नेपालगन्ज ।
आगामी तीन दिन कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको सूचनामा पाँच प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको उल्लेख छ । विशेषगरी लुम्बिनी र गण्डकी प्रदेशको एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको र मधेश प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू–भागका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको जनाइएको छ । वर्षा तथा हावाहुरीले यी पाँच प्रदेशका गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षय जस्ता प्रकोपको जोखिम हुन सक्ने र त्यसबाट क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात, उद्दार तथा राहातमा असर पर्ने सम्भावना रहेको पनि सूचनामा जनाइएको छ ।
तीन दिनसम्म देशैभर बदली हुने र कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू–भागका अधिकांश स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागका केही स्थानमा मेघगर्जन तथा चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको जनाइएको छ । महाशाखाले शुक्रबार दिउँसोसम्मका लागि गरेको पूर्वानुमानअनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ भने लुम्बिनी र गण्डकी प्रदेशको एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ ।
यस्तै मधेश प्रदेशको एक–दुई स्थानमा भारी वर्षा तथा मधेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू–भागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ । शुक्रबार राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका अधिकांश स्थानमा तथा कोशी र बागमती प्रदेशका हिमाली भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना रहको छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वषा र लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको छ ।
मधेश प्रदेश तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू–भागका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ । शनिबार दिउँसो पनि देशभर बदी हुने र लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका अधिकांश स्थानमा, साथै मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराई भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । उक्त दिन गण्डकी, लुम्बिनी, कर्णाली र सदूरपश्चिम प्रदेशको थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने र मधेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू–भागका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
१० गते शनिबार राति पनि बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागका धेरै स्थानमा, तथा कोशी प्रदेशका हिमाली र पहाडी भू–भागका केहि स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका धेरै स्थानमा, साथै मधेश प्रदेश तथा कोशी प्रदेशको तराई भू–भागका केही स्थानमा मध्यमसम्मको वर्षा हुने सम्भावना रहेको छ ।
यस्तै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा तथा बागमती प्रदेशको एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा र मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू–भागका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । पछिल्लो वर्षाका कारण राजमार्गहरूमा प्रभाव परिसकेको छ । वर्षाका कारण सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डको सिद्धबाबामा पहिरो झर्दा सडक अवरुद्ध भएको छ भने नुवाकोटको पसाङ ल्हामु सडकखण्डको विदुर नगरपालिका–१० सिमटारमा बाढी आएकाले सडक पूर्ण रूपमा अवरुद्ध बनेको छ ।
रसुवा जिल्लाका मुख्य राजमार्गहरू पनि बाढीका कारण पूर्ण रूपमा अवरुद्ध छन् । लुम्बिनी प्रदेशको अर्घाखाँचीस्थित सालझण्डी–ढोरपाटन सडकखण्डको पाणिनी गाउँपालिका–२ ढुङग्रेखोला नजिक (दमार र घोलीको बीच) पहिरो खसेकाले सडक पूर्ण रूपमा अवरुद्ध रहेको छ । पाल्पा जिल्लाको सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाउँपालिका–३ डामसाइटमा पहिरो खसे पनि सडकलाई एकतर्फी रूपमा सुचारु गराइएको छ ।
सडकहरूमा आवागमनमा रोक
मौसम विज्ञान विभागले देशका सबैजसो प्रदेशमा वर्षा हुने र केही स्थानमा भारीदेखि अति भारी वर्षा हुने चेतावनी जारी गरेपछि देशभर सतर्कता अपनाइएको छ । स्थानीय तहहरूले विद्यालय बिदा दिनेदेखि सचेत रहन सूचना जारी गर्नेसम्मका कामहरू गरेका छन् । चितवन जिल्ला प्रशासन कार्यालयले वर्षा हुने सम्भावनालाई ध्यानमा राख्दै नारायणगढ मुग्लिन सडकखण्डमा बिहीबार राति ८ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्म सवारी आवागमनमा रोक लगाएको छ ।
यस्तै, जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जिल्लाका सबै राजमार्ग र सडकहरूमा ८ गतेदेखि १० गतेसम्म रातिको समय ८ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमनमा रोक लगाएको छ ।
वर्षाको सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय इलामले मेची राजमार्गसहित जिल्लाका जोखिमयुक्त सडकमा रातको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाएको छ । प्रशासनले बिहीबार साँझ ७ बजेदेखि असोज ११ गते बिहानसम्म हरेक दिन साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म मेची राजमार्ग, मेची करिडोर तथा अन्य जोखिमयुक्त सडकमा सवारी आवागमन रोक्ने निर्णय गरेको हो ।
मकवानपुरको कान्तिराजमार्गअन्तर्गत भैँसे–भिमफेदी–देउराली–कुलेखानी सडकखण्डमा सम्भावित पहिरोको जोखिमका कारण ९ गते बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म रातिको समयमा पूर्ण रूपमा यात्रामा रोक लगाइएको छ । सोलुखुम्बु जिल्लास्थित सिद्धिचरण लोकमार्गलगायत अन्य भित्री सडकहरूमा बेलुकी ६ बजेदेखि बिहान ६ बजेसम्म अत्यावश्यक बाहेकका सम्पूर्ण सवारी साधन र पैदल यात्रुहरूलाई यात्रामा पूर्ण रोक लगाइएको छ ।
यस्तै बागमती प्रदेशअन्तर्गत काभ्रे जिल्लाको खुर्कोट–नेपालथोक–कटुञ्जेबेँसी चल्ने बीपी राजमार्गमा अर्को सूचना नभएसम्म १० टनसम्मका मालवाहक सवारीसाधन साँझ ७ देखि बिहान ५ बजेसम्म सञ्चालनमा रोक लगाइएको छ । नुवाकोटको टोखा छहरे सडकखण्डअन्तर्गत शिवपुरी गाउँपालिका–८ घट्टेखोलामा सम्भावित बाढी र पहिरोको कारण राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सन्चालनमा रोक लगाइएको छ । मकवानपुर जिल्ला प्रशासन कार्यालयले कुलेखानी जलविद्युत् आयोजनाको ड्यामको सुरक्षा साइरन बज्ने व्यवस्था गरिएको जनाएको छ ।
विद्यालयहरूमा दिइयो बिदा
सम्भावित वर्षा र त्यसले उत्पन्न गर्नसक्ने जोखिमलाई ध्यानमा राखेर देशका विभिन्न स्थानीय तहहरूले विद्यालयमा बिदा दिएका छन् । संघीय सरकारको शिक्षा तथा खेलकुद मन्त्रालयले भारी वर्षा तथा सम्भावित विपद्लाई ध्यानमा राख्दै स्थानीय तहसँगको समन्वयमा आवश्यकताअनुसार विद्यालय विदा गर्न आग्रह गरेको थियो । भारीदेखि अतिभारी वर्षाको सम्भावनाबारे चेतावनीपछि स्थानीय तहहरूले बिदा दिएका हुन् । बाँकेको नेपालगन्ज उपमहानगरपालिकाले ९ गते बिदा दिने निर्णय गरेको छ भने सुनसरीको इटहरी उपमहानगर र मोरङको विराटनगर महानगरले दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । इटहरी र विराटनगरले असोज ८ र ९ गतेका लागि विद्यालय बन्द गरेका छन् ।
पोखरा महानगरपालिकाले पनि ८ गते र ९ गते महानगरभित्र सञ्चालित सबै विद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ भने काभ्रेपलाञ्चोकका चार स्थानीय तहले असोज ८ र ९ गते सबै विद्यालय पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेका छन् । मकवानपुरमा सम्भावित वर्षाको जोखिमका कारण दुई पालिकाले दुई दिन विद्यालयलाई बिदा दिएका छन् । सम्भावित बाढीपहिरोलाई मध्यनजर गर्दै मकवानपुरको राक्सिराङ र ईन्द्रसरोवर गाउँपालिकाले बिहीबार र शुक्रबार पालिकाभरीका स्कुललाई बिदा दिएका हुन् । यसैगरी ईन्द्रसरोवर गाउँपालिकाले पनि बिहीबार र शुक्रबार विद्यालय बन्द गर्ने सार्वजनिक सूचना जारी गरेको छ । अन्य स्थानीय तहले पनि सम्भावित जोखिमलाई ध्यानमा राखेर बिदा दिने जनाएका छन् ।









प्रतिक्रिया दिनुहोस्