पर्यटक लोभ्याउन ‘माटोको रिसोर्ट’



‘माटोबाटै कोठा निर्माण गरिएका छन् । बाँस बस्न आउने पाहुनाका लागि शान्त र सुन्दर वातावरणमा आरामदायी सुविधा उपलब्ध गराउने हाम्रो सोच हो,’ उनले भने, ‘समुन्द्री सतहबाट दुई हजार ५०० मिटरको उचाइमा रहेको यस क्षेत्रमा बाह्रै महिना बस्न मिल्नेगरी वातावरणीय अनुकूलताको सुविधाका लागि माटोको घर (रिसोर्ट) निर्माण गरेको हुँ ।’

मुस्ताङ ।

यहाँको थासाङ गाउँपालिका–२ लार्जुङमा गाउँघरमा पाइने भ्रप्सा माटोद्वारा निर्मित लोभलाग्दो रिसोर्ट सञ्चालनमा आएको छ । स्थानीय ज्ञानेन्द्र शेरचनले बेनी–जोमसोम सडकमार्ग नजिकै १२ रोपनी जग्गामा माटो मात्रै प्रयोग गरी रिसोर्ट निर्माण गरेका हुन् । लामो समय काठमाडाँैमा होटल व्यवसाय सञ्चालन गरेका शेरचन राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडकको सहज पहुँच भएसँगै जन्मथलो फर्केर व्यवसाय सुरु गरेका हुन् ।

उनले थासाङ क्षेत्रमा पर्यटन विकास र स्तरीय होटल नभएका कारण पर्यटक लोभ्याउन ‘माटोको घर’ अर्थात् ‘मड रिसोर्ट’ निर्माण गरेको बताए।
शेरचनले सन् २०२० बाटै रिसोर्ट निर्माण सुरु गरेका थिए । रिपोर्टमा डाइनिङ हल र किचन कोठाबाहेक सुविधा सम्पन्न १० कोठा छन् । कोभिड र आन्तरिक समस्याका कारण रोकिएको निर्माणकार्य हालै सम्पन्न गरी सञ्चालनमा ल्याइएको छ ।

रु दुई करोड ५० लाख लागतमा निर्मित रिसोर्टमा छड, सिमेन्ट र बालुवा प्रयोग नगरी केवल माटोले मात्रै निर्माण गरिएको सञ्चालक शेरचनले बताए । उनका अनुसार विदेशीले बनाएका पूर्वाधार सामाजिक सञ्जालमा हेरेर भूकम्प प्रतिरोधात्मक तथा वातावरणमैत्री रिसोर्ट बनाइएको हो । यस प्रकारको संरचना निर्माण गर्दा पर्याप्त जानकारी नहुँदा केही बढी लागत लागेको शेरचनले सुनाए ।

‘माटोबाटै कोठा निर्माण गरिएका छन् । बाँस बस्न आउने पाहुनाका लागि शान्त र सुन्दर वातावरणमा आरामदायी सुविधा उपलब्ध गराउने हाम्रो सोच हो,’ उनले भने, ‘समुन्द्री सतहबाट दुई हजार ५०० मिटरको उचाइमा रहेको यस क्षेत्रमा बाह्रै महिना बस्न मिल्नेगरी वातवरणीय अनुकूलताको सुविधाका लागि माटोको घर (रिसोर्ट) निर्माण गरेको हुँ ।’

शेरचनले माटोको रिसोर्ट नजिकै रहेको कम्पाण्ड खाली जग्गाको सडक नजिकै एड्भेन्चर कार्यालय, स्ट्रिम बाथ, कोशेली घरलगायत विभिन्न शो रुमहरू निर्माण गर्ने योजनामा रहेको बताउँछन् । माटोको घर रिसोर्टका कोठाहरूको बाहिरी आवरणमा हिमाली धार्मिक तथा सांस्कृतिक, जैविक विविधता र पर्यटकीयस्थल लगायतका चित्र कोरेर आट्स डिजाइन गरी थप आकर्षित तुल्याउने लक्ष्य राखेको शेरचनले उल्लेख गरे ।

शेरचनले गाउँ छोडेर लामो समयसम्म काठमाडौँमा बसेर होटल चलाएका थिए । गाउँघरमा भइरहेको तीव्र गतिको विकासले आफूलाई गाउँतिर फर्काउन बाध्य बनाएको पर्यटन व्यवसायी शेरचन बताउँछन् । मुक्तिनाथ दर्शन र कोरलानाका अवलोकन गर्न बर्सेनि लाखौँलाख पर्यटक आउन थालेकाले यहाँको पर्यटन क्षेत्रको प्रचुर सम्भावना देखेर थातथलो मुस्ताङ फर्किएको शेरचनको भनाइ छ ।

मुस्ताङमा बर्सेनि लाखौँलाख पर्यटकहरूले भ्रमण गर्ने भए पनि थासाङ क्षेत्र पर्यटकीय हिसाबले ओझेलमा परेकाले यस क्षेत्रको पर्यटन विकास गर्नका लागि योगदान गर्न सकिन्छ की भन्ने ठानेर जिल्ला फर्किएको उनले बनाए । यहाँको थासाङ गाउँपालिकाभित्र टिटी ताल, भूतर्छो ताल, सेकुङ ताल, धौलागिरि आइसफल, लुप्साङ खर्क, गुरुसाङ्वो गुफालगायत धार्मिक तथा सांस्कृतिक र जैविक विविधता रहेकाले यस स्थानलाई चिनाउन माटोको घर निर्माण गरेको शेरचनको कथन छ ।

यहाँको लार्जुङ कालिगण्डकी फाँटमा साहसिक मोटरसाइकल रेश र साइकल ट्रेलहरू रहेकाले पर्यटकहरूका लागि थासाङ क्षेत्र उपयुक्त पर्यटकीय गन्तव्य रहेको शेरचनले बनाए । यहाँ घनाजङ्गल र याकचौरी खर्क रहेकाले थासाङ क्षेत्र चलचित्र हब बन्दै जान थालेको शेरचन बताउँछन् ।

थासाङ क्षेत्र मुस्ताङका अन्य स्थानभन्दा निकै नै पिछडिएको हुनाले यस ठाउँको विकासमा केही गर्न सकिन्छ कि भनेर गाउँ फर्किएको शेरचनले उल्लेख गरे । शेरचनले माटोले बनेको घर रिसोर्टमा बसेका पर्यटकबाट सकारात्मक प्रतिक्रिया आएकाले आफूलाई थप उत्साहित बनाएको बताए ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ २४ गते शनिबार