सरकारले घटायो बजेटको आकार



काठमाडौँ । सरकारले चालू आर्थिक वर्षका लागि ल्याएको बजेटको आकार घटाएको छ । अर्धवार्षिक समीक्षाअनुसार सुरु विनियोजनको ८५.९६ प्रतिशत मात्रै खर्च हुने जनाएको हो । यसअनुसार चालू आवमा १६ खर्ब ८८ अर्ब ३२ करोड ६७ लाख रुपैयाँ कुल बजेट खर्च हुने अर्थ मन्त्रालयको अनुमान छ । त्यसैगरी अर्धवार्षिक समीक्षाअनुसार ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने र उपभोक्ता मुद्रास्फीति ५.५ प्रतिशतमा सीमित राख्ने संशोधित लक्ष्य राखेको अर्थमन्त्री रामेश्वर खनालले जानकारी दिए ।

खर्चको संशोधित संरचनाअनुसार चालूतर्फ ११ खर्ब २५ अर्ब ९७ करोड ९४ लाख अर्थात् विनियोजनको ९५.३४ प्रतिशत खर्च हुने अनुमान छ । पुँजीगततर्फ यस वर्ष २ खर्ब ४३ अर्ब ३० करोड ३४ लाख अर्थात् विनियोजनको ५९.६५ प्रतिशत खर्च हुने अर्थ मन्त्रालयले जनाएको छ । वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब १९ अर्ब ४ करोड ३९ लाख अर्थात् विनियोजनको ८५.०२ प्रतिशत खर्च अनुमान गरिएको छ । अर्थमन्त्री खनालका अनुसार सरकारले भदौ २३ र २४ को जेनजी आन्दोलनपछि सिर्जना भएको परिस्थितिलाई सम्बोधन गर्न सरकारले अनुत्पादक र तयारी नभएका साना आयोजनाको १ खर्ब १९ अर्ब ५३ करोड ६५ लाख विनियोजन स्थगन गर्ने र खरिद प्रक्रिया सुरु भई मन्त्रालयबाट औचित्य पुष्ट्याइँसहित अनुरोध गरेको ४२ अर्ब फुकुवा गरिएको छ । यसरी स्थगन गरिएको रकमलाई रणनीतिक महत्त्वका आयोजना, आन्दोलनमा क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण र अनिवार्य दायित्व भुक्तानीमा स्थानान्तरण गर्न थालिएको मन्त्रालयले जनाएको छ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ २७ गते मंगलबार