमान अवस्था र सम्भावना’ विषयमा वरिष्ठ साहित्यकार डा. राजकुमार थारू र ईश्वरीप्रसाद रिजालले कार्यपत्र प्रस्तुत गरेका थिए भने पर्यटन व्यवसायी श्रीराम सिग्देलले टिप्पणी गरेका थिए । कार्यक्रममा नेपाल र भारतका साहित्यकार एवं पत्रकारहरूलाई सम्मान पनि गरिएको थियो ।
सम्मानित हुनेमा पत्रकारद्वय सिराज खान र झलक गैरे, वरिष्ठ कलाकार प्रेमदेव गिरी, नाटककार गणेश गौतम, साहित्यकार बच्छराज यादव र कलाकार खगेन्द्र नेपाल रहेका छन् । यसैगरी भारतका साहित्यकारहरू डा. रामबहादुर मिश्र, प्रदीप साहनी, अतिक कासगन्जवी, शारिक रब्बानी, रईस बहराइची, बम्पर बहराइची र पिके प्रचण्डलाई पनि कार्यक्रममै सम्मान गरिएको थियो ।
साहित्यिक रचना वाचन र कला प्रस्तुतिसमेत गरिएको महोत्सवमा नेपाल र भारतका सय जनाभन्दा बढी पर्यटन व्यवसायी, साहित्यकार तथा पत्रकारको सहभागिता रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्