वित्त आयोगको कार्यसम्पादन मूल्यांकनः कुन सूचकमा बाँकेका कुन पालिकाले पाए ‘शून्य अंक’



कार्यसम्पादन मूूल्यांकनमा जिल्लामै पहिलो बनेको बाँकेको खजुरा गाउँपालिले कूल १७ सूचकमध्ये एउटा सूचकमा शून्य अंक प्राप्त गरेको छ भने अन्तिम बनेको डुडुवा गाउँपालिकाले कूल १७ सूचकमध्ये सात वटा सूचकमा शून्य अंक प्राप्त गरेको छ ।

शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूूल्यांकनमा बाँकेका आठ स्थानीय तहमध्ये खजुरा गाउँपालिका पहिलो नम्बरमा छ । जिल्लाका एक महानगर, एक नगरपालिका र ६ गाउँपालिकामध्ये खजुरा गाउँपालिकाको नतिजा उत्कृष्ट छ । आयोगले स्थानीय तहका हकमा कूल १७ सूचकमा गरेको मूल्यांकनमा आधारमा खजुराले जिल्लामै सबैभन्दा धेरै ७१.९९ अंक प्राप्त गर्दै पहिलो बनेको हो।

समग्र अंकमा उत्कृष्ट नम्बर हासिल गरेको खजुराले कूल १७ मध्ये १६ वटा सूचकमा अंक प्राप्त गरेको छ । तर, एउटा सूचकमा भने खजुराको शून्य अंक छ । त्यो हो, १५ नम्बर सूचक । खजुराले आर्थिक वर्ष २०८१–०८२ मा संस्थागत स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको अनुपात आयोगमा नबुझाउँदा शून्य अंक पाएको हो । कूल ६५.७६ अंक प्राप्त गर्दै दोस्रो स्थान हासिल गर्न सफल भएको कोहलपुर नगरपालिकाले कूलमध्ये ४ वटा सूचकमा शून्य अंक प्राप्त गरेको छ ।

कोहलपुरले शून्य अंक प्राप्त गरेका सूचकहरूमा १२, १३, १४ र १५ हुन् । नगरपालिकाले आयोगमा शैक्षिक सत्र २०८१ मा कक्षा ८ को तुलनामा कक्षा ९ मा विद्यार्थी टिकाउ दर कति छ भने उल्लेख गरेको छैन । यस्तै सामुदायिक विद्यालयबाट कक्षा १० को परीक्षामा सहभागी कूल विद्यार्थी सङ्ख्याको तुलनामा कम्तिमा स्तरीकृत अंक र उच्च जिपिए प्राप्त गरेका विद्यार्थी प्रतिशत उल्लेख गर्नुपर्ने सूचकमा ०.२३७८ अंक छ । आर्थिक वर्ष २०८१–०८२ मा चार पटक गर्भ जाँच गर्ने महिलाको अनुपात र पूर्ण खोप पाएका बालबालिकाहरूको अनुपात शीर्षकमा सूचकमा भने शून्य अंक छ ।

समग्रमा तेस्रो स्थान हासिल गर्दै ६४.०६ प्रतिशत अंक प्राप्त गरेको बैजनाथ गाउँपालिकाको ५ वटा सूचकमा शून्य अंक छ । बैजनाथले आर्थिक वर्ष २०८१–०८२ को कूल लेखा परीक्षणबाट आँैल्याएको बेरुजुको अवस्था, शैक्षिक सत्र २०८१ मा कक्षा ८ को तुलनामा कक्षा ९ मा विद्यार्थी टिकाउ दर, आर्थिक वर्ष २०८१–०८२ मा चार पटक गर्भ जाँच गर्ने महिलाको अनुपात र २०८१–०८२ मा संस्थागत स्वास्थ्य संस्थामा सुत्केरी हुन पहिलाको अनुपातमा शून्य अंक प्राप्त गरेको छ ।

सामुदायिक विद्यालयबाट कक्षा १० को परीक्षामा सहभागी कूल विद्यार्थी सङ्ख्याको तुलनामा कम्तिमा स्तरीकृत अंक र उच्च जिपिए प्राप्त गरेका विद्यार्थी प्रतिशत उल्लेख गर्नुपर्ने सूचकमा ०.४७८३ अंक रहेको छ । यस्तै कूल ५८.६७ प्रतिशत अंक प्राप्त गर्दै चौथो स्थानमा रहेको जानकी गाउँपालिकाले बेरुजको अवस्था, शैक्षिक सत्र २०८२ मा कक्षा १ देखि ८ सम्म ५ देखि १२ वर्ष उमेर समुहका विद्यार्थीको खुद भर्ना दर, शैक्षिक सत्र २०८१ मा कक्षा ८ को तुलनामा कक्षा ९ मा विद्यार्थी टिकाउ दर, विद्यार्थी सङ्ख्याको तुलनामा कम्तिमा स्तरीकृत अंक र उच्च जिपिए प्राप्त गरेका विद्यार्थी प्रतिशत र २०८१–०८२ मा संस्थागत स्वास्थ्य संस्थामा सुत्केरी हुन पहिलाको अनुपातमा शून्य अंक प्राप्त गरेको शून्य अंक प्राप्त गरेको हो ।

यस्तै नेपालगन्ज उपमहानगरपालिकाको कूल ४ सूचकमा शून्य अंक छ । समग्रमा जिल्लामै पाँचौ नम्बरमा रहदै ५६.४५ अंक प्राप्त गरेको नेपालगन्जले आर्थिक वर्ष २०८३–०८४ को आय व्यय प्रक्षेपण गरिएको तथ्यांकसहितको विवरण २०८२ पुस मसान्तसम्म अर्थ मन्त्रालयमा नबुझाउँदा शून्य अंक पाएको छ ।

५४.०० प्राप्त गर्दै छैठाँै स्थानमा रहेको रहेको राप्ती सोनारी गाउँपालिकाले सात वटा सूचकमा शून्य अंक प्राप्त गरेको छ । गत आर्थिक वर्षको विनियोजित रकम अनुसारको खर्चको अवस्था, विद्यार्थीको खुद् भर्ना दर, विद्यार्थीको टिकाउदर, विद्यार्थीको जिपिए, आर्थिक वर्ष २०८१–०८२ मा चार पटक गर्भ जाँच गर्ने महिलाको अनुपात र २०८१–०८२ मा संस्थागत स्वास्थ्य संस्थामा सुत्केरी हुन महिलाको अनुपात र पूर्ण खोप लगाएका बालबालिकाहरूको अनुपातमा शून्य अंक प्राप्त गरेको छ ।

नरैनापुर गाउँपालिकाकाले कार्यसम्पादन मूल्यांकनमा ५२.११ अंक प्राप्त गरेको छ । नरैनापुर गाउँपालिकाले पनि सात वटा सूचकमा शून्य अंक प्राप्त गरेको छ । यसैगरी जिल्लाभरका सम्पूर्ण पालिकामध्ये सबैभन्दा कम ४९.९७ अंक प्राप्त गरेको डुडुवा गाउँपालिकाले समेत पनि सात वटा सूचकमा शून्य अंक प्राप्त गरेको छ ।

अछामको पञ्चदेवल विनायक जिल्लाकै उत्कृष्ट

कार्यसम्पादन मूल्यांकनमा अछामका दश स्थानीय तहमध्ये पञ्चदेवल विनायक उत्कृष्ट भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१–०८२ को कार्यसम्पादन मूल्यांकनमा पञ्चदेवलले जिल्लाभरीमै उत्कृष्ट अंक प्राप्त गरेको हो । अछाममा चार नगरपालिका र छ वटा गाउँपालिका रहेका छन् । तीमध्ये पञ्चदेवल विनायक नगरपालिकाले सबै स्थानीय तहमध्ये सबैभन्दा धेरै ६९.४६ अंक प्राप्त गरेको छ ।

आर्थिक वर्षको राजस्व र आयव्ययको अनुमान समयमा गाउँसभामा पेस गरे नगरेकोदेखि समयमा बजेट पास भए नभएको, स्थानीय तहले प्रदेश तथा संघमा पठाउनुपर्ने राजस्व समयमा नपठाएको, शिक्षा, स्वास्थ्य, राजस्व तथा विद्यार्थी भर्ना, चालू तथा पूँजीगत खर्चसम्मका विभिन्न १७ वटा सूचांकको आधारमा आयोगले मूल्यांकन गर्दै रिर्पोट सार्वजनिक गरेको थियो । ती सूचकमा पञ्चदेवल विनायकले न्यूनतम् ३ र अधिकतम् १३ अंक प्राप्त गरेको छ ।

‘स्थानीय तहले आर्थिक वर्ष २०८१–०८२ मा घर जग्गा रजिस्टे«सन शुल्क, मनोरञ्चन कर तथा विज्ञापन कर बापत उठेको रकममध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम मासिक रूपमा प्रदेश सञ्चित कोषमा जम्मा गरे÷नगरेको’ सूचक नम्बर ३ मा उल्लेख छ । उक्त सूचकमा पञ्चदेवलसहित मंगलसेन नगरपालिका र चौरपाटी गाउँपालिकाले मात्रै बुझाएका छन् ।

अन्य पालिकाको भने उक्त सूचकमा शून्य अंक छ । यस्तै स्थानीय तहले आफ्नो अधिकार क्षेत्र भित्रको राजस्व परिचालन गरेको अवस्थाबारे सूचक नम्बर ६ मा उल्लेख छ । यस सूचनकमा अछामका सबै स्थानीय तहको समान १३ अंक नै छ । जुन सबैभन्दा बढी अंक हो । पञ्चदेवल विनायकपछि दोस्रो स्थानमा छ चौरपाटी गाउँपालिका ।

कूल ६७.२२ अंक प्राप्त गरेको चौरपाटी समग्रमा दोस्रो र गाउँपालिकाहरूमध्ये उत्कृष्ट स्थानीय हासिल गर्ने स्थानीय तह हो । सम्पूर्ण स्थानीय तहमध्ये समग्रमा तेस्रो स्थानमा छ, मंगलसेन नगरपालिका । कूल ६६.९२ अंक प्राप्त गरेको मंगलसेनले नगरपालिकाहरूमध्ये दोस्रो नम्बरमा रहेको छ । समग्रमा चौथो र गाउँपालिकाहरूमध्ये दोस्रो नम्बरमा रहेको ढकारी गाउँपालिकाको ६६.३४ अंक प्राप्त गरेको छ । ६०.१८ प्राप्त गरेको रामारोशन गाउँपालिका समग्रमा पाँचौ नम्बरमा छ । बान्नीगढी जयगढ गाउँपालिकाले कूल ५१.९९ अंक प्राप्त गरेको छ ।

५० अंक नकटाउने पालिका 

अछाममा दश स्थानीय तह छन् । तीमध्ये चार नगरपालिका र छ गाउँपालिका रहेका छन् । दुई नगरपालिकाले ५० भन्दा बढी अंक ल्याउँदा दुई नगरपालिकाले भने ५० अंक प्राप्त गर्न सकेका छैनन् । ५० भन्दा कम अंक प्राप्त गर्ने नगरपालिकामध्ये साँझेबगर नगरपालिका र कमलबजार नगरपालिका रहेका छन् ।

तीमध्ये साँफेबगरको ४४.५४ र कमलबजारको ४१.६९ अंक रहेको छ । जुन अछामका दश स्थानीय तहमध्ये सबैभन्दा कम अंक हो । यस्तै गाउँपालिकाहरूमध्ये चार स्थानीय तहले ५० भन्दा माथि अंक कटाउँदा दुई गाउँपालिका भने असफल रहेका छन् । जिल्लाको मेल्लेख गाउँपालिका र तुर्माखाद गाउँपालिकाले ५० अंकपनि प्राप्त गरेका छैनन् । तीमध्ये मेल्लेखको ४६.७१ र तुर्माखादका ४३.१८ प्रतिशत रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन २ गते शनिबार