काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले जेन–जी आन्दोलनपछिको विषमपूर्ण राजनीतिक परिस्थिति र छोटो समयका बाबजुद पनि १९औँ अधिवेशनले महत्त्वपूर्ण काम गर्न सफल भएको बताएका छन्। राष्ट्रियसभाको १९औँ अधिवेशनको पहिलो बैठक गत माघ ४ गते बसेको थियो। जम्मा २७ दिन चालु रहेको यो अधिवेशनमा ९ वटा बैठक बसी १७ घण्टा २५ मिनेट समयसभाका काममा व्यतित गरेको अध्यक्ष दाहालले बताए ।

यो अधिवेशनमा सात वटा बैठकका शून्य समयमा २९ जना सदस्यले ४८ मिनेट र तीन वटा बैठकका विशेष समयमा १५ जना सदस्यले तीन घण्टा ३९ मिनेट समय उपयोग गरेको उल्लेख गरे । यो अधिवेशनमा एउटा बैठकमा प्रादेशिक सरोकार समय रहेको थियो ।
अध्यक्ष दाहालका अनुसार यो अवधिवेशनमा ‘अभौतिक प्राकृतिक सम्पदा संरक्षण विधेयक २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ भने पर्यटन विधेयक २०८१, चलचित्र विधेयक २०८१ र राष्ट्रिय विधिविज्ञान प्रयोगशाला स्थापना, सञ्चालन विधेयक २०८१ लाई पारित गरी प्रतिनिधिसभामा पठाइएको छ । यसबीचमा सरकारले सामाजिक सञ्जाल विधेयक २०८१ फिर्ता लिएको छ ।
त्यस्तै, मतदाता नामावली ऐन २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश २०८२, प्रतिनिधिसभा सदश्य निर्वाचन पहिलो संशोधन अध्यादेश २०८२ र नेपाल विशेष सभा ऐन दोस्रो संशोधन अध्यादेश सभामा पेस भई सर्वसम्मत स्वीकृत भइसकेको छ ।
सरकारलाई संसद्प्रति जवाफदेही बनाउन कानुन, न्याय तथा संसदीय मामिला, सङ्घीय मामिला तथा सामान्य प्रशासन र अर्थ मन्त्रालयसँग सम्बन्धित प्रश्नोत्तर कार्यक्रम सञ्चालन भएको उनले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्