आईसीसी टी–२० विश्वकपः अविस्मरणीय र ऐतिहासिक जितबाट चुक्यो ‘हर्ट ब्रेक’ हारको विश्वव्यापी चर्चा



भारत र श्रीलंकामा जारी टी– २० पुरुष क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले दुई पटकको विश्वकप विजेता इंग्ल्याण्डसँग ४ रनले पराजित भयो । अन्तिम बलमा चुक्दा ऐतिहासिक जितबाट चुकेको नेपालको खेलको विश्वव्यापी प्रशंसा भएको छ । अब आगामी खेल नेपालले माघ २९ गते इटली,फागुन ३ गते वेस्ट इन्डिज र फागुन ७ गते स्कटल्याण्डसँग खेल्नेछ ।

शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।

सन् २०२४ को विश्वकपमा दक्षिण अफ्रिकासँगको १ रनको त्यो, हार । हाल भारत र श्रीलंकामा सञ्चालन भइरहेको विश्वकपमा दुईपटकको विश्वकप विजेता इंग्ल्याण्डसँगको ४ रनको यो, हार । विश्व क्रिकेटमा नेपाल अविस्मरणीय र ऐतिहासिक जित नजिक पुगेरपनि हारेका महत्वपूर्ण खेल हुन् । यी दुई यस्ता हार हुन्, जसले सिंगो नेपाली क्रिकेटलाई स्तब्ध बनाएका छन् । नेपाली दर्शकलाई एकपटक ‘हर्ट ब्रेक’ हारलाई सहनु परेको छ ।

तर, दुवै खेलमा जित्ने भन्दा हार्ने टीम नेपालको विश्वव्यापी चर्चा भयो । नेपाल यस्तो भाग्यमानी टीम हो ? जसको हारेपनि विश्वव्यापी रूपमा प्रंशसा हुन्छ । खेल हारेरपनि विश्व क्रिकेटप्रेमीहरूको मन जित्छ । शनिबार भारतको वानखेडे स्टेडियममा भएको नेपाल र इंग्ल्याण्डबीचको खेलको अन्तिम नतिजापछि यस्तै भयो । इंग्ल्याण्ड जितेरपनि गुमनाम रह्यो । खेल हारेपनि विश्वव्यापी रूपमै प्रसिद्धी कमायो । नेपालको साहसिक खेलको चौतर्फी प्रंशसा भयो ।

जारी प्रतियोगितामा इंग्ल्याण्ड र नेपालसहित, वेस्ट इन्डिज, इटली र स्कटल्याण्ड समूह ‘सी’मा छन् । विश्वकपका लागि समूह विभाजन गर्दा नै नेपाल कठिन समूहमा परेको थियो । एसोसिएट राष्ट्रका रूपमा रहेको नेपालसँग थिए, दुई टेस्ट राष्ट्र वेस्ट इन्डिज र इंग्ल्याण्ड । इंग्ल्याण्ड त विश्व वरियताको तेस्रो नम्बरमा छ । समूह ‘सी’को सबैभन्दा बलियो टीमसमेत हो, इंग्ल्याण्ड । इंग्ल्यान्डले सन् २०१० र २०२२ मा विश्वकप जितेको थियो । तेस्रोपटक विश्वकप जित्ने लक्ष्य लिएर भारत आएको इंग्लिस टोली मात्रै होइन सारा क्रिकेट प्रेमीहरूले सायदै सोचेका थिए, नेपालले इंग्ल्याण्डसँग रोमाञ्चक अनि प्रतिष्पर्धात्मक खेल खेल्छ भनेर ।

शनिबार हुने खेलका लागि इंग्ल्याण्डले शुक्रबार नै नेपालविरुद्ध खेल्ने टीम घोषणा गरिसकेको थियो । इंग्ल्याण्डसँग कप्तान ह्यारी ब्रुक, जोफ्रा आर्चर, आदिल राशिद खतरनाक ब्याटर र बलर छन् । उक्त टीममा अरुपनि उम्दा खेलाडी समावेश छन् । इंग्ल्याण्डले नेपालविरुद्ध सजिलै जित्छ भन्ने पूर्व आंकलन विपरित नेपालको खेल प्रदर्शनको सायदै विरोध भएको छ । नेपालले हारेरपनि विश्वव्यापी रूपमा चर्चा कमाउन सफल भयो । मुम्बईको वानखेडे स्टेडियममा हजारौँ नेपाली क्रिकेटप्रेमीहरूको उल्लेख्य सहभागितामा दिउँसो ३ः१५ मा सुरु भएको खेलमा इंग्ल्याण्डविरुद्ध नेपालले टस हारेर पहिला बलिङ गरेको थियो ।

दुई जना ब्याटरको सानदार अर्दशतकसहित इंग्ल्याण्डले १८५ रनको कठिन लक्ष्य दिएको थियो । हजारौँ नेपाली दर्शकहरूको साथ पाएको नेपालले ब्याटिङतर्फ निकै आक्रमक सुरुवात ग¥यो । नेपालका ओपनर कुशल भुर्तेलले पहिलो ओभरमै जोर्फा आर्चरलाई तीन चौका हाने । अर्का ओपनर आशिफ शेख र कुशलले ३७ रनको पार्टनसिप गरे । भुर्तेलले २९ र आशिफ शेख ७ रन बनाएर आउट भए ।

नेपालका लागि मिडिल अर्डरमा कप्तान रोहित पौडेल र उपकप्तान दीपेन्द्र सिंह ऐरीले ५४ बलमा ८२ रनको साझेदारी गरे । रोहित पौडेलले ३४ बलमा ३९ र ऐरीले ३९ बलमा ४४ रन बनाए । नेपालका लागि महत्वपूर्ण साझेदारी गरे आरिफ शेख र लोकेश बमले । जितको लागि आधार तयार गर्ने क्रममा आरिफले ८ बलमा १० रन बनाए । नेपालका लागि टर्निङ प्वाइन्ट बन्यो, आदिल रशिदको १४औँ ओभर । रशिदको ओभरमा नेपालले १९ रन बनायो । रोहित पौडेलको एक छक्का, ऐरीको छक्का र चौकाले नेपाललाई खेलमा फर्काएको थियो । दुवै जना आउट भएपछि क्रिजमा आएका लोकेश बमले नेपालका लागि नायकीय पारी खेले ।

नेपाल अन्तिम ओभरमा ६ रन आवश्यक हुँदा सट प्रहारमा चुकेपछि ऐतिहासिक जित नजिक पुगेरपनि हार्न पुग्यो । नेपाललाई अन्तिम ७ बलमा १० रन चाहिएको थियो भने हातमा ५ विकेट सुरक्षित थिए । दुई विस्फोटक ब्याट्सम्यान लोकेश बम र गुल्शन झा क्रिजमा रहेकाले कम्तीमा एउटा बाउन्ड्री जसरी पनि निस्किने आशा थियो । तर, १९ ओभरको अन्तिम बलमा गुल्शनलाई आउट गर्दै लुक उडले खेलमा ट्विस्ट ल्याइदिए । त्यसपछिको अन्तिम ओभरमा साम कुरानविरुद्ध लोकश बमले एउटा बाउन्ड्री छुन नसक्दा नेपाल चुक्यो । तर लोकेश बमको खेल प्रदर्शनको जति प्रशंसा गरेपनि कम हुन्छ । हर्ट ब्रेक हार व्यहोरेपनि नेपालको खेलको चर्चा अहिले अन्तर्राष्ट्रिय स्तरमै चुलिएको छ ।

नेपालको विश्वव्यापी चर्चा, खेलाडीको चौतर्फी प्रशंसा 

हार नजिक पुगेरपनि ४ रनको साघुँरो जित निकालेको इंग्ल्याण्डले नेपाली टोली र खेलाडीको खुलरै प्रशंसा ग¥यो । इंग्ल्यान्डका कप्तान ह्यारी ब्रुकले भाग्यवश जित हात परेको प्रतिक्रिया दिए । उनले भने, ‘यो विल्कुलै सजिलो खेल थिएन । तर, भाग्यवश हामी लक्ष्य पार गर्न सफल भयौँ।’
नेपाली खेलाडीले अत्यन्तै राम्रो खेलेको उनको भनाइ थियो । कप्तान बु्रकले नेपाललाई बाँकी प्रतियोगिताका शुभकामना दिए ।

नेपाल विरुद्धको खेलमा अलराउन्ड प्रदर्शन गरेर प्लेयर अफ दि म्याच बनेका इंग्ल्याण्डका विल ज्याक्सको प्रतिक्रिया थियो, नेपाली टिमले उत्कृष्ट खेल्यो । नेपाली टीमको प्रशंसा गर्दै उनले नेपाली खेलाडीहरूले निकै दबाबमा राखेको बताए । ज्याक्सले भने, ‘नेपाललाई पूर्ण श्रेय दिन्छु, उनीहरू वास्तवमै उत्कृष्ट थिए ।’ इंग्ल्याण्डका विस्फोटक व्याटर जोश बटलरले भनेका छन्, ‘मेरो क्रिकेट करियरमा नेपालसँगको खेलजति हारको डर मैले यसअघि कहिल्यै महसुस गरेको थिइनँ ।

नेपालजस्तो कागजमा सानो देखिने टोलीले पनि हामीलाई यति गहिरो चुनौती दिन सक्छ भन्ने कुरा यो खेलले प्रमाणित ग¥यो । उनीहरूले साहस, अनुशासन र आत्मविश्वासका साथ खेल्दै अन्तिम क्षणसम्म हामीलाई दबाबमा राखे । यस्तो प्रदर्शनका लागि नेपाल टोलीलाई सलाम छ।’ नेपाल र इंग्ल्याण्डको खेलपछि प्रतिक्रिया दिदैँ दक्षिण अफ्रिकाका पूर्व क्रिकेटर डेल स्टेनले आफू नेपाली टोलिसँग काम गर्न इच्छुक रहेको बताएका छन् । उनले लेखेका छन्, ‘नेपाल । आवश्यक परे म सधै तिम्रो सेवामा छु । माथि, माथि, अझ माथि ।’

भारतीय दिग्गज क्रिकेटर युवराज सिंहले विश्वकै उत्कृष्ट टोली मध्ये एकलाई जित्न । अन्तिम बलसम्म पनि लडाइँ गर्नुका साथै विश्वास र हृदयले के गर्न सक्छ भनेर नेपालले देखाएको बताएका छन् । नेपाली टोलीको प्रशंसा गर्दै उनले भनेका छन्, ‘यसरी नै टोली बढ्छ र यसरी नै च्याम्पियनहरू उठ्छन् ।’ भारतीय क्रिकेटर इरफान पटानले लेखेका छन्, ‘त्यसैले अन्तिम टचहरू हराइरहेको थियो ।

तर नेपाल स्पष्ट रूपमा सही बाटोमा छ । उसलाई देख्न पाउँदा खुशी लाग्यो ।’ भारतीय क्रिकेट क्रिकेटर, टिप्पणीकार तथा लेखक आकाश चोपडाले भावनात्मक शैलीमा लेखेका छन्, ‘एकदमै नजिक पुगेर पनि अलिकति टाढा… राम्रो खेल राम्रो लडाई नेपाल ।’ क्रिकेट केममेटेटर माइकल भनले लेखेका छन्‘कस्तो शानदार क्रिकेट खेल । नेपालका खेलाडीहरूले देखाएको कौशल असाधारण थियो ।’ इस्टाग्राममा भारतीय क्रिकेटरले अश्विन लेख्छन्, ‘नेपालबाट अविश्वसनीय खेल प्रदर्शन । तिनीहरू पक्कै पनि उदीयमान क्रिकेटमा उत्कृष्ट मध्ये एक हुन् ।’

प्रधानमन्त्री सुशीला कार्कीले आईसीसी टी–२० विश्वकप अन्तर्गत पहिलो खेलमा नेपाली टोलीको प्रदर्शन तारिफयोग्य भएको बताएकी छन् । जित र हार खेलको नियम भएको बताउँदै उनले आशा अझै बाँकी रहेको टिप्पणी सामाजिक सञ्जालमार्फत गरेकी छिन् । कार्की आफैँ पनि बालुवाटारस्थित निवासमा बसेर खेल हेरेकी थिइन् ।

खेलपछि नेपाली कप्तान रोहित पौडेलले शतप्रतिशत दिएर खेल्दा पनि पराजित हुनुपरेको बताए । उनले भने, ‘नतिजाको हिसाबले हाम्रो पक्षमा आएन तर प्रयासको हिसाबले भने फिल्डिङ, बलिङ र ब्याटिङ– तीनै पक्षमा १०० प्रतिशत दियौँ । इंग्ल्यान्ड पनि डेथ ओभरमा बलिङ गर्दा संघर्ष गरिरहेको थियो, तर साम कुरनले साँच्चै राम्रो बलिङ गरे ।’ नेपालले आगामी खेलमा अझै सुधारिने उनले प्रतिबद्धता जनाए ।

यस्ता छन् नेपालका आगामी प्रतिष्पर्धी

जारी विश्वकपमा अब नेपाल माघ २९ गते इटलीको सामना गर्दैछ । इटलीले पहिलोपटक विश्वकप खेल्दैछ । तीनपटक विश्वकपमा सहभागिता जनाइसकेको नेपालका लागि इटली सहज टोली हो । समूह ‘सी’को सबैभन्दा कमजोर मानिएको टिमविरुद्ध नेपालको प्रमुख लक्ष्य जित नै हुनेछ। नेपालले आफ्नो तेस्रो खेल खेल्दैछ, फागुन ३ गते ।

नेपालको प्रतिद्धन्द्धी छ,‘वेस्ट इन्डिज’ । सन २०१२ र २०१६ विश्वकप जितेको टिम हो, वेस्ट इन्डिज । तेस्रोपटक उपाधि जित्ने लक्ष्यमा रहेको वेस्ट इन्डिज समूह चरणको आफ्नो पहिलो खेलमा सानदार जित निकालिसकेको छ । उक्त टीम नेपालविरुद्ध खेलमा दोस्रो जितको खोजीमा हुनेछ ।
नेपाल फेरिपटक उसलाई जित्न चाहन्छ । वेस्ट इन्डिजलाई नेपालले यसअघि नै टी २० श्रृंखलामा हराइसकेको छ ।

नेपालसँग हालसम्म पराजित भएका पाँच टेस्ट राष्ट्रमध्ये एक हो वेस्ट इन्डिज । विश्वकपको भाग्यमानी टोली हो, स्कटल्याण्ड । बंगलादेशले भारतमा खेल्न अस्वीकार गरेपनि वरियतामा आधारमा यो टिमले सहभागिता जनाउने अवसर पाएको हो । विश्व वरीयतामा स्कटल्यान्ड १४औँ स्थानमा छ ।

स्कटल्यान्ड सातौँपटक टी– २० विश्वकपमा प्रतिस्पर्धा गर्दै छ । पहिलोपटक सन् २००७ मा विश्वकप खेलेको टोलीले पछिल्लोपटक गत संस्करण खेलेको थियो । सन् २०२१ मा सुपर १२ सम्म पुग्नु नै स्टकल्यान्डको हालसम्मको उत्कृष्ट प्रदर्शन हो । नेपाल र स्कटल्यान्डले हालसम्म खेल खेलेका छन् । जसमा १÷१ मा जितको नतिजा छ । नेपालले फागुन ७ गते स्कटल्याण्डसँग खेल्नेछ ।

 

  • No tags available
प्रकाशित मिति : २०८२ माघ २७ गते मंगलबार