काठमाडौँ । रक्षा मन्त्रालयअन्तर्गतका निकायबाट चालु आर्थिक वर्ष २०८२÷८३ मा सञ्चालित विभिन्न विकास आयोजना तथा कार्यक्रमको दोस्रो त्रैमासिक अवधिसम्मको प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक आज सम्पन्न भएको छ । मन्त्रालयका सचिव केदारनाथ शर्माको अध्यक्षतामा भएको बैठकमा रक्षा मन्त्रालय र अन्तर्गत निकायबाट चालु आवको दोस्रो त्रैमासिक अवधिसम्म सञ्चालन भइरहेका कार्यक्रम तथा विकास आयोजनाको हालसम्मको प्रगति स्थितिबारे अद्यावधिक जानकारी प्रस्तुत गरिएको थियो ।

चालु आवको पुस मसान्तसम्म रक्षामन्त्रालय र मातहत निकायमा विनियोजित कुल बजेटको ४५ दशमलव ८२ प्रतिशत खर्च भएको छ । यसैगरी चालु आवमा फछ्र्र्यौट गर्नुपर्ने कुल रु तीन अर्ब ६५ लाख बेरुजुमध्ये छ प्रतिशत प्रगति मात्र हासिल भएको छ । बैठकमा आयोजना कार्यान्वयनमा देखिएका समस्या र चुनौतीहरूबारे पनि छलफल भएको छ । यस अवधिमा सञ्चालित कुल आठ वटा ठूला विकास निर्माण आयोजनामध्ये नेपाली सेनालाई जिम्मेवारी प्राप्त खाँदबारी–किमाथाङ्का सडक करिडोर, कर्णाली करिडोर, बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ, राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय र बङ्कर टु ब्यारेक कार्यक्रम गरी पाँच वटाको प्रगति ८० प्रतिशतभन्दा माथि रहेको जानकारी दिइएको थियो ।
काठमाडौँ–तराई–मधेस द्रुतमार्ग सडक आयोजना, दार्चुला टिङ्कर (तुषारपानी–टिङ्कर) सडक आयोजना र राष्ट्रिय चुरे संरक्षण कार्यक्रम गरी तीन आयोजनामा विभिन्न कारणहरूले ८० प्रतिशतभन्दा कम प्रगति हासिल भएको मन्त्रालयले जनाएको छ । समीक्षा अवधिमा काठमाडौँ–तराई–मधेश द्रुतमार्ग सडक आयोजनाअन्तर्गत सुरुबिन्दु खोकना खण्डलगायत समस्याग्रस्त क्षेत्रको समस्या समाधानका लागि विभिन्न उच्चस्तरीय अनुगमन÷निरीक्षण भई समस्या समाधानका लागि विभिन्न प्रयासहरू गरिएको जानकारी दिइयो ।









प्रतिक्रिया दिनुहोस्