नेपालगन्जमा मनाइयो अख्तियारको ३५औँ स्थापना दिवस



नेपालगन्ज (बाँके) ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ स्थापना दिवस मनाइएको छ । स्थापना दिवसको अवसर पारेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगन्जले बुधबार नेपालगन्जमा एक विशेष समारोहको आयोजना गरेको छ ।

समारोहमा सम्बोधन गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगन्जलका प्रमुख झरेन्द्रप्रसाद चापागाईँले अख्तियारमा प्राप्त विभिन्न क्षेत्रका उजुरीमध्ये सबैभन्दा बढी स्थानीय तहसँग सम्बन्धित रहेका जानकारी दिए । उनका अनुसार नेपालगन्ज कार्यालयमा चालू आवको साउनदेखि माघ २५ गतेसम्म करिब सात महिनाको अवधिमा ४७१ उजुरी प्राप्त भएका छन् ।

जसमध्ये १८५ उजुरी छानबिन सम्पन्न भएका र २८६ उजुरी बाँकी रहेका छन् । नेपालगन्ज कार्यालयको बाँके, बर्दिया, दाङ र रोल्पा जिल्ला कार्यक्षेत्र रहेको छ । नेपालगन्ज कार्यालयमा चालू आवमा स्थानीय तह (संघीय मामिला)तर्फ ११७, स्थानीय तह (शिक्षा)तर्फ १००, प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय (वन वातावरण मात्र) ६२, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय ३७, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय २६, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय १८, गृह मन्त्रालय १५, ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालय १४, प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय (भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मात्र)तर्फ १० र अन्य ७२ गरी जम्मा ४७१ उजुरी दर्ता भएका हुन् ।

जसमध्ये स्थानीय तह (संघीय मामिला)तर्फ ४३, स्थानीय तह (शिक्षा)तर्फ ४५, प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय (वन वातावरण मात्र) २८, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय १२, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय १४, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय ५, गृह मन्त्रालय ११, ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालय ६, प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय (भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मात्र)तर्फ ४ र अन्य १७ गरी जम्मा १८५ उजुरी फछ्र्यौट भएका छन् भने २८६ उजुरी बाँकी रहेका छन् ।

सबैभन्दा बढी बर्दियाको बढैयाताल गाउँपालिकाको २५, त्यसपछि क्रमशः तुलसीपुर उपमहानगरपालिका दाङको १८, घोराही उपमहानगरपालिका दाङको १७, कोहलपुर नगरपालिका बाँकेको १६, नेपालगन्ज उपमहानगरपालिका बाँकेको १५, नरैनापुर गाउँपालिका बाँकेको १५, बारबर्दिया नगरपालिका बर्दियाको १३, लमही नगरपालिका दाङको १२, डुडुवा गाउँपालिका बाँकेको १० र अन्यतर्फ ७६ उजुरी दर्ता भएका हुन् ।

नेपालगन्ज कार्यालयमा गत आवमा ९०२ उजुरी दर्ता भएका थिए । जसमध्ये ७८८ उजुरी फछ्र्यौट भएको तथ्यांक रहेको छ । त्यसैगरी आव २०८०–०८१ मा १०४४ उजुरी दर्ता भएकामा ८७५ उजुरी फछ्र्यौट भएका र आव २०७९–०८० मा ८१२ उजुरी दर्ता भएकामध्ये ४९९ उजुरी फछ्र्यौट भएको तथ्यांक रहेको छ ।

कार्यक्रममा बोल्दै नेपालगन्ज कार्यालय प्रमुख चापागाईँले नेपालको संविधानको भाग २१ धारा २३८ र २३९ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र आयोगका काम कर्तव्य र अधिकारसम्बन्धी रहेको व्यवस्थाअनुसार भ्रष्टाचार नियन्त्रण गर्ने आफ्नो संवैधानिक जिम्मेवारी निर्वाह गर्दै आएको बताए । उनले आयोगले सार्वजनिक पद धारण गरेका व्यक्तिले अख्तियारको दुरुपयोग गरी भ्रष्टाचार गरेको विषयमा अनुसन्धान तहकिकात एवम् अभियोजन समेतको कार्य गर्दै आइरहेको उल्लेख गरे ।

उनले भ्रष्टाचार निर्मूल पार्न र सुशासन कायम राख्नका लागि विभिन्न स्थानीय पालिका तथा विद्यालयस्तरमा यससम्बन्धी सचेतना तथा अभिमुखीकरणका कार्यहरू समेत गर्दै आएको जानकारी दिए । भ्रष्टाचार नियन्त्रण गर्नका लागि सबै सरोकारवालाको उत्तिकै जिम्मेवारी र महत्वपूर्ण भूमिका रहने बताए । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले अख्तियारले पनि गम्भीर बनेर कार्य गर्नुपर्ने बताए ।

उनले हालसम्म भए गरेका कामहरूप्रति समीक्षा गर्दै अगाडि बढ्नुपर्ने भन्दै आवश्यक सहयोगका लागि पत्रकार महासंघ सधैभर साथमा रहेको उल्लेख गरे । बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले भ्रष्टाचार नियन्त्रण गर्नका लागि कुनै ठूलो काम गर्न नपर्ने बताउँदै सार्वजनिक जिम्मेवारीमा रहेका सबैले कानुननिर्दिष्ट भएर काम गरे स्वतः भ्रष्टाचार नहुने बताए ।

उनले कानुनले दिएको अधिकार र विधिअनुसार सबैले काम गरे भ्रष्टाचार नै नहुने दाबी गर्दै कानुनअनुसार काम गर्न जोड दिए । नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले ३५ वर्षसम्म आयोगले के कस्ता काम ग¥यो भन्ने बारेमा समीक्षा गर्दै अगाडि बढ्नुपर्ने र सबैजना नैतिकवान भएर काम गरेमा भ्रष्टाचार नहुने उल्लेख गरे । जिल्ला समन्वय समिति प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले राज्यले दिएको अख्तियारीमा रहेर सबैले काम गरे भ्रष्टाचार नहुने भन्दै पहिला आफूबाटै आफ्नो आचरण सुधार्न जरुरी रहेको बताए ।

कार्यक्रममा अख्तियार नेपालगन्ज कार्यालयका इ.हेमबहादुर सिंजालीलाई २० हजार रूपैयाँँ राशिको अख्तियार अनुसन्धान सेवा पुरस्कार र प्रहरी सहायक हवल्दार रञ्जित अधिकारीलाई १० हजार रूपैयाँँ राशिको अख्तियार सेवा पुरस्कार समेत प्रदान गरिएको थियो । त्यसैगरी अख्यिारको स्थापना दिवसका अवसर पारेर आयोजना गरिएको कार्यालयस्तरीय विभिन्न खेलकुद प्रतियोगितामा उत्कृष्ट भएका विभिन्न कर्मचारीहरूलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ २९ गते बिहीबार