कैलाली ।
सुदूरपश्चिम प्रदेश सरकार आर्थिक मामिला मन्त्रालयका सचिव राजेन्द्रकुमार हमालको सरुवा रोक्ने चलखेल भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उनलाई २०८३ सालको भदौ ३१ गते नै राष्ट्रिय महिला आयोग, काठमाडौँको सचिवमा सरुवा गरेको थियो । सामान्य प्रशासन मन्त्रालयको २०८३ भदौ २ गतेको पत्रअनुसार नेपाल सरकार (मन्त्रीपरिषद्)को २०८३ भदौ ३१ गतेको निर्णयअनुसार निजामती सेवा ऐन, २०४९ को दफा १८(१) बमोजिम हमालको सरुवा गरिएको उल्लेख छ ।
तर सचिव हमालको सरुवा भएको एक हप्ताभन्दा बढी भई सक्दा समेत उनले मन्त्रालय छोडेका छैनन् । स्रोतका अनुसार उनी सरुवा रोक्ने चलखेलमा लागेका छन् । उनलाई नेपाली काँग्रेस र संघीय सरकारको नेतृत्व गरिरहेको रास्वपाका केही नेताहरू आर्थिक मन्त्रालयमै राख्ने चलखेलमा लागेका स्रोतको दाबी छ । हमाल नेपाल प्रशासन सेवाका रा.प. प्रथम श्रेणीका प्रदेश सचिवका रूपमा सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयमा कार्यरत थिए ।
कमलबहादुर शाह नेतृत्वको सरकारले ल्याएको बजेटका बेला पनि सचिव हमाललाई बजेट बनाउने भन्दा पनि फोन स्विचअफ गरेर गायब भएको, मनमानी तरिकाले बजेटको पिएलएमबिआईएसको पासवर्ड लक गरेको र कर्मचारीबाहेकका व्यक्तिबाट बजेट बनाउन लगाएको आरोप लागेको थियो । उनले सचिव भएका बेला असार १ गते ल्याइएको बजेट पनि पूर्ण रूपमा नबनेको, बजेट वक्तव्य पूरा तयार नपारी झारा टारेको र सदनमा बजेट प्रस्तुत भइसकेको तीन दिनसम्म पनि योजनाहरू इन्ट्री कार्य जारी राखेको आरोप लागेको थियो ।
कमलबहादुर शाह मुख्यमन्त्री भएका बेला हमाललाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिइएको हो । तत्कालीन मन्त्रीपरिषद्ले उनलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा पठाए पनि पछि उनलाई आर्थिक मामिला मन्त्रालयमा ल्याइएको थियो । सरुवा भएको एक हप्ताभन्दा पनि बढी समय भइसक्दा समेत हमाल सरुवा भएको निकायमा गएका छैनन् । ‘सञ्चारमाध्यमबाट मैले पनि सरुवा भएको सुनेँ, कुनै आधिकारिक पत्र पनि आएको छैन, मलाई त्यस बारेमा थाहा छैन,’ सचिव हमालले भने ।
उनले नयाँ बजेट बन्ने बेलामा भएको आफ्नो सरुवाका बारेमा खासै बोल्न चाहेनन् । हमालको ठाउँमा सामान्य प्रशासन मन्त्रालयले बलराम रिजालको सरुवा गरेको छ । रिजाल बिहीबार मात्रै मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा हाजिर हुनेछन् । रिजाल संघीय अर्थ मन्त्रालय, उद्योग मन्त्रालय र गण्डकी प्रदेशमा आर्थिक मामिला मन्त्रालयमा सचिव रहिसकेका व्यक्ति हुन ।
अहिले सुदूरपश्चिमको आर्थिक मामिला मन्त्रालय नेकपा एमालेको भागमा परेको छ । एमालेका चक्रबहादुर मल्ल आर्थिक मामिलामन्त्री छन् । यसअघि उक्त मन्त्रालय नेपाली काँग्रेसको भागमा थियो । हमाल काँग्रेसका बहादुरसिंह थापा र काँग्रेसकै विक्रमसिंह धामी मन्त्री भएका बेलादेखि नै आर्थिक सचिवका रूपमा जिम्मेवारीमा थिए । सुदूरपश्चिममा सत्ता समीकरण फेरिएसँगै उनको सरुवा भएको हो । सुदूरपश्चिममा अहिले नेकपा र एमालेको गठबन्धन सरकार छ ।









प्रतिक्रिया दिनुहोस्