धानखेती छाडेर माछापालन गर्दै मिश्रीलाल



कृषि विकास बैंकबाट ८० हजार रूपैयाँ ऋण निकालेर माछापालन सुरु गरेका चौधरीले अहिले लाखौँको आम्दानी गर्न थालेका छन्। माछापालनबाटै पाँचजनालाई रोजगारी दिनुका साथै वार्षिक ५ लाख रूपैयाँ चोखो बचत हुने गरेको उनले जानकारी दिए । अहिले वार्षिक ३५ लाख बराबरको माछा उत्पादन गरेर बिक्री वितरण गर्दै आएको उनको भनाइ छ ।

गणेश रावत । कोहलपुर ।

बर्दियाको बढैयाताल गाउँपालिका–५ बढैयातालका स्थानीय मिश्रीलाल चौधरी अहिले धान फलाउने खेतहरूमा माछापालन गरेर पैसा कमाइरहेका छन् । विगत तीन वर्षदेखि उनले धानखेती छाडेर माछापालनबाट पैसा कमाउन थालेका हुन् । शिक्षण पेशाबाट अवकास भएदेखि व्यावसायिक रूपमा माछापालनमा लागेको उनी बताउँछन् ।

‘सुरुवाती दिनहरूमा धान रोप्ने खेत खनेर माछापालन गर्दा धेरैले मलाई खेत बिगा¥यो भनेर अनेक भने,’ उनले भने, ‘अहिले माछापालनबाट राम्रो आम्दानी हुन थालेपछि सबैले माछापालन गर्न थालेका छन् ।’ अहिले बढैयाताल–५ नम्बर वडाभित्र रहेका प्रायः खेतीयोग्य जमिनमा माछापालन भइरहेको उनी बताउँछन् । अहिले कृषि धानखेती छाडेर वडामा रहेको करिब १ सय १० बिघा क्षेत्रफलमा माछापालन हुने गरेको उनले मिसन टुडेलाई बताए ।

कृषि विकास बैंकबाट ८० हजार रूपैयाँ ऋण निकालेर माछापालन सुरु गरेका चौधरीले अहिले लाखौँको आम्दानी गर्न थालेका छन् । माछापालनबाटै पाँचजनालाई रोजगारी दिनुका साथै वार्षिक ५ लाख रूपैयाँ चोखो बचत हुने गरेको उनले जानकारी दिए । एमएसए मत्स्य फर्म दर्ता गरेर २ बिघा क्षेत्रफलमा व्यावसायिक रूपमा माछापालन गर्दै आएको उनले बताए । अहिले वार्षिक ३५ लाख बराबरको माछा उत्पादन गरेर बिक्री वितरण गर्दै आएको उनको भनाइ छ ।

धानखेती गर्दा बढैयाताल नजिकै रहेकाले वर्षाको समयमा तालको भेल र पानी खेतमा आएर क्षति पु¥याउने गरेका कारण माछापालनतर्फ लागेको उनले बताए । प्रत्येक वर्ष धानमा क्षति हुँदा धानबाली स्याहार्न नपाउँदाको पीडाबाट मुक्त हुन माछापालनमा लागेको उनी बताउँछन् ।
‘अहिले धानखेती छाडेर होटल, माछा बिक्री केन्द्र र माछापालन व्यवसाय गरिहरेको छु,’ उनले भने, ‘परिवार पनि यसैमा जोडिएका छन् । अहिले माछापालनमा परिवार सबै रमाउनुका साथै आर्थिक रूपले पनि सन्तुष्टि मिलेको छ ।’

माछाको बजार राम्रो रहेकाले आर्थिक रूपमा पनि राम्रो आम्दानी हुने गरेको चौधरी बताउँछन् । उनले अहिले फर्ममा सात प्रजातिका माछाहरू पालन गर्दै आएका छन् । आफूले उत्पादन गरेको माछा नेपालगन्ज, बर्दिया, दाङ, चिसापनी र सुर्खेतसम्म बिक्री वितरण हुने गरेको उनले जानकारी दिए । उनी मात्र होइन् अहिले बढैयातालका गाउँपालिका–५ बढैयातालका अधिकांश सबै घरपरिवारले धानखेती छाडेर माछापालन व्यवसायमा लागेका छन् ।

सुरुवाती दिनहरूमा चौधरीलाई खेत बिगारेको र डुब्छ भन्नेहरू नै अहिले माछापालनबाट राम्रो आम्दानी हुन थालेपछि माछापालन गर्न थालेको उनी बताउँछन् । ‘मैले माछापालन गर्दा सबैले खेतलाई बिगारेर माछापालन ग¥यो । अब यो डुब्छ भन्थे,’ उनले भने, ‘जब माछापालनबाट मैले राम्रो आम्दानी गर्न थालेँ, अहिले सबैले धानखेती गर्न छाडेर माछापालन व्यवसाय गर्न थालेका छन् ।’ माछाको उत्पादन बढे पनि बजार मागअनुसार अझै पु¥याउन सक्ने अवस्था नरहेको उनी बताउँछन् ।

आगामी दिनहरूमा माछापालन व्यवसायलाई थप विस्तार गर्दै बजारीकरण गर्ने योजना रहेको चौधरीले सुनाए । बढैयाताल घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटनका कारण पनि माछा व्यवसायीलाई फाइदा पु¥याएको छ । त्यहाँ आउने पर्यटकहरूले माछा किनेर घर लैजानेदेखि नजिकै रहेका होमस्टेमा पकाएर खाने गर्दा आर्थिक रूपमा पनि बढैयाताल चलायमान बन्ने गरेको हो ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ २७ गते मंगलबार