काठमाडौँ । गुठी संस्थानले यस वर्षको महाशिवरात्रि पर्व परम्पराअनुसार पाँच दिनसम्म मनाउन अन्तिम तयारी भइरहेको छ । संस्थानद्वारा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता जनक पोखरेलले संस्थानले पशुपतिनाथको मन्दिर तथा देशका विभिन्न शिवालय नजिक रहेका अखडा (साधुसन्तको थलो)मा आगामी फागुन १ देखि ५ गतेसम्म भोजन, धुनी जगाउने दाउरा र दक्षिणाको व्यवस्थापन गर्ने बताए ।
महाशिवरात्रि पर्वमा पशुपति क्षेत्रभित्रका विभिन्न मठ, मन्दिर तथा अखडाहरूमा गुठी संस्थान, शाखा कार्यालय पशुपति र थापाथलीका विभिन्न अखडामा संस्थानको काठमाडौँ शाखाले प्रबन्ध मिलाउने उनले बताए ।

कार्यक्रमअनुसार फागुन १ गते राष्ट्रप्रमुखका तर्फबाट साधुसन्तलाई अर्पण गरिने सामग्री सङ्कल्प गर्न राष्ट्रपति कार्यालय लगिनेछ । ती सामग्रीमा राडी, च्यादर, बख्खु, चमर, कमण्डलु, ण्टी, लोटा, पीताम्वरी, रुद्राक्ष माला, बासमती चामल, मासको दाल, अप घ्यू, बेसार, जिरा, नुन, आलु, पालुङ्गो साग, दही, फलफूल, माला, सिदामा राख्ने सिक्का पैसा गरी जम्मा २१ प्रकारका सामग्री हुनेछन् ।
फागुन २ गते मन्दिर परिसरमा उपस्थित साधुसन्तका लागि संस्थानले अन्नपूर्ण आश्रममार्फत भोजनको व्यवस्था गर्नेछ । साथै राजधानीमा साधुसन्त रहने अन्य अखडा, राममन्दिर, भष्मेश्वर अखडा, निर्मल अखडा, मृगस्थली गोरखनाथ अखडा, वनकाली अखडा तथा थापाथली क्षेत्रका वैरागी, उदासी, सन्यासी र गोरखनाथ अखडाहरुमा उपस्थित साधुसन्तलाई संस्थानले तोकेकोबमोजिम दाउरा तथा भोजनको व्यवस्था गरिनेछ ।
फागुन ३ गते पर्वको मुख्य दिन संस्थानले पञ्चामृतसहित पूजा सामग्री पशुपतिनाथको मन्दिरमा अर्पण गर्ने र बेलुका पशुपतिनाथ मन्दिर वरिपरि बत्ती बाल्ने जानकारी पनि कार्यक्रममा दिइयो । सोही दिन पशुपति मन्दिर परिसरमा उपस्थित साधुसन्तलाई दही, फलफूल तथा धुनी बाल्नको लागि दाउरा उपलब्ध गराइनेछ ।
शिवरात्रिको भोलिपल्ट फागुन ४ मा मन्दिर परिसर तथा अन्य अखडाहरूमा साधुसन्तलाई भोजन तथा धुनी ताप्नको लागि दाउराको व्यवस्था गरिने र फागुन ५ गते बिहान साधुसन्तलाई भोजन गराई तोकिएको दरअनुसार दक्षिणासहित बिदाइ गर्ने कार्यक्रम राखिएको पोखरेलले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्