सोलुखुम्बु । प्रधानमन्त्री सुशीला कार्कीले हिमाली तथा पहाडी जिल्लाहरूमा आगामी फागुन २१ गते नै निर्वाचन गराउन सम्भव रहेको बताएकी छन् । हिमाली जिल्लाहरूमा निर्वाचनको तयारी, सुरक्षा व्यवस्थापन तथा भौगोलिक चुनौतीको स्थलगत निरीक्षणका क्रममा आज सोलुखुम्बु आइपुगेकी उनले सोलु सहित हिमाली जिल्लामा तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न सकिने अवस्था रहेको जानकारी दिइन् । प्रधानमन्त्री कार्कीले कुनै पनि बहानामा निर्वाचन सार्ने अवस्था नरहेको उल्लेख गरिन् ।

प्रधानमन्त्री कार्कीले निर्वाचन भयरहित, शान्त, निष्पक्ष र धाँधलीरहित ढङ्गबाट सम्पन्न हुनेमा ढुक्क रहन आम मतदाता, राजनीतिक दल तथा उम्मेदवारहरूलाई आग्रह गर्नुभयो । सरकारको सम्पूर्ण ध्यान सौहार्दपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउन केन्द्रित रहेको जनाउँदै उहाँले सम्बद्ध सबै निकायलाई आफ्नो सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित गर्न निर्देशन दिइन् । जिल्ला सुरक्षा समितिसँगको ‘ब्रिफिङ’मा प्रधानमन्त्री कार्कीले मतदाताले कुनै पनि किसिमको डर, दबाब वा प्रभावबिना मतदान गर्न सक्ने वातावरण सिर्जना गर्न विशेष निर्देशन दिएकी हुन् । हिमाली भेगका दुर्गम मतदान केन्द्रहरूमा सुरक्षामा कुनै सम्झौता नगर्न र आवश्यक परे थप सुरक्षा जनशक्ति परिचालन गर्न उनले निर्देशन दिइन ।









प्रतिक्रिया दिनुहोस्