नेपालगन्ज ।
४८ ग्राम खैरो हेरोइनसहित नेपालगन्जबाट दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको गढवा गाउँपालिका–४ का ३० वर्षीय हिमाल केसी र घोराही उपमहानगरपालिका–३ का २७ वर्षीय सरद खड्का रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनीहरुलाई लागूऔषध नियन्त्रण ब्युरोले नेपालगन्ज उपमहानगरपालिका–१५ स्थित जमुनाह चेकपोस्टमा जाँच गर्ने क्रममा पक्राउ गरेको हो ।
भारतको रुपैडियाबाट खैरो हेरोइन ल्याएर बाँके र दाङका विभिन्न स्थानमा बिक्री तथा वितरण गर्ने उद्देश्यले आउँदै गरेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले खानतलासी गर्दा खैरो हेरोइन फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुको साथबाट दुईथान मोबाइल फोन पनि बरामद गरिएको र उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०८२ माघ २५ गते आइतबार








प्रतिक्रिया दिनुहोस्